धरहरा हो कि भ्यु टावर ?

धरहरा हो कि भ्यु टावर ?
तस्बिर : कृष्पा श्रेष्ठ।

काठमाडौँ  : निर्माणको काम नै नसकिई प्रधानमन्त्री केपी ओली धरहरा उद्घाटनमा हतारिएका छन्। सङ्ग्रहालय र पार्किङ लगायतको काम सम्पन्न हुन बाँकी नै छ। तर प्रधानमन्त्री ओलीले वैशाख ११ मा धरहरा उद्घाटन गर्ने तयारी भइसकेको छ।

२०७२ को शक्तिशाली भूकम्पका कारण  धरहरा ढलेको थियो। धरहरा निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र जिआईटिसि रमन जेबीले नयाँ धरहरा बनाउने जिम्मा पाएको थियो।

अहिले बनेको धरहरा पुनर्निर्माण नभई नयाँ बनेको हो। प्राधिकरण र जेबीबिच २ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि तोकिएको समयमा काम सकिएन। कोरोनाको कारण ढिलाइ भएपछि डिसेम्बरसम्मको समय सीमा तोकिएको प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिए।

नयाँ धरहरा ३ अर्ब ४५ करोडको लगानीमा बनेको हो। पुरानो धरहरा क्षेत्र विस्तार गर्दै ४२ रोपनी पूर्याएको छ। सो क्षेत्रमा अन्य पूर्वाधारको निर्माण हुन बाँकी नै छ। बाहिरबाट हेर्दा ११ तले देखिने नयाँ धरहरा २२ तलाको बनेको छ। भूकम्पमा जोगिएको धरहराको भग्नावशेषलाई सिसाले ढाकेर राख्ने काम समेत हुन सकेको छैन।

नयाँ कि पुनर्निर्माण ?

पुरानो धरहरालाई छोपेर राखेको र नयाँ ठाउँमा बनाएकाले सांस्कृतिक अभियन्ताहरूले हालको धरहरालाई धरहरा नभनेर भ्यु टावर भनेका छन्। हेर्दा पुरानो संरचना देखिए पनि अहिले उद्घाटनको तयारी गरेको धरहरा पुरै नयाँ हो। 

अहिले बनेको धरहरा हो कि भ्यु टावर भन्ने जिज्ञासामा पुनः निर्माण प्राधिकरणका सम्पदा विज्ञ मानन्धर सरकारले धरहरा भनिसकेकाले यस विषयमा विवाद गर्न आवश्यक नभएको बताए।

‘सरकारले नै यसलाई धरहरा भनिसकेकाले अब नामको विषयमा विवाद गर्न आवश्यक छैन,’ उनले उकेरासँग भने।

के–के छ नयाँ धरहरामा?

नयाँ बनेको धरहराको १८ औ तलामा मिनी प्रदर्शनी थिएटर बनाइएको छ। सङ्ग्रहालय, म्युजिकल फाउन्टेन, गाडी पार्किङ, खाना कोर्ट लगायतका संरचना बनाइएको छ।

नयाँ धरहराको साइज पहिलाको भन्दा ठुलो छ। उचाइ पनि बढी छ।

धरहराको इतिहास 

विक्रम संवत् १८३२ मा ललिता सुन्दरी देवीको सम्झनामा प्रधानमन्त्री भीमसेन थापाले मुगल शैलीमा इँटा र बज्र  ११ तल्लाको धरहरा बनाएका थिए। त्यसैले धरहरालाई भीमसेन स्तम्भ समेत भनिन्थ्यो। 

विक्रम संवत् १९९० को महाभूकम्पमा धरहरा भाँचिएपछि ११ तलाबाट घटेर ९  तलामा झरेको थियो। 

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले १९९२ मा ९ तल्ले धरहराको निर्माण गराए। सातौँ तल्लामा बार्दली थियो। भने धरहराको उचाइ ६१.८८ मिटर (२०३ फिट) र भित्र २१३ सिँढी, बाहिर २५ सिँढी थियो। धरहराको माथिल्लो तलामा शिव लिंङ्ग र टुप्पोमा गजुर राखिएको थियो।

नयाँ धरहरामा पनि गजुर पुरानै शैलीमा राखेर पुरानै धरहराको झल्को दिने प्रयास भएको छ। 

वैशाख ८, २०७८ बुधबार १५:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।