कोरोनाले ४० बालबालिकाको मृत्यु, चिकित्सक भन्छन् : ‘केही गर्नै सकिँदैन, भगवान् भरोसा’

कोरोनाले ४० बालबालिकाको मृत्यु, चिकित्सक भन्छन् : ‘केही गर्नै सकिँदैन, भगवान् भरोसा’

काठमाडौँ : नेपालमा वैशाख ६ गतेसम्ममा १८ वर्ष मुनिका  ४० जना बालबालिकाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। वैशाख ५ गतेसम्ममा ५ वर्ष मुनिका १० जना बालबालिकाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार हालसम्म २२ हजार २ सय ९७ जना १८ वर्ष मुनिका बालबालिका कोरोना संक्रमित भएका छन्। वैशाख ५ गतेसम्ममा ३ हजार ५ सय ६५ जना ५ वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्।  

पछिल्लो समय बालबालिकामा पनि कोरोना भाइरस संक्रमणको ग्राफ उकालो चढिरहेको छ। मङ्गलवार मात्रै १० वर्ष मुनिका ४३ जना बालबालिका संक्रमित भए। सोमबार यो उमेर समूहका २४ जना र आइतबार २१ जना बालबालिका संक्रमित थिए।

मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी अधिकांश संक्रमित बालबालिका स्वास्थ्य अवस्था गम्भीर (सिरियस) भएपछि अस्पताल पुग्ने गरेको बताउँछन्। डा. अधिकारीले भने, ‘धेरैजसो कम्प्लिकेशन लिएर ढिलो अस्पताल आइरहेका छन्।’ बालबालिका मात्रै हैन अन्य उमेर समूहका कोरोना संक्रमित पनि ढिलो अस्पताल पुग्ने गरेको उनले बताए। 

कान्ति बाल अस्पतालका कन्सल्टेन्ट पिडियाट्रिसियन (कोभिड फोकल पर्सन) डा. कृष्ण प्रसाद विष्ट स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि अस्पताल पुग्दा जोखिम हुनेतर्फ सजग गराउँछन्। 

अन्य उमेर समूहको तुलनामा बालबालिकामा कोरोना भाइरसको परीक्षण नै कम हुने गरेको डा. विष्टले बताए। परीक्षणको दायराभन्दा बाहिर पनि धेरै बालबालिका हुन सक्ने उनी बताउँछन्। विष्टले भने,‘बच्चाको जति केस छ, त्यति टेस्ट नै भएको छैन।’

संक्रमित बालबालिकालाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आए ज्यानै जाने जोखिम उच्च हुने भएकाले सजग रहन सह प्रवक्ता डा. अधिकारीको अनुरोध छ। ‘बच्चा भेन्टिलेटरमा जाने अवस्था आए ज्यानै जान्छ।’ उनले भने,‘संक्रमणबाट जोगाउने बाहेक अर्को उपाय हुन्न। क्रिटिकल अवस्थामा गए केही गर्नै सकिँदैन। भगवान् भरोसा।’

लक्षण र जोखिम 

कोरोना भाइरस संक्रमित बालबालिकाको पनि अन्य उमेर समूहका संक्रमितकै जस्तो लक्षण देखिएको चिकित्सक बताउँछन्। डा. विष्टले कोरोना देखिएका बालबालिकामध्ये धेरैजसोमा रुघाखोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने लक्षण देखिएको बताए। 

कतिपयको कोरोना संक्रमण हुने बित्तिकै र कतिपयको ४ देखि ६ हप्तामा कडा किसिमको झाडापखाला हुने, श्वास फेर्न कठिन हुने, कतिपयको शरीरमा डाबर आउने, मुटुले काम नगर्ने जस्ता समस्या उत्पन्न भई बच्चाको ज्यान नै जोखिममा पर्ने डा. विष्टले बताए। उनले भने,‘अहिले संक्रमित भयो भने ४ देखि ६ हप्तामा सिकिस्त हुने सम्भावना बढी हुनसक्छ।’ 

सह प्रवक्ता अधिकारी पनि ज्वरो आउने, शरीर दुख्ने, सुख्खा खोकी जस्ता लक्षण देखिएको बताउँछन्।

तर, करिब ८० प्रतिशत बालबालिकामा लक्षण नदेखिने हुँदा संक्रमित बालबालिकाले अन्य व्यक्तिमा भाइरस सार्न सक्ने जोखिम रहेको डा. विष्टले बताए। 

लक्षण देखिने २० प्रतिशत बालबालिकामध्ये ५ देखि १० प्रतिशत बालबालिकालाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने डा. विष्ट बताउँछन्। डा. विष्टले भने,‘करिब ५ देखि १० प्रतिशतलाई भर्ना गर्नुपर्ला। त्यसमा १ वा २ प्रतिशत मात्रै सिकिस्त हुन्छन्।’ 

वैशाख ६ गतेसम्म कान्ति बाल अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको विष्टले बताए। 

कान्ति बाल अस्पतालमा विभिन्न रोगको समस्या लिएर उपचारका लागि आएका बालबालिकाको कोरोना परीक्षण गरेर उपचार गरिने विष्टले बताए। तर, लक्षण नदेखिएको अवस्थामा भने बालबालिकामा कोरोना भाइरसको परीक्षण गर्ने चलन नै कम भएको चिकित्सक बताउँछन्।

विभिन्न किसिमका दीर्घ रोग भएका बालबालिकामा संक्रमणको बढी जोखिम हुने भएकाले सजग रहन चिकित्सकको सुझाव छ। अभिभावक सचेत हुनुपर्ने सुझाव टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुनको छ। बालबालिका कोरोना भाइरस संक्रमित भएर भयावह अवस्था निम्तिन नदिनतर्फ बेलैमा सचेत हुनुपर्ने डा. पुनको सुझाव छ। 

बालबालिका लगायत सबै उमेर समूहमा कोरोना संक्रमण बढिरहेकाले सजग हुन सह प्रवक्ता डा. अधिकारीको सुझाव छ। डा. अधिकारीले भने,‘बच्चाहरूमा पहिले संक्रमण छँदै थिएन। अहिले धेरै देखिन थाल्यो।’ अधिकांश बालबालिकामा युके भेरियन्ट (बेलायती प्रजाति) नै देखिएको उनले बताए।

संक्रमण भइहाले संक्रमित बालबालिकाको लक्षण अनुसारकै उपचार हुने गरेको चिकित्सक बताउँछन्। डा. विष्टले भने,‘लक्षण अनुसारको उपचार गरिन्छ। निमोनिया भए निमोनियाकै उपचार गरिन्छ। झाडा पखाला भए झाडा पखालाकै उपचार गरिन्छ।’

वैशाख ८, २०७८ बुधबार ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।