ललितपुर अवैध पार्किङ: सिटी डिष्कभरसँगको सम्झौता रद्द, अझै ८ स्थानमा छ अवैध पार्किङ 

ललितपुर अवैध पार्किङ: सिटी डिष्कभरसँगको सम्झौता रद्द, अझै ८ स्थानमा छ अवैध पार्किङ 

ललितपुर : ललितपुर महानगरपालिका भित्र १० भन्दा बढी स्थानमा अवैधरुपमा चल्दै आएको पार्किङ सम्झौता रद्द भएको छ। 

ललितपुर महानगरपालिकाका वरिष्ठ अधिकारी दिल्ली (डिल्ली) राज शाक्यले अवैधरुपमा सिटी डिष्कभरसँग २०७६ माघ १६ गते गरेको सम्झौता ललितपुर महानगरपालिकाले रद्द गरेको हो।

‘आमसमुदाय, मिडियाबाट चर्को विरोध आयो। हामीले पनि अध्ययन गर्यौँ,’ ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले भने‘ हिजो बसेको महानगरको १२७ औँ बैठकले पार्किङ सम्झौता रद्द गरेको छ।’

तर, ललितपुर महानगर भित्र सिटी डिस्कभरको क्षेत्र बाहेक ८ भन्दा बढी स्थानमा सम्झौता विनानै पार्किङ सञ्चालन भइरहेको छ। कतै स्थानीय सरकारले कमाइखाने भाँडो बनाएका छन् भने कतै पार्किङलाई भोटर बैंक बनाएका छन्। 

कतै महानगरपालिकाका अधिकारीसँगको मिलेमतोमा स्थानीय ठेकेदारले ती पार्किङ चलाएका छन् त कतै वडा अध्यक्ष आफैँ संलग्न भएर पार्टी निकट व्यक्तिलाई अवैध रूपमा पार्किङ चलाउन लगाएर रकम असुल्ने गरेको उकेराको स्थलगत अनुगमनमा खुलेको थियो।

महानगरले चार पाङग्रेलाई प्रति घण्टाको २० र २ पाङग्रेलाई प्रति घण्टाको १० रुपैयाँ उठाउने गरी पार्किङ चलाउन दिएपनि पार्किङ सञ्चालकले भने दोब्बर शुल्क उठाउँदै आएका थिए।

उनीहरूले महानगरलाई रकम समेत नबुझाएको उकेराको अनुगमनमा खुलेको थियो। कतिपय ठाउँमा वडा अध्यक्ष आफैँ मिलेर मौखिक आदेशको भरमा सशुल्क पार्किङ चलाउन लगाएर पैसा उठाएको समेत पुष्टि भएको थियो। 

महानगरका प्रवक्ता महर्जन भन्छन् ‘बाँकी स्थानका बारेमा पनि छलफल भइरहेको छ। अब महानगरले पार्किङ व्यवस्थापनको ढाँचालाई परिमार्जित गर्ने छ,’ उनले भने‘ ललितपुरलाई पार्किङमैत्री बनाउन अध्ययन हुदैछ। बाँकी रहेका क्षेत्रको पार्किङका बारे छलफल चलिरहेको छ।’

अब कहाँ–कहाँ छन् अवैध पार्किङ?

ललितपुर महानगरको पुलचोकस्थित महानगरपालिका भवन अगाडी, पर्यटन शुल्क काउन्टर अगाडिको सार्वजनिक सडक, मंगलबजार, हःखा, हौगल, बक्रबहिल, टंगाल, नःटोल लगायतका क्षेत्रमा अवैध पार्किङ चलिरहेका छन्।

वैशाख ७, २०७८ मंगलबार १३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।