सुदूरपश्चिम सरकार परिवर्तनको अंक गणित : विवादमा एमाले, ढुक्क माओवादी, रनभुल्लमा कांग्रेस र निर्णायक जसपा
धनगढी : कर्णाली प्रदेशमा एमाले माधव समूहका ४ जना सांसदले फ्लोर क्रस गर्दा मुख्यमन्त्री महेन्द्र शाही नेतृत्वको सरकार जोगियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याएका जसपाका सांसदलाई मन्त्रीमा नियुक्त गरेर पद जोगाउने प्रयास गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्री त्रिलोचन भट्ट विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चर्चा सेलाएको छैन। तर, प्रस्ताव दर्ता हुन भने सकेको छैन।
५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ। अहिले एमालेका २५, माओवादीका १३, कांग्रेस का १२ र जसपाका २ सांसद छन्।
संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेको समर्थनमा १३ सांसद मात्रै रहेको माओवादी केन्द्रले सरकार सञ्चालन गरिरहेको छ। त्यसैले मुख्यमन्त्री त्रिलोचन भट्ट विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने योजनामा छ एमाले। नेपाली कांग्रेस र जसपाले पनि वर्तमान सरकार परिवर्तन हुनुपर्ने अडान राखेका छन्। तर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको एमाले नै एकमत छैन।
एमालेका सांसदहरूबीच नै सहमति हुन नसकेको केपी ओली समूहका कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाले बताए। ‘हामीले सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका हौँ,’ उनले भने, ‘तर माधव पक्षका सांसदहरूले साथ दिइरहेको अवस्था छैन। हामी निरन्तर छलफलमा छौँ।’
माधव पक्षका सांसदहरूले साथ नदिएको अवस्थामा नेपाली कांग्रेस र जसपासँग मिलेर भए पनि अविश्वासको प्रस्ताव ल्याउने योजनामा ओली समूह छ। ‘सरकार परिवर्तनको विकल्प छैन,’ थापाले भने,‘सकेसम्म एमाले भित्रै सहमति खोज्ने र नभए कांग्रेस र जसपासँग मिलेरै भए पनि सरकार परिवर्तन गर्छौं।’
‘सरकार परिवर्तन हैन हेरफेर’
वर्तमान सरकार तत्काल परिवर्तन नहुने माधव पक्षका सांसदहरूको भनाइ छ। माधव समूहका कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले बरु मन्त्रिमण्डल पुनर्गठन हुने बताए। ‘हाम्रो समर्थन छँदै छ कसरी सरकार परिवर्तन हुन्छ,’ उनले भने, ‘आवश्यकताको आधारमा चाँडै मन्त्रिमण्डल विस्तार हुन्छ।’
तत्काल सरकार विरुद्ध अविश्वासको प्रस्ताव समेत नआउने सोडारीको भनाइ छ। ‘नेकपा एमालेको समर्थनमा माओवादीको नेतृत्वमा सरकार गठन भएको हो, हाम्रो समर्थन जारी नै छ, कसले ल्याउँछ अविश्वासको प्रस्ताव?,’ उनले भने, ‘तत्काल अविश्वासको प्रस्ताव आउँदैन,आए पनि असफल हुन्छ।’
माधव समूह निर्णायक बन्दा ढुक्क माओवादी
एमालेको ओली समूहले समर्थन फिर्ता लिने तयारी गरे पनि माधव समूह तयार छैन। माओवादीले माधव पक्षकै समर्थनमा अघि बढ्न खोजिरहेको छ। अहिले सरकार फेरबदल हुने सम्भावना नरहेको माओवादी केन्द्र सुदूरपश्चिम सचिव नेपबहादुर चौधरीले बताए।
‘अहिले सरकार फेरबदलको सम्भावना छैन,’ उनले भने, ‘एमालेको समर्थन छँदैछ। एमालेले समर्थन फिर्ता लिने अवस्था आए पनि नयाँ समीकरण बनाएर यहीँ सरकार रहन्छ।’
‘पहिलो प्राथमिकता अहिलेकै गठबन्धन हो,’चौधरीले भने, ‘नेपाली कांग्रेस र जसपासँग मिलेर पनि सरकार बनाउन सकिने सम्भावना छ।’
केपी पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव ल्याइहाले माधव पक्षले साथ नछोड्ने भन्दै माओवादी ढुक्क छ।
रनभुल्लमा कांग्रेस
वर्तमान सरकार असफल भइसकेको कांग्रेसको निष्कर्ष छ। नयाँ सरकार बनाउन कांग्रेसले पनि छलफल थालेको छ। ‘हामीले नयाँ सरकार गठनका विषयमा छलफल गरिरहेका छौँ,’ कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले भने, ‘तर, कुन दलसँग मिलेर बनाउने भन्ने विषयमा अझै ठोस निर्णय भइसकेको छैन।’
सकेसम्म आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कांग्रेसको योजना छ। ‘हामीले कम्युनिस्टले नेतृत्व गरेको सरकार असफल भइसकेको देखेका छौँ,’ रावलले भने,‘सकेसम्म आफ्नै नेतृत्वमा र नभए अन्य दललाई समर्थनमा लिएर भए पनि नयाँ सरकार बनाउँछौँ।’
माओवादी कांग्रेस गठबन्धनका लागि ‘जसपा निर्णायक’
संसद्को सबैभन्दा ठूलो दल एमालेलाई बाहिर राखेर नयाँ सरकार गठन गर्ने बारेमा पनि दलहरू छलफलमा छन्। एमालेलाई बाहिर राखेर माओवादी र कांग्रेसको मात्रै सरकार बन्नसक्ने अवस्था भने छैन।
जसपालाई त्यसमा अनिवार्य रूपमा सामेल गराउनै पर्ने बाध्यता छ। २ सांसद मात्रै रहेको जसपा, माओवादी र कांग्रेसका लागि निर्णायक अवस्थामा छ।
नयाँ सरकार गठन गर्न कुन दललाई साथ दिने भन्ने निष्कर्षमा जसपा पनि पुगेको छैन। जसपा भित्र पनि दुई गुट छन्। जसपाका सांसद मालामति कुमारी राना र कृष्ण चौधरी दुवै जना साबिक राजपाका नेता हुन्। जसपा भित्र साबिक राजपाले एमालेलाई साथ दिन सक्ने आकलन गरिएको छ।
‘हामी सरकारमा जाने भन्दा पनि हाम्रो माग सम्बोधन गराउन लागेका छौँ’ जसपा कि प्रमुख सचेतक मालामति कुमारी रानाले भनिन्, ‘रेसम चौधरीको रिहाइ नभएसम्म हामी सरकारमा जाँदैनौँ, अहिले सरकार प्रति एमालेले अविश्वासको प्रस्ताव दर्ता गराएको पनि छैन, त्यसैले हामीले यसबारेमा छलफल नै गरेका छैनौ।’
एमाले एक ढिक्का हुने सम्भावना कति?
सुदूरपश्चिम प्रदेशमा एमालेलाई आफ्नो नेतृत्वमा सरकार बनाउन सबै भन्दा सजिलो छ। २७ सांसद रहेको एमालेलाई सरकार गठन गर्न दुई सांसद आवश्यक पर्छन्। जसपासँग दुई सांसद छन्।
एमाले संसद्को सबै भन्दा सानो दल जसपासँग मिलेर पनि सरकार गठन गर्न सक्छ। तर एमाले एक ढिक्का भएर अघि बढ्न सकेको छैन।
केन्द्रमा केपी पक्षले एकलौटी गरिरहेको माधव समूहका सांसदहरूको आरोप छ। माधव पक्षका एक सांसदले भने, ‘केन्द्रमा केपी र माधवका बिचमा सहमति नभएसम्म हामी एक ढिक्का भएर प्रदेशमा अघि बढ्न सक्दैनौँ।’
केपी समूहका एक प्रदेश सभा सदस्यले माधव पक्षका सांसदहरूको अटेरीले गर्दा नै एमालेको नेतृत्वमा सरकार गठन हुन नसकेको बताएका छन्। ‘सहमति खोज्ने प्रयास गरिरहेका छौँ,’ उनले भने,‘सहमति नजुटे विकल्प खोज्छौँ।’
प्रदेश सरकार परिवर्तनका बारेमा नेकपा एमाले केन्द्रमा छलफल चलिरहेको कैलाली अध्यक्ष रतन थापाले बताए। ‘केन्द्रमा छलफल हुँदै छ, जे निष्कर्ष आउँछ, त्यसकै आधारमा अगाडि बढ्छौँ।’
वैशाख ७, २०७८ मंगलबार १२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।