सहिदका छोराछोरी पढ्ने स्कुलमा भ्रष्टाचार भएको भन्दै अख्तियारदेखि शिक्षा कार्यालयसम्म उजुरी

सहिदका छोराछोरी पढ्ने स्कुलमा भ्रष्टाचार भएको भन्दै अख्तियारदेखि शिक्षा कार्यालयसम्म उजुरी

इटहरी : सहिद परिवारका छोराछोरी पढाउने उद्देश्यले सञ्चालित सहिद आवासीय माध्यमिक विद्यालयमा भ्रष्टाचार भएको दावी गर्दै विरोध सुरु भएको छ। इटहरी– १९, भवानीपुरमा रहेको सो विद्यालयमा स्थापनाकालदेखिको हिसाबकिताब अपारदर्शी भएको भन्दै स्थानीयबासीले आन्दोलन नै गरेका छन्।

विद्यालय व्यवस्थापन समिति विरूद्ध ज्ञापनपत्र बुझाउँदै स्थानीयले विद्यालयमा तालाबन्दी समेत गरेका छन्। भ्रष्टाचार विरुद्ध संघर्ष समिति बनाएर उनीहरु आन्दोलनमा उत्रिएका छन्। लक्ष्मणकुमार राई संयोजक रहेको समितिले विद्यालयमा भ्रष्टाचार देखिएकाले आन्दोलन गर्नुपरेको प्रष्ट पारेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीको नाममा ८० लाख बेरुजु देखिएको कुरा बाहिर आएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको संयोजक राईले बताए। नेपाल सरकारबाट वार्षिक आउने ३ करोड २० लाख रुपैयाँको हिसाब समेत लुकाएपछि अनियमिताको शंका लागेको उनको भनाइ।

सहिद परिवारका सन्तानको स्याहार तथा शिक्षाको लागि सुरु भएको आवासीय मावि पछिल्लो समय माओवादी केन्द्रको पार्टी कार्यालय जस्तो भएको राईको आरोप छ। ‘द्वन्द्वपीडितका सन्तान नभई धनी–महाजन माओवादी नेताका सन्तानले मात्र ठाउँ पाउने गरेको उनको आरोप छ।

सोही विषयलाई लिएर राई नेतृत्वको समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा निवेदन दर्ता गराइसकेको छ। उनका अनुसार जिल्ला शिक्षा कार्यालय तथा इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखामा पनि निवेदन परेको छ।

बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ति गरेको, एउटा पार्टीको मात्र बोलवाला रहने गरेको, राम्राभन्दा हाम्रालाई प्राथमिकता दिइएको उनीहरुको आरोप छ।

संयोजक राई पीडितको नाममा बिचौलिया हावी भएको बताउँछन्।  विद्यालय माओवादीको सिन्डिकेट जस्तै भएको उनको भनाइ छ। विद्यार्थीहरुले पनि भ्रष्टाचार छानविनको माग गरेका छन्।

व्यवस्थापन समितिले भने स्कुलका प्रधानाध्यापक र लेखापाललाई निष्कासित गर्ने तयारी थालेको छ। बिना जानकारी प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाई जिम्मेवारीबाट हटाउन खोजिएको हो।

हालसम्म निष्काशित भएको औपचारिक जानकारी आइनसकेको प्रअ राईले बताए। आफू प्रअ हुनुभन्दा पहिला आर्थिक अनियमितता भएको कुरा बाहिर आएपछि व्यवस्थापन समिति अत्तालिएको उनको भनाइ छ।

भ्रष्टाचारको विषयमा आन्दोलन सुरु भएपछि प्रअ राई र लेखापाल काफ्ले विद्यालय जान छाडेका छन्। माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा पुनः पुरानै अवस्थामा आएपछि राई र काफ्ले ओली समूहको एमालेमै रहेका छन्।

माकेभन्दा बाहिरका कार्यकर्ता भएपछि विद्यालयबाट निष्काशित हुनुपरेका उनीहरुको दुखेसो छ । विद्यालय परिसरमै नाराबाजी गरेका स्थानीयले प्रअ र लेखापालको पदबहाली हुनुपर्ने माग राखेका छन्।

इटहरी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख सूर्य सुवेदीका अनुसार व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, स्थानीय अभिभावक र प्रअबीच छलफल भए पनि यकिन निक्र्योल आउन सकेको छैन। आफूहरु समस्या समाधानको पक्षमा रहेकोले वार्ताबाटै समस्या समाधान गरिने उनले बताए।

उता विद्यालय व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरीले भने केही कर्मचारी साथीहरु आफ्नो चरित्रहत्यामा उत्रिएको बताए। आफैं प्रअ र लेखापाल हुने र अरुलाई भ्रष्टाचारको आरोप लगाउने काममा लागिपरेको उनले बताए।

‘शिवचन्द्र सर र काफ्लेजीले अनावश्यक सेवा–सुविधा लिन खोज्नुभएको थियो। बीचमा केही महिना आफैं तलब बढाएर पनि खानुभयो,’ उनले भने, ‘मैले बारम्बार त्यसको विरोध गरेर रोकेपछि उहाँहरु विद्यालय आउनै छाड्नुभयो। मलाई भ्रष्टाचारी भन्दै आफैं भ्रष्टाचार गर्नुहुन्छ उहाँहरु।’

वैशाख ७, २०७८ मंगलबार ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।