कर्णालीका स्वास्थ्यकर्मीलाई कोरोना जोखिम भत्ता

कर्णालीका स्वास्थ्यकर्मीलाई कोरोना जोखिम भत्ता

सुर्खेत : कर्णाली प्रदेशमा कोभिड–१९ को उपचार, रोकथाम तथा व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता पाउने भएका छन्। कोरोना रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइने सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

यस्तै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेतना कार्यक्रम सञ्चालन गर्ने, अनिवार्य रूपमा मास्क प्रयोग गर्न अनुरोध गर्ने सामाजिक विकास मन्त्रालयका कामु सचिव विष्णुप्रसाद अधिकारीले जानकारी दिए। 

‘कर्णाली प्रदेशका नाकाबाट प्रवेश गर्ने व्यक्तिलाई नाकाबाट स्थानीय तहसम्म लैजाने र सामान्य लक्षण नभएका संक्रमितको सम्बन्धित स्थानीय तहले उपचार व्यवस्थापन गर्नुपर्नेछ,’ उनले भने, ‘प्रदेशमा रहेका कोरोना हब अस्पताल र सम्पूर्ण अस्पतालहरूमा कोरोनाका बिरामीको उपचार व्यवस्थापनका लागि पूर्ण तयारीमा रहन निर्देशन दिइएको छ।’

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयबाट सार्वजनिक हुने दैनिक कोरोना अपडेट र विभिन्न निकायमा पठाइने दैनिक प्रतिवेदनका सन्दर्भमा शुद्धता कायम गर्दै एउटै इमेल ठेगानाबाट प्रतिवेदन तथा एउटै सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने सचिव अधिकारीले जानकारी दिए।

‘एकद्वाराबाट कोरोनाको अपडेट सार्वजनिक गरिनेछ,’ उनले भने, ‘प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालयलाई कोभिड–१९ रोकथामका लागि पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धमा आवश्यक व्यवस्था मिलाइने छ।’

वैशाख ७, २०७८ मंगलबार ०८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।