कामै नगरी संसद अधिवेशन अन्त्य, नेम्वाङ भन्छन्- अध्यादेशबाट बजेट आउँदैन

कामै नगरी संसद अधिवेशन अन्त्य, नेम्वाङ भन्छन्- अध्यादेशबाट बजेट आउँदैन

काठमाडौं : प्रतिनिधिसभाको चालु अधिवेशन आजदेखि अन्त्य भएको छ। गत पुस ५ गते प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णय फागुन ११ गते सर्वोच्च अदालतले बदर गरेपछि फागुन २३ गतेबाट हिउँदे अधिवेशन सुरु भएको थियो।

फागुन २३ देखि चैत ३० गतेसम्म प्रतिनिधिसभाका ९ वटा बैठक बसे। संसद्को पहिलो बैठकमा सत्तापक्षकै सांसद र प्रतिपक्षी सांसदको विरोधका बीच संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेस भयो। तर कार्यसूचीमा रहेका नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन लगायतका अध्यादेश टेबल हुन सकेनन्।

प्रतिनिधिसभा नियमावली २५ अनुसार प्रतिनिधिसभाको बैठक स्थगित भएको अवस्थामा अधिवेशन अन्त्य भएकाले सांसदहरूलाई संसद् सचिवालयले सूचनापत्रद्धारा जानकारी दिनेछ। संविधानको धारा ९३ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले राष्ट्रपति समक्ष बैठक बोलाउन लिखित अनुरोध गरेमा राष्ट्रपतिले बैठक बस्ने मिति र समय तोक्ने व्यवस्था छ।

सरकारले प्रतिनिधिसभाको बैठक बस्ने अघिल्लो दिन राष्ट्रपति समक्ष अधिवेशन अन्त्य गर्न सिफारिस गर्यो। मन्त्रिपरिषद्को सिफारिस पुग्ने बित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को चालु अधिवेशन आजै दिउँसो १ बजेबाट अन्त्य गरिन्।

संसद्को चालु अधिवेशन कामै नगरी अधिवेशन अन्त्य भयो। अब सरकारले संसद्को बजेट अधिवेशन आव्हानको सिफारिस गर्नेछ।

‘सरकारले प्रि बजेट छलफलका लागि १५ दिन अगाडि नै अधिवेशन आव्हान गर्नुपर्छ,' पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङले भने, 'वैशाखको २५/२६ गते बजेट अधिवेशन आव्हान गर्नुपर्छ।’

नेम्वाङले बजेट प्रस्तुत गर्नु अगाडि प्रि बजेट छलफल र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न वैशाखको २५/२६ गते नै बजेट अधिवेशन आव्हान हुने बताए। ‘बजेट ल्याउन दिन संविधानमै तोकिएकाले एक दिन पनि तलमाथि गर्न मिल्दैन,’ नेम्वाङले उकेरासँग भने, ‘अध्यादेशबाट बजेट ल्याउने संविधानले कल्पना गरेको छैन।’

सरकारले संसद् नरहेको अवस्थामा अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था छ। तर बजेट भने जेठ १५ गते संसदमा प्रस्तुत गर्नुपर्ने भएकाले अध्यादेशबाट बजेट नआउने नेम्वाङको भनाइ छ।

वैशाख ६, २०७८ सोमबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।