विज्ञापनले जन्माएका व्यापारी जो अक्षर बेचेर अक्षर किन्दैछन्
लामो दारी, खुइलिन सुरु भएको तालुबाट गर्धनसम्म छुने कालो कपाल। शरीरमा कोट–पाइन्ट र पछाडि झोला भिरेका एक युवक राजधानीमा हुने हरेक राजनीतिक सभा-सम्मेलनमा भेटिन्छन्।
उनी न कुनै दलका कार्यकर्ता हुन् न भाषणबाज नेता। तर त्यस्ता राजनीतिक सभा-सम्मेलनले उनको ओठमा खुसी ल्याउँछ। किनकी उनी व्यापारी हुन्। पुस्तकको व्यापार गर्छन्। अक्षर बेचेर अक्षर आर्जन गर्दैछन्, रामेछापका ३१ वर्षीय दीपक श्रेष्ठ।
‘काठमाडौंका मुख्य क्षेत्रहरुमा हुने सभा–सम्मेलनमा प्रायः म छुट्दिन। मेरो उद्देश्य पुस्तक बेच्नु हो,’ उनी भन्छन् ‘म देशको राजनीतिक घटनाक्रम भने खुब याद गर्छु। किनकी पुस्तक छनोट गर्नका लागि पनि मैले राजनीतिक घटनाक्रम याद गर्नैपर्छ।’
दीपक राजधानी छिरेको १२ वर्ष भयो। उनी विज्ञान विषय पढ्ने रहरले राजधानी छिरेका रहेछन्।
‘मेरो पढे-लेखेका परिवार होइन। र, आर्थिक अवस्था पनि राम्रो होइन। विज्ञान पढ्न भनेर काठमाडौं त छिरें तर लामो समय पढ्न पाइनँ,’ उनले सुरुवाती समयको व्यथा सुनाए।
दीपकको विज्ञान पढ्ने सपना राजधानी छिरेको पाँच वर्षपछि मात्र सुरु भयो। अहिले उनी जीव विज्ञानमा स्नातक चौथो वर्ष र सर्व दर्शनमा शास्त्री दोस्रो वर्षमा अध्ययनरत छन्।
२०६५ मा विज्ञान पढ्न राजधानी आएका दीपकले २०७० मा मात्र पढ्न सुरु गरेका हुन्।
‘पाँच वर्ष काम गरेर घरको केही व्यवहार मिलाएँ। पढ्ने हुटहुटी त पहिलेबाटै थियो,’ उनी भन्छन्, ‘पढ्न मलाई निकै रमाइलो लाग्छ। काठमाडौं छिरेपछि कलेज नै नगए पनि लाइब्रेरीहरु धाउँथें।’
पुस्तक पसलेले हकारेको अनुभव पनि छ दीपकसँग।
‘लाइबे्ररीमा त जति पनि पढ्न पाइने। सधैं लाइबे्ररी गइरहन सम्भव नहुने। काम पनि गर्नैपर्यो। किताव किन्न पैसा हुँदैनथ्यो। दुई/चार पैसा कमायो, व्यवहार टाल्दैमा ठिक्क,’ उनी सम्झन्छन्, ‘किताब पसल देख्यो कि म अड्किहाल्थेँ। निकैबेर घोत्लन्थें। पसले मेरो व्यवहारले दिक्क भएर कराउथेँ। किन्नेसिन्ने होइन भनेर आँखा तर्थे।’
पुस्तक किन्न नसक्नुको पीडाले दीपकको मन पोल्थ्यो। उनलाई लेख्न पढ्न पाइने अनि पैसा पनि आउने काम मिल्दिए हुन्थ्यो भन्ने लाग्थ्यो।
‘काठमाडौं आएको पाँच वर्षमा मैले पाँच काम गरें,’ उनले आफ्नो कामको बेलिविस्तार लगाए, ‘होटलमा वेटरको काम गरें। लेख्न पढ्न मन हुनेलाई त्यो काम नजम्ने रहेछ। त्यसपछि छ्वालीबाट चित्र बनाउन थालें। त्यसमा पनि मन रमेन। त्यसपछि अगरबती बनाउनेतिर लागें। त्यो काममा पनि सन्तुष्टि मिलेन। एक महिना सेक्युरिटी गार्डको काम पनि गरें। सेक्युरिटीको काम त मेरो लागि हुँदै होइन भन्ने भयो।’
पाँच वर्षमा गरेका पाँच वटै काममा टिक्न सकेनन् दीपक। टिक्न नसक्नुको एउटै कारण थियो, पढाइ। ‘सबै काममा लामो समय टिक्न नसक्नुको कारण लेख्न पढ्न समस्या भएन नै हो। तर लेख्ने-पढ्ने बानीले पत्रिका हेर्ने बनायो। पत्रिकाले जागिर खुवायो,’ उनले भने।
आफ्नो जीवनमा पत्रिकाकोे भूमिका सुनाउँछन् दीपक।
‘बिहान उठ्नेवित्तिकै पत्रिका पसल गयो, समाचारका शीर्षक सरसर्ती हेर्योे। कहाँ कस्तो कामदार मागेको छ विज्ञापन हेर्यो अनि आफूले गर्न सक्ने काम छ भने फोन गर्यो, त्यतै दौडियो,’ संघर्षका कथा सुनाए उनले।
दीपकलाई पत्रिकाकै कारण आफू काठमाडौंमा टिके जस्तो लाग्छ।
कतिपयले पत्रिकामा नक्कली विज्ञापन छपाएर पैसा मात्र असुल्ने गरेको दीपक बताउँछन्। ‘काम पाइने भो भने दौडेर गयो, त्यहाँ पुग्दा भनेको काम नै नहुने। एकथरी छपाएर अर्कैथरी काम देखाउने गर्दा रहेछन्।’
हेर्दाहेर्दा पत्रिकाको विज्ञापन कुन सक्कली, कुन नक्कली सबै छुट्याउन जान्ने भएका थिए उनी।
‘एक विहान सधै झैँ पत्रिकामा विज्ञापन हेर्दै थिएँ। बुक सेल्स गर्नको लागि कामदार चाहियो लेखिएको देखेँ। मनमा विश्वास त थिएन। तर पनि आफूले खोजेजस्तै काम हो भनेर गएँ। काम पक्का भो,’ दिपक हाँसे।
त्यसपछि उनले डाइरेक्ट सेल सुरु गरे।
‘उनीहरुले किताब दिन्थे। त्यो मैले बेच्ने र कमिसनमा पैसा लिने,’ दीपक भन्छन् ‘लेख्न, पढ्न मन लाग्ने मान्छलाई राम्रो काम हात लाग्यो झैं भयो। मनले सोचेकै काम पाइयो भनेर खुसी भएँ।’
तर उनले त्यतिबेला आफूले बेचेका किताब भने पढेनन् रे।
‘त्यति बेला मैले बेच्ने किताबहरु डिक्स्नेरी थिए। कलेज, लाइबे्ररी जान्थेँ, बेच्थेँ। अफिस टाइम नभएपछि पढ्न–लेख्न समय पाउन थालँे। पैसा पनि हुन थाल्यो। मन लागेका किताब किनेर पढ्न थालेँ। प्लस टु पनि जोइन गरेँ।’
दीपकले तत्कालीन पद्मोदय हायर सेकेन्डरी स्कुलबाट प्लस टु सक्काए।
‘बिहान कलेज गयो, दिउँसो खाली। मनमा मैले गर्ने काम भेटें भन्ने लागिसकेको थियो,’ उनले भने, ‘डाइरेक्ट सेलसँग सम्बन्ध तोडेर आफैँले काम गर्न थाले। अहिले किताब बेच्न थालेको करिब ७ वर्ष हुन लाग्यो।’
सात वर्षमा उनले धेरैलाई पुस्तक बेचे। कतिले त उनलाई उल्टै चुना पनि लागाएका रहेछन्।
‘आफू परियो बाटोमा किताब बेच्ने मान्छे। मान्छे धेरै भेटिने। फलानो किताब ल्याइदेऊ भन्छन्, नम्बर दिन्छन्, लिन्छन्। किताब ल्यायो, मान्छे गायब।’
त्यसरी मागमा ल्याएका धेरै किताबहरु दीपकसँग अझै रहेछन्। आफूलाई काम लाग्ने भए आफैं राख्दारहेछन्। काम नलाग्ने भए झोलामा बोकेर हिँड्दा रहेछन् उनी। उनले झोलामा किताब बेकेर हिँडेको पनि पाँच वर्ष भएको बताए।
माहोल हेरेर उनी व्यापार जुनै स्थानमा पनि सुरु गर्छन्। बजार हेरेर किताब बेच्ने गर्छन्। उनीसँग मौसम अनुसारका किताबहरु हुन्छन्। उनका ग्राहक यही नै भन्ने छैन। तर २० देखि ५० उमेर समूहका ग्राहक बढी रहेको उनले बताए।
‘किताब बोकेर हिँँडेपछि पैैसा भएन भने पनि बेचेर काम चल्यो। यसो भीडभाडमा किताब लिएर उभिएपछि एक–दुई किताब त गइहाल्छ,’ दीपकले भने।
दीपकको तीन जनाको परिवार (आमा, बहिनी र दीपक) किताब बेचेर नै चलेको छ। उनले देखेको सपना (लेख्ने-पढ्ने) पनि किताबको व्यापारले नै थामेको छ। तर उनलाई कलेजको समय जुधेर भने पिर परेको रहेछ।
‘त्रिचन्द्रमा बिएससी पढ्दै छु। बाल्मिकीमा शास्त्री। दुवैको क्लास दिउँसो नै छ,’ उनले चिन्ता व्यक्त गरे। पाठको महत्वका आधारमा छिनमा त्रिचन्द्र त छिनमा वाल्मिकी आउजाउ गरिरहन्छन् दीपक।
‘कलेजबाट फुर्सद मिल्दा किताब बेच्छु। कोही बेला बाटोमा हिँडिरहँदा पनि किताब माग्छन्,’ उनी भन्छन्, ‘अर्डरमा किताब ल्याउने काम गर्छु र ग्राहककहाँ लगिदिने काम पनि गर्छु कहिलेकाहीँ।’
उमेर ढल्किनै लाग्दा पनि दीपकको पढ्ने रहर देखेर त्रिचन्द्रमा साथीहरु खुसी हुँदारहेछन्। ‘गाँउमा हुँदा पनि म राम्रो विद्यार्थी थिएँ। अहिले विज्ञान पढिरहेको छु। विज्ञानको क्षेत्रमा केही गर्न सक्छु कि जस्तो लाग्छ, हेरौं,’ उनले सुनाए।
दीपकको लेख्ने–पढ्ने काममा परिवारको कुनै भूमिका नभएको उनले बताए। ‘उहाँहरुले पढेलेखेका भए यो-यो गर भनेर सिकाउनुहुन्थ्यो होला। जे मनपर्छ त्यही गर भन्नुहुन्छ। म आफ्नै मनले अह्राएको गर्दै छु,’ दीपकले भने ‘यही अक्षर बेचेर घर चलाउँछु। अब अक्षरसँगै जिन्दगी बिताउँछुु। अक्षर बेचेर अक्षर नै किन्छु।’
वैशाख ६, २०७८ सोमबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।