ब्युँतँदै सोह्रखुट्टे पाटी 

ब्युँतँदै सोह्रखुट्टे पाटी 

काठमाडौँ : सडक विस्तारको क्रममा सडक विभागले भत्काएको २ सय वर्ष पुरानो सोह्रखुट्टे पाटी वडाको सक्रियतामा पुनर्निर्माण भएको छ।

विभागले सडक विस्तारको क्रममा भत्काएको सो पाटी वडाको सक्रियतामा पुनर्निर्माण भएको हो। अहिले पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ महानगरपालिका वडा १६ का अध्यक्ष मुकुन्द रिजालका अनुसार यो पाटी झन्डै २ सय वर्ष अगाडी दरबारका कालु भोटु पाँडेले निर्माण गरेका हुन्।

कालु भोटु पाँडे चीनको तिब्बतमा लडाइँमा गएको बेलामा घाइते भएका थिए। युद्धमा घाइते भएर बेहोस भएका भोटुलाई तिब्बती सेनाले मर्यो भनेर फालिदिएको इतिहास छ। 

‘बेहोस भएका भोटु पाँडेलाई भगवती माताले ब्युँताएपछि  नेपाली सेनाले बोकेर काठमाडौँ ल्याएका रहेछन्,’ रिजालले भने‘ उनले भगवतीको नाममा पचास बिगाहा जमिनमा महालक्ष्मी गुठी स्थापना गरेर सोह्रखुट्टे पाटी बनाएका थिए।’

त्यही पाटी पनि सडक विस्तारको क्रममा भत्किएपछि वडाले आफ्नो पहलमा पुनर्निर्माण सुरु गरेको उनले बताए।

पहिला सोह्रखुट्टेमा पाटीसँगै पोखरी र धारा समेत थियो। पोखरी बाटोले खाइदियो। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र वडा कार्यालय रहेको ठाउँमा  धर्मशाला थियो।

तीन तले धर्मशाला भए सतह भन्ने र एक तले भए नेपाल भाषामा फाल्चा भन्ने गरिन्छ । ती सबै मासिएको ३ दशक भएको संस्कृतिविद् योगेन्द्रमान श्रेष्ठले बताए।

पहिलाको गेस्ट हाउस हो पाटी 

स्थानीय समेत रहेका वडाध्यक्ष रिजाल सोह्रखुट्टे पाटीमा बाहिरी जिल्लाबाट काठमाडौँ आएका बटुवा बास बस्थे अनि आफैले बोकेर ल्याएको खानेकुरा पकाएर खाने गर्थे।

यो पाटीमा नुवाकोट, रसुवा, धादिङ लगायत पश्चिमी जिल्लाबाट आएका बटुवाहरू बास बस्ने गरेका थिए। यता तिब्बतबाट व्यापार गर्न आउनेहरूको पनि बास स्थान रहेको वडा अध्यक्ष रिजाल बताउँछन्।

‘म ७–८ वर्षको हुँदासम्म बटुवाहरू बास बसेको देखेको थिए। पहिला यी पाटी नै गेस्ट हाउस थिए,’ उनले भने‘ अहिले भने सबै तिर घर बन्यो। गेस्टहाउस सुरु भएपछि पाटीको महत्त्व हराउँदै गयो।’

पुरानै ढाँचामा निर्माण 

अहिले निर्माण भइरहेको पाटीको स्वरूप केही बदलिएको छ। पहिला   माटोले लिपेर पाटी बनाइएको थियो। खरको छानो, टायल हुन्थ्यो। अहिले त्यस्तै स्वरूपमा बनाउन नसकिएको उनले बताए।

उनले २०९० सालमा बनेको पाटीको स्वरूपलाई यथावत् राख्ने प्रयास गरिएको बताए।

वडाध्यक्ष मुकुन्दले भने, ‘पाटीको स्वरूप ९० सालको भन्दा केही फरक हुन्छ। अहिले आधुनिक जमाना छ। सकेसम्म पुरानै डिजाइनको पाटी निर्माण गर्ने प्रयासमा छौँ।’

अहिले पाटीको सबै संरचनाको निर्माण सकिए पनि छाना छाउने र बुट्टा काट्न मात्र बाँकी छ।

वैशाख ६, २०७८ सोमबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।