एमालेबाट फ्लोर क्रस गरेका तीन मन्त्रीले लिए शपथ

एमालेबाट फ्लोर क्रस गरेका तीन मन्त्रीले लिए शपथ

सुर्खेत : कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेका नेकपा एमालेको माधवकुमार नेपाल समूहका तीन जना मन्त्रीले शपथ लिएका छन्।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज (आइतबार) साँझ ६ बजे उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्रीमा अम्मरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा कुर्मराज शाहीलाई शपथ ग्रहण गराएका हुन्।

उक्त समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाहीलगायतको उपस्थिति थियो। 

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावमा एमालेको नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्विपलाई अस्वीकार गर्दै फ्लोर क्रस गरेका थिए। उक्त प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो। 

कर्णाली प्रदेशको नयाँ मन्त्रिपरिषद्मा कांग्रेसले सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको लबिङ गरिरहेको कांग्रेसका एक जना सांसदले बताए।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भने मन्त्री नरेश भण्डारीको स्थानमा माओवादीका सांसद विन्दमान विष्टको पनि चर्चा चलेको छ। 

वैशाख ५, २०७८ आइतबार १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।