प्रदेश १ का सीमा नाकामा स्वास्थ्य सुरक्षालाई बेवास्ता : घर फर्किनेको ज्वरो नाप्दै, पठाइँदै

प्रदेश १ का सीमा नाकामा स्वास्थ्य सुरक्षालाई बेवास्ता : घर फर्किनेको ज्वरो नाप्दै, पठाइँदै

यहाँका जोगवनी, काँकडभिट्टा, गौरीगन्ज, पशुपतीनगर, भण्टाबारीलगायत नाका हुँदै भित्रिने यात्रुलाई ज्वरो नापेकै भरमा पठाइने गरिएको छ। केहीको मात्रै एन्टिजेन परीक्षण हुने गरेको छ। 

भारतबाट फर्किएका अधिकांशलाई ज्वरो नापेकै भरमा पठाइएकाले कोरोना संक्रमणको जोखिम बढेको स्वास्थ्यसम्बन्धी जानकार बताउँछन्। उनीहरूले भारतबाट फर्किने सबैको कोरोना परीक्षण गर्न सुझाव दिए पनि सराेकारवालाले यसलाई बेवास्ता गरेका छन्।  

भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेपछि त्यहाँ कार्यरत नेपाली घर फर्किँदा नेपालमा कोरोना जोखिम बढेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनयता त्यहाँ दैनिक दुई लाखभन्दा बढीलाई कोरोना संक्रमण भइरहेको छ। 

घटेन निर्वाध आउजाउ

भारतमा कोरोना संक्रमण बढे पनि सीमावर्ति भारतीय बजारमा किनमेलका लागि जाने नेपालीको संख्या घटेको छैन। त्यसो त नेपाल घुम्न आउने भारतीयको संख्या पनि कम हुन सकेको छैन। 

गर्मी याममा काँकडभिट्टा र जोगबनी नाकाबाट भारतीय पर्यटक इलामको कन्याम र धनकुटाको भेडेटार, हिले पुग्ने गरेका छन्। 

त्यति मात्रै होइन, भारतबाट नाका छलेर नेपाल भित्रिन थालेका छन्। 

सीमा नाकामा निर्वाध आवतजावत र स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना जोखिम बढेको जानकार बताउँछन्। त्यसो त यहाँ न सभा–सम्मेलन रोकिएको छ न त हाटबजार सञ्चालन नै। 

०००

गत चैत १५ मा शून्य संक्रमित भेटिएको प्र्रदेश १ मा बिहीबार ३५ जना नयाँ संक्रमित भेटिएका छन्।

संक्रमित भेटिन थालेपछि स्वास्थ्य आपतकालीन तथा व्यवस्थापन इकाइले आमनागरिकलाई सचेत रहन आग्रह गरेको छ। उसले कोरोनाको कारण युवा तथा बालबालिका बढी प्रभावित भएको जनाएको छ। 

०००

प्रदेश १ जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईं समयमै सावधानी अपनाउनुपर्ने सुझाउँछन्। 

अघिल्लो वर्ष सीमानाका व्यवस्थापन नगर्दा जोखिम बढेको बताउँदै उनले बेलैमा सचेत रहन आग्रह गरे। हालसम्म कोभिड संक्रमण दर उच्च नभए पनि सुरक्षा सावधानीमा जोड दिनुपर्ने उनको सुझाव छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको जोखिमयुक्त जिल्लामा प्रदेश १ को मोरङ पनि परेको छ। खुला सिमाना र बढ्दो संक्रमणका कारण मन्त्रालयले मोरङलाई कोरोना संक्रमणको जोखिम जिल्ला घोषणा गरेको हो। 

के गर्दैछ प्रशासन ? 

मोरङका प्रमुख जिल्ला अधिकारी केशहरि निरौलाले जोगवनी नाकाबाट आएकाको जानकारी राखिरहेको जानकारी दिए। हेल्थ डेस्क राखेर सुरक्षा जाँच भइरहेको र एन्टिजेन (कोभिड १९ को शीघ्र परीक्षण विधि)  परीक्षणको व्यवस्था मिलाइएको उनको भनाइ छ। 

बजार भर्न जाने र पारिवारिकरूपमा आवतजावत गर्नको लागि अहिलेसम्म रोक नलगाइएको निरौलाले बताए। 

जिल्ला प्रशासन कार्यालय, सुनसरीले जोखिम बढ्न नदिन सीमामा सुरक्षा बढाउने बताएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सुनसरीको मुख्य नाका मानिएको भण्टाबारीमा आगन्तुकको ज्वरो नाप्ने, रेकर्ड राख्ने गरिएको बताउँछन्। हालसम्म खासै जोखिम नबढेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। 

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना अहिलेसम्म आत्तिनुपर्ने अवस्था नरहेको दाबी गर्छन्। सामान्य परीक्षण र पालिकासँग समन्वय गरी लगत संकलन भइरहेको उनले बताए। 

कोभिड अस्पताल पुनः व्यवस्थित गरिँदै

कोरोना जोखिम बढेपछि प्रदेश १ सरकारले अघिल्लो वर्ष सञ्चालनमा रहेको कोभिड अस्पताललाई पुनः व्यवस्थित गर्न लागेको छ। 

प्रदेशकी सामाजिक विकासमन्त्री उषाकला राई अस्पतालको निरीक्षण गर्दै मर्मत तथा सुधारमा चासो देखाएकी हुन्। 

कोभिड टेस्ट तथा त्यसको उपचारमा स्थानीय सरकारसँग समन्वय गर्ने प्रदेश सरकारको तयारी छ। 

वैशाख ५, २०७८ आइतबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।