भारतबाट नेपाल फर्कनेको लर्को : कोरोना संक्रमित घरमा, आइसोलेसन र अस्पताल खाली
स्वदेश फर्किनेहरुलाई व्यवस्थति तरिकाले नाकाबाट प्रवेश गराउन सुरक्षाकर्मीलाई धौधौ थियो भने नाकामा खटिएका स्वास्थ्यकर्मीलाई चाप थेग्न हम्मेहम्मे भइरहेको थियो।
नाकामै कोरोना परीक्षणका लागि कैलाली–कञ्चनपुरको समन्वयमा १० जना स्वास्थ्यकर्मी खटिइरहेका छन्। उनीहरुसँग अन्य २ जना सहयोगी पनि छन्। सुरक्षाकर्मीले लाइन व्यवस्थापनदेखि चेकजाँचमा सहयोग गरिरहेका हुन्छन्। स्वास्थ्यकर्मीले पालैपालो नागरिकको एन्टिजेन विधिबाट स्वाब परीक्षण गरी निरन्तर १५ मिनेटको अवधिमा रिपोर्ट दिइरहन्छन्।
एक महिनामा ४ सय ८० जनामा संक्रमण पुष्टि
गत चैत ३ गतेदेखि नाकामा ‘एन्टिजेन’ परीक्षण सुरु भएको थियो। त्यसयता हालसम्म ४ सय ८० जनामा संक्रमण पुष्टि भइसकेको छ। शंकास्पद ७ हजार ९ सय १० जनाको ‘एन्टिजेन’ परीक्षण गरिएकोमा हालसम्म ५ सयको हाराहारीमा कोरोना पुष्टि भएको नाकामा खटिइरहेका स्वास्थ्यकर्मी गणेश साउदले बताए।
‘हामीले शंकास्पदको मात्रै परीक्षण गर्छौँ। सुरुमा पोजेटिभ आउनेहरूलाई पनि सम्झाएर घर पठाइरहेका थियौँ। धनगढीको कनरीमा आइसोलेसन स्थापना भएपछि हामीले सबै जनालार्ई चैत १९ गतेदेखि भने आइसोलेसनमै पठाइरहेका छौँ,’ साउदले भने।
त्रिनगर नाका हुँदै चैत महिनामा मात्रै ३० हजार बढी नागरिक सुदूरपश्चिम भित्रिएकोमा ७ हजारको मात्रै परीक्षण भएको छ। अन्य बिना परीक्षण नै घर गएका छन्।
संक्रमितलार्ई घर पठाउन हतारो, कनरीको आइसोलेसन कि होल्डिङ सेन्टर?
धनगढी उपमहानगरपालिका- १५ कनरीमा १ सय ५० बेड क्षमताको आइसोलेसन छ। तर त्यहाँ हाल १ सय १८ वटा मात्रै बेडको व्यवस्था गरिएको छ। नाकामा पोजेटिभ आउने सबैलाई कनरीको आइसोलेसनमा पठाइने गरे पनि जिल्ला स्वास्थ्य कार्यालय कैलालीले भने धमाधम उनीहरूलाई घर पठाइरहेको छ।
‘कनरीमा रहेको आइसोलेसन नामको मात्रै हो, एक स्वास्थ्यकर्मीले भने, ‘बरु त्यसलार्ई होल्डिङ सेन्टर भन्न मिल्छ, पोजेटिभलाई एक/दुई दिन राखेर आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।’
दैनिक रूपमा ५० देखि ६० जना संक्रमित नाकाबाट कनरीमा आइरहेका छन्। उनले थपे, ‘तर उनीहरूलाई त्यहाँ राखिँदैन, सम्बन्धित आफन्तको जिम्मा लगाएर छोडिन्छ। आफ्नै खर्चमा संक्रमितहरू घर गइरहेका छन्। यस्तै लापरबाही बढ्ने हो भने भयावह स्थिति आउँछ।’
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले अहिले कनरीको आइसोलेसनमा १९ जना संक्रमित रहेको बताए। ‘बढ्ने घट्ने, भइराख्छ,’ धामीले भने, ‘संक्रमितमा कडा खालका लक्षण छैनन्। सबैलाई यहाँ राख्न सक्ने हाम्रो क्षमता पनि छैन। त्यसैले सुरक्षित तवरले घर पठाइरहेका छौँ।’
कडा लक्षण भएकाहरूलाई मात्रै उपचारका लागि कोरोना अस्थायी अस्पतालमा पठाउने गरेको उनले बताए।
संक्रमित सबै घरमा, कोरोना अस्पतालको बेड खाली
स्वास्थ्य कार्यालय कैलालीकै तथ्याङ्क अनुसार नाकामा भएकै एन्टिजेन परीक्षणबाट ५ सयको हाराहारीमा कोरोना पुष्टि भइसकेको छ। तर तीमध्ये १९ जना अहिले आइसोलेसनमा छन् भने ३ जनाको कोरोना अस्पतालमा उपचार भइरहेको छ।
बाँकी सबै संक्रमितलाई घर पठाइएको छ। उनीहरू घर गइसकेपछि होम आइसोलेसनमा बसेका छन् या खुलेयाम डुलिरहेका छन्, सम्बन्धित निकाय त्यसबारे जानकार छैनन्।
आइसोलेसनमा भएकै अवस्थामा कडा खालको लक्षण हुने संक्रमितले मात्रै उपचार पाइरहेको अवस्था छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ५० बेड क्षमताको अस्थायी कोरोना अस्पतालमा अहिले ५ जना मात्रै उपचाररत छन्। बाँकी ४५ बेड खाली छन्। ‘अस्पतालमा भएका संक्रमितमध्ये ३ जनाको अवस्था गम्भीर छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘अन्य दुई जनाको अवस्था सामान्य छ।’
कोरोना संक्रमण भयावह बन्दै गएपछि धनगढीमा दुई वटा ल्याबबाट कोरोनाको परीक्षण भइरहेकोमा अहिले भने एउटा ल्याबबाट मात्रै पिसिआर परीक्षण भइरहेको छ।
एक दिनमा हजार नमुना परीक्षण गर्न सक्ने क्षमताको पिसिआर मेसिन भए पनि दैनिक रूपमा ६०÷७० को हाराहारीमा मात्रै परीक्षण भइरहेको छ। ‘स्वाब सङ्कलन नै भएको छैन,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘उपलब्ध भएका सबै नमुना परीक्षण गरिरहेका छौँ।’
त्रिनगर नाका हुँदै चैत महिनामा मात्रै ३० हजार बढी नागरिक सुदूरपश्चिम भित्रिएकोमा शङ्कास्पद ७ हजारको मात्रै एन्टिजेन परीक्षण भएको छ। बाँकी २२ हजार बढी परीक्षण बिना नै घर गएका छन्।
सरोकारवाला भन्छन्- आफ्नो व्यवस्थापन आफैँ गरौँ
भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिँदै गएपछि रोजगारीका लागि गएकाहरू धमाधम फर्किँदै छन्। गत वर्ष पनि सुदूरपश्चिममा बाह्य देशबाट घर फर्किएका एक युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो।
सामाजिक विकास मन्त्रालयले स्थानीय पालिकाहरूको समन्वयमा भारतबाट आउने सबैलाई १२ दिनदेखि २१ दिनसम्म अनिवार्य रूपमा क्वारेन्टाइन र आइसोलेसनमा राखेको थियो। तीमध्ये कडा लक्षण देखिनेहरूलाई धमाधम कोरोना अस्पतालमा उपचारका लागि लगिन्थ्यो। तर अहिले त्यस्तो छैन।
सबैभन्दा बढी लापरबाही सम्बन्धित सरोकारवाला निकायबाटै भइरहेको छ। अहिले स्थानीय तह, प्रदेश सरकार अथवा सङ्घीय सरकार कसैले पनि कोरोना रोकथामका लागि प्रभावकारी काम गरेका छैनन्। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले विगतमा जस्तो क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था मिलाउन नसकिने बताए।
‘हामीले सक्दो प्रयास गरिरहेका छौँ। नाकामा एन्टिजेन परीक्षणको पनि व्यवस्था मिलाएका छौँ,’ मन्त्रालयका प्रवक्ता कार्कीले भने, ‘आइसोलेसनमा बस्छौँ भन्ने सबैलाई राखेका छौँ। जबरजस्ती राख्ने काम हामी गर्दैनौँ, नागरिक आफैँ सचेत बन्नु पर्यो।’
भारतबाट आउनेहरूको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले कैलालीका स्थानीय तहहरुलाई आइसोलेसन पुनः सञ्चालन गर्न निर्देशक दिएको थियो। तर हालसम्म कैलालीका १३ वटा स्थानीय तहमध्ये धनगढीको कनरीमा मात्रै आइसोलेसन सञ्चालनमा छ। अन्य पालिकाहरूले स्थानीय प्रशासनको आग्रह कार्यान्वयनमा ल्याएका छैनन्।
‘एक हप्ताअघि सबै पालिकाका जनप्रतिनिधि र कर्मचारीसँग हामीले कोरोना रोकथामका लागि छलफल गरेका थियौँ,’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरुलाल चौधरीले भने, ‘उहाँहरूले आइसोलेसन सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, व्यवस्था मिलाउँदै हुनुहुन्छ होला।’
वैशाख ३, २०७८ शुक्रबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।