कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको अपिल
दलकी प्रमुख सचेतक सीता नेपालीले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै भोलि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी हुन्।
कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गतको पहिलो बैठक भोलि (शुक्रबार) दिउँसो २ बजे बोलाइएको छ। उक्त बैठकमा सरकारले विश्वासको मत लिने कार्यसूची रहेको बताइएको छ।
‘प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नु हुन कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्नु हुने सबै राजनीतिक दल र सम्बद्ध माननीय सदस्यज्यूहरूमा हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।
गच चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा छ। सरकारको निरन्तरताका लागि भोलि हुने बैठकमा माओवादी केन्द्रका प्रदेश सभा दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुपर्ने छ।
४० सिट रहेको प्रदेशसभामा अहिले ३९ सांसद् छन्, जसमा माओवादी केन्द्रका १२ सांसद् छन्। उसले एक सांसद्लाई कारवाही गरिसकेको छ। माओवादी केन्द्रलाई बहुमतको सरकार बनाउन थप ८ सांसद्को समर्थन आवश्यक छ, जुन एमालेको समर्थनबिना सम्भव छैन।
प्रदेशसभामा एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद् छन्।
विज्ञप्तिमा नेकपा एमालेले सत्ता स्वार्थका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिएको दाबी गरिएको छ।
‘केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा एमालेद्वारा हाम्रो दल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ,’ विज्ञप्तिमा लेखिएको छ।
वैशाख २, २०७८ बिहीबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।