कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने 

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले भोलि विश्वासको मत लिने 

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि शुक्रवार विश्वासको मत लिने भएका छन्। त्यसका लागि उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका छन्।

सत्तारुढ नेकपा एमालेले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्। 

भोलि दिउँसो बस्ने कर्णाली प्रदेश सभा बैठकको एजेन्डाबारे छलफल गर्न आज दिउँसो २ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। भोलिको बैठकमा सरकारका दुई अध्यादेश प्रस्तुत हुनेछन्। यस्तै मुख्यमन्त्री शाहीले सदनमा पेस गरेको विश्वासको मत माथि मत विभाजनका आधारमा निर्णय हुनेछ।

प्रदेश सभामा एमालेका २०, माओवादीका १२ काँग्रेसका ६ र राप्रपाका १ सदस्य छन्। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। 

प्रदेशसभाको सातौँ अधिवेशन भोलिदेखि सुरु हुँदैछ। भोलि नै अविश्वासको प्रस्तावमाथि टुङ्गो लाग्ने कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ। 

वैशाख २, २०७८ बिहीबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।