ब्याच नम्बर ६९ : विजयकुमार गच्छदारले डिआइजीमा बढुवा गर्नै मानेनन्

ब्याच नम्बर ६९ : विजयकुमार गच्छदारले डिआइजीमा बढुवा गर्नै मानेनन्

लागुऔषध नियन्त्रण इकाइमा सरुवा हुँदा नियमित सरुवाकै रूपमा लिएको थिएँ मैले। प्रहरीमा प्रायः एक वर्ष काम गरेपछि अन्यत्र सरुवा निस्किहाल्छ। तर, इकाइमा मेरो बसाई एक वर्षको मात्र भएन। १३ वर्ष भयो।

काठमाडौंंबाहिर मेरो पोस्टिङ नै भएन। प्रहरी पोशाक लगाएर ड्युटी नै गर्नु परेन। लामो समय सादा पोशाकमै काम गरें।

प्रहरीमा बढुवाका लागि जिल्लाको कमाण्ड सम्हालेको छ/छैन लगायतका आधार पनि लिइन्छ। प्रहरी निरीक्षकको रूपमा बाहेक म काठमाडौंबाहिर जानै परेन। 

लामो समय इकाइमै बसे पनि मेरो करिअरमा त्यसको नकारात्मक प्रभाव भने परेन। प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा हुँदा जसरी छुटे त्यसपछिको बढुवामा छुटिनँ। 

बढुवामा चासो त हुन्थ्यो नै। तर, धेरै माथापच्चीचाहिँ गरिनँ। विभागले दिएको जिम्मेवारी हो इकाइको। अब कतै सरुवा नै हुँदैन भने मैले गर्नु के।

म आफैं इकाइमा बसिरहेको पनि होइन। जो इन्चार्ज आउनुहुन्थ्यो ‘तिमी त चाहिन्छ’ भन्ने, अन्त जानै नदिने। गृह मन्त्रालयमा कुरा गर्नु परे पनि इन्चार्जहरू आफैंले कुरा गरिदिने। प्रहरी महानिरीक्षकहरूले पनि ‘तिमीले त्यही राम्रो गरेका छौं। तिमी लागुऔषधको विज्ञ हौ, त्यही बस’ भन्ने। 

मलाई पनि रमाइलो लागिरहेको थियो। म पनि बसें। खुरुखुरु काम गरें। गरेको कामको नतिजा पनि राम्रै आइरहेको थियो। अन्तर्राष्ट्रिय सम्बन्धहरू विकास भइरहेका थिए। 

इन्चार्ज र प्रहरी महानिरीक्षकहरू मेरो कामले सन्तुष्ठ नै हुनुहुन्थ्याे। अनि भने बढुवाका लागि किन ढोका–ढोका धाउनु?

मलाई जसरी नेतृत्वले विश्वास गर्यो, मैले गरेको विश्वास पनि भत्किएन। मेरा लागि जहाँ–जहाँ पर्यो त्यहाँ–त्यहाँ इन्चार्ज र प्रहरी महानिरीक्षकहरू नै डटेरै लागिदिनुभयो। यसले मेरो करिअरमा ब्रेक लागेन। 

२०५८ माघ २३ मा म एसपीमा बढुवा भएँ। र, लागुऔषध इकाइमै पदस्थापन भयो। इकाइको प्रमुख एसएसपी तहको हो। २०६० असार ३१ म इकाइको कायममुकायम प्रमुख भएँ। 

संयुक्त राष्ट्र संघको अफगानिस्तान मिसनमा गएँ। मिसनमै हुँदा एसएसपीमा बढुवा भयो। मिसनबाट फर्किएर आएपछि इकाइमै गए। २०६६ मंसिर १ मा इकाइबाट सरुवा भयो मेरो। प्रहरी प्रधान कार्यालयको प्रशासन महाशाखामा गएँ।

२०६७ फागुन १ मा प्रशासनबाट महानगरीय प्रहरी अपराध महाशाखामा काज सरुवा निस्कियो। त्यहाँ एक वर्ष काम गरें।

त्यही बेलामा डिआइजीमा बढुवा हुने समय भएको थियो। त्यो बेला भने झण्डै छुटेको। तत्कालीन प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह मेरो बढुवाका लागि आफैं नभिड्नु भएको भए छुट्ने रहेछु। 

बढुवाको समय आएपछि मन्त्री भेट्ने। बढुवा नछुुटोस् भनेर भन्ने प्रचलन थियो, अहिले पनि छ। 

त्यो बेला विजयकुमार गच्छदार गृहमन्त्री थिए। गच्छदारसँग नजिक भएकाहरूले ‘बढुवाको समय आएको छ मन्त्रीज्यूलाई भेट्नु’ भनेर सन्देश पठाएका थिए। तर, मैले भेटिनँ। किन भेट्न जानुु ? काम गरेकै छु। दिएको जिम्मेवारी निभाएकै छु भने मेरो बढुवाको जिम्मेवारी पनि संगठनको हो नि। त्यसमा पनि किन भेट्न बोलाएको हो त्यो बुझिने पाटो नै थियो। जे उद्देश्यले मलाई भेट्न जान अप्रत्यक्ष दबाब आएको थियो त्यो पूरा हुनै सक्दैनथ्यो।  

गच्छदारले मलाई बढुवा गर्न मानेका छैनन् भन्ने सूचना आइरहेको थियो। छुटे छुटोस्। तर, भेट्नचाहिँ जान्न भनेर बसें।

गच्छदार मेरो नाम नमान्ने, आइजिपी रवीन्द्रप्रताप शाहले ‘हेमन्तको बढुवा हुन्न भने बढुवा समितिको बैठकै बस्दैन’ भनेर रोकेको रोक्यै गर्ने। अन्तमा गच्छदारको केही चलेन। बढुवाको सूचीमा मेरो नाम आउनबाट उनले रोक्न सकेनन्।

२०६८ पुस ५ मा मेरो बढुवा भयो। म अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, त्यताबाट अन्वेषण निर्देशनालय हुँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुगें। 

ब्युरोको कार्यकाल निकै सन्तोषजनक लाग्छ मलाई। नेपाल प्रहरीलाई १२ वर्षदेखि सुल्झाउन हम्मेहम्मे परेको रानीबारी हत्याकाण्डको सफल अनुसन्धान गर्न सकें। 

यसमा नेतृत्व गरेको आधारमा मलाई क्रेडिट त आउने नै भयो। तर, त्यो बेला ब्युरोको टिमले जुनरूपमा काम गरेको थियो, टिम एक भएर जसरी खटेका थिए त्यो नभएको भए सम्भव हुने थिएन।

रानीबारी हत्या घटनाकाे सफल अनुसन्धानपछि तत्कालीन गृहमन्त्री वामदेव गाैतमबाट पुरस्कृत हुँदै हेमन्त मल्ल ।  

यस्तो काममा प्रहरी नेतृत्व कस्तो छन् भन्नेले पनि प्रभाव पार्ने रहेछ। त्यो बेलामा प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो उपेन्द्रकान्त अर्याल। उहाँले अनुसन्धानको आर्थिक पाटोदेखि सबै क्षेत्रमा अगाडि बढ्न कुनै रोकटोक गर्नुभएन। अगाडि बढ्न निकै मद्दत भयो।

रानीबारी हत्याको अनुसन्धान सफल हुनुमा प्रहरी महानिरीक्षकदेखि ब्युरोको प्रहरी जवानसम्मको योगदान छ। 

म ब्युरोमा भएको बेला सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्नको पहिचान भयो। यी अनुसन्धान कसरी सफल भयो यसबारे आगामी अंकमा विस्तृत जानकारी दिने नै छु।

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भयो। आयोगको कार्यकालबाट पनि सन्तुष्ट नै छु म। २०७३ पुस ५ मा डिआइजीबाट अवकास पाउँदा म प्रहरी प्रवक्ताको भूमिकामा थिएँ।

०००

३० वर्षीय सेवा अवधिका आधारमा म पुस ५ बाट पूर्वप्रहरी हुँदैछु भन्नेमा जानकारै थिए। अघिल्लो दिनसम्म त्यस्तो केही लागेको पनि थिएन। तर, जब अवकास पाएर घर पुगे नि, एक्लो अनुुभव भयो। अब म प्रहरी रहिनँ भन्ने अनुभव गर्दा पनि डर लाग्ने रहेछ।

संगठनको सदस्य रहँदा सुरक्षित महसुस हुने रहेछ। अब म संगठनको रहिनँ भन्दा असुरक्षित महसुस हुने रहेछ।

संगठनको सदस्य भएसम्म त हरेक काममा दर्जाले पनि काम गर्थ्याे नि। सरकारी काम होस् कि व्यक्तिगत काम होस् कुनै न कुनै रूपमा सहयोग हुन्थ्यो।
दर्जा साथमा नहुँदा एक्लो अनुभव हुने नै भयो। 

मलाई यो एक्लोपनबाट बाहिर आउन र जीवनको गतिलाई लयमा लैजान दुई वर्ष लाग्यो। दुई वर्षसम्म अब के गर्ने भन्ने अन्योलमै बित्यो। अन्योलको बेलामा हिजोका दिनमा संगत गरेकाहरू, आफ्नो कोर सर्कल अनि साथीभाइ कस्ता छन् भन्नेले ठूलो महत्त्व राख्ने रहेछ।

म भाग्यमानी ठहरिए। मेरो सर्कल र साथीहरूले अन्योलको समयमा मलाई एक्लै पारेनन्। उनीहरूले मलाई कुनै न कुनै काममा संलग्न गराइरहे। 

अलमलमा परेको दैनिकीलाई लयमा फर्काउन उनीहरूले नजानिँदो गरी सहयोग गरे। र, २ वर्षपछि मेरो अवकासपछि अलमलिएको दैनिकीले लय समात्यो।

क्रमश:

(नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

वैशाख १, २०७८ बुधबार १९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।