उकेरा प्रभाव : ललितपुर महानगरका सबै पार्किङ ठेक्का रद्द हुँदै

उकेरा प्रभाव : ललितपुर महानगरका सबै पार्किङ ठेक्का रद्द हुँदै

ललितपुर : जनप्रतिनिधिसँगको मिलेमतोमा ललितपुर महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सशुल्क पार्किङ खारेज हुने भएको छ। उकेराले निरन्तर ललितपुर क्षेत्रमा जनप्रतिनिधिकै मिलेमतोमा चलिरहेका अवैध पार्किङको खुलासा गर्दै आएको छ।

जनप्रतिनिधि नै बदमासीमा संलग्न रहेको श्रृंखलाबद्द खुलासापछि महानगर बोर्ड ललितपुर क्षेत्रमा सञ्चालित सबै पार्किङ खारेजीको निष्कर्षमा पुगेको हो। 

महानगरपालिकाका अधिकारीका अनुसार वैशाख पहिलो साता बस्ने बोर्ड बैठकको पहिलो अजेण्डा नै अवैध पार्किङ ठेक्का खारेज गर्ने राखिएको छ।

‘अब बस्ने बोर्ड बैठकले  पार्किङ समस्यालाई हल गर्न ठेक्काहरू रद्द गर्ने तयारी गरेको छ,’ ललितपुर महानगरका सूचना अधिकृत रुद्र प्रसाद गौतमले उकेरालाई भने‘  भोलिका दिनमा पार्किङलाई व्यवस्थित गर्न के गर्न सकिन्छ, त्यसको विस्तृत अध्ययन, अनुसन्धान गरी महानगर एउटा निर्णयमा पुग्ने छ।’

कहाँ–कहाँ छन् अवैध पार्किङ ?
ललितपुर महानगरको पुलचोकस्थित महानगरपालिका भवन अगाडी, पर्यटन शुल्क काउन्टर अगाडिको सार्वजनिक सडक, कुमारी पाटी, बटुभैरब, कनिबहाल, महालक्ष्मी थान, लगनखेल, पाटन अस्पताल आसपास, भनिमण्डल, जावलाखेल, मंगलबजार, हःखा, हौगल, बक्रबहिल, टंगाल, नःटोल लगायतका क्षेत्रमा अवैध पार्किङ चलिरहेका छन्।

कतै महानगरपालिकाका अधिकारीसँगको मिलेमतोमा स्थानीय ठेकेदारले ती पार्किङ चलाएका छन् त कतै वडा अध्यक्ष आफैँ संलग्न भएर पार्टी निकट व्यक्तिलाई अवैध रूपमा पार्किङ चलाउन लगाएर रकम असुल्ने गरेको उकेराको स्थलगत अनुगमनमा खुलेको थियो।

महानगरले चार पाङग्रेलाई घण्टाको २० र २ पाङग्रेलाई घण्टाको १० रुपैयाँ उठाउने गरी पार्किङ चलाउन दिएपछि पार्किङ सञ्चालकले भने दोब्बर शुल्क उठाउँदै आएका थिए।

उनीहरूले महानगरलाई रकम समेत नबुझाएको उकेराको अनुगमनमा खुलेको थियो। कतिपय ठाउँमा वडा अध्यक्ष आफैँ मिलेर मौखिक आदेशको भरमा सशुल्क पार्किङ चलाउन लगाएर पैसा उठाएको समेत पुष्टि भएको थियो ।

 

उकेरामा प्रकाशित पार्किङ सम्बन्धी समाचार

ललितपुर वडा १२ को बदमासी : टोल सुधारको आवरणमा अवैध पार्किङ

स्थानीय सरकारले अधिकारको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिलाई कसरी भोटर प्रोजेक्ट बनाउन सक्छ भन्ने उदाहरण बनेको छ ललितपुर महानगरपालिकाको वडा नम्बर १२। सार्वजनिक सम्पत्तिको उपयोगको अधिकार पाएको वडा १२ ले सडक डिभिजन कार्यालयले बनाएको सार्वजनिक बाटोलाई ‘भोटर प्रोजेक्ट’ बनाउँदै आफू निकटहरूलाई सशुल्क पार्किङ चलाउने छुट दिएको छ।

वडाले स्थानीयरुपमा टोल सुधार समितिलाई सरकारी जग्गा व्यावसायिक प्रयोजनमा प्रयोग गर्ने अनुमति दिएको छ तर मौखिक। आर्थिक कारोबारको अनुमतीदिँदा न कुनै सम्झौता भएको देखियो न कुनै मापदण्ड र सर्त नै तोकियो। वडा अध्यक्षले पार्किङ चलाएर पैसा उठाऊँ भन्ने मौखिक सहमतीयै आधारमा वडाको ६ स्थानमा सशुल्क पार्किङ चलिरहेको छ अहिले।

सार्वजनिक सम्पत्ति दोहनमा ललितपुरका जनप्रतिनिधि नै संलग्न 

सार्वजनिक सम्पत्ति व्यवस्थापनको अधिकार दुरुपयोग गर्दै ललितपुर महानगरपालिकाले सार्वजनिक सडक व्यक्तिलाई पार्किङको आवरणमा दुरुपयोग गर्न दिएको खुलेको छ।

महानगरपालिकाको पदाधिकारीको संलग्नतामा महानगरका अधिकांश क्षेत्रका सडक क्षेत्रमा सशुल्क पार्किङ चलिरहेका छन्। कति स्थानमा मनलाग्दी सम्झौता छ भने कतै सम्झौतासमेत भएको छैन।

स्थानीय निकायले पाएको अधिकार भन्दै जनप्रतिनिधिहरू आफैं सार्वजनिक सम्पत्तिको दोहनमा सक्रिय छन्। त्यसैको एक प्रमाण हो– वडा नम्बर २० को ४ रोपनी जग्गाको ठेक्का।

ललितपुर वडा ३ को बदमासी : सम्झौतै नगरी पूर्वसांसदको स्वकीय सचिवलाई पार्किङ ठेक्का

ललितपुर महानगरपालिका कार्यालय अगाडि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारीसाधनका लागि पार्किङ छुट्टाइएको छ। पार्किङ सञ्चालक वडा नम्बर ३ कार्यालय रहेको खुल्यो। 

सुल्क पर्किगं रसिदमा लेखिएको थियो दुई पाङग्रे  १०,  कार, जिप, भ्यान रु ३०। सर्त चैँ‘आफ्नो जिम्मेवारीमा पार्किङ गरौँ।’ अर्थात् पार्किङमा राखिएका सवारीसाधनमा केही भए आफैँ जिम्मेवार।

चिटमा १० र ३० लेखिए पनि पैसा उठाउने कर्मचारीले बाइकको २० रुपैंया लिए। चिटमा त १० लेखिएको छ भन्दा ती कर्मचारीले क्रिसमसपछि दोब्बर बढाएको उत्तर दिएर हिँडे।

ललितपुर महानगरको पार्किङमा बदमासी-१ : ठेक्का दिने दिल्ली कि डिल्ली ?

ललितपुर महानगरपालिकाको सडक क्षेत्रमा स्मार्ट भेहिकल पार्किङको अनुमति दिँदै २०७६ माघ १६ मा डिस्कभर सिटी प्रालिसँग सम्झौता गर्नेको नाम छ दिल्ली राज शाक्य। उनको पदीय हैसियत वरिष्ठ अधिकृत उल्लेख छ।

१० लाख धरौटी राखेर कुनै प्रतिस्पर्धा नै नगराई एकलौटी रूपमा पार्किङको पैसा उठाउने जिम्मेवारी पाएको प्रालिको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् सौरव रिमालले। उनको पदीय हैसियत हो सञ्चालक।

तर महानगरपालिकामा दिल्ली नाम गरेका कुनै अधिकृत नै फेला परेनन्। जानुका क्षेत्रीलाई साक्षी राखिएको सम्झौता पत्रमा महानगरपालिकाको तर्फबाट हस्ताक्षर गर्नेको स्ट्याम्प भने नाम डिल्ली राज शाक्य थियो।

वैशाख १, २०७८ बुधबार १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।