पढ्दा–पढ्दै कमाउने सूत्र : कृषि कालोपाटीमा होइन, माटोमा

पढ्दा–पढ्दै कमाउने सूत्र : कृषि कालोपाटीमा होइन, माटोमा

उनी विद्यार्थीहरूलाई कृषि कर्ममा प्रोत्साहन गर्छन्। आर्थिक अभावमा पढ्न नपाएका, प्राविधिक शिक्षा पढ्नबाट वञ्चित भएका विद्यार्थीलाई विद्यालयबाट बिना ब्याजमा ऋण उपलब्ध गराई कृषि गर्दै पढ्ने वातावरण मिलाउँछन्।

कृषि गर्न होस् या उच्च शिक्षा पढ्न देशका विभिन्न ठाउँका विद्यार्थीको रोजाइमा छ जनज्योति विद्यालय।

‘सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा’ भन्ने मूल उद्देश्यका साथ २०६८ देखि १५ महिने कृषि जेटिएबाट सुरु गरेको विद्यालयले विभिन्न तहमा कृषि तथा पशुपालनका क्षेत्रमा प्राविधिक शिक्षा दिँदै आएको छ।

जनज्योतिमा प्रारम्भिक कक्षा सिकाइदेखि १२ कक्षासम्मको औपचारिक शिक्षा पढाइन्छ। यसका अलावा विद्यालयले सिटिइभिटी अन्तर्गतको तीन वर्षे डिप्लोमा कृषि बाली विज्ञान र तीन वर्षे पशु विज्ञान, १८ महिने कृषि जेटिए, १८ महिने भेटेरिनरी जेटिए लगायतका विषयहरू पढाउँदै आएको छ।

कृषिमा केही गर्छु भन्ने विद्यार्थीका लागि विद्यालयको धरौटी रकमबाट ऋण लगानी गर्दै कृषिमा लाग्न प्रोत्साहन गर्दै आएको प्रधानाध्यापक नारायण सिग्देलले बताए।

‘कृषि कर्ममा केही गर्छु र पढ्दै कमाउँछु भन्ने विद्यार्थीका लागि लगानी विद्यालयले गर्छ, बजारको पनि जिम्मा विद्यालयले नै लिन्छ,’ प्रधानाध्यापक सिग्देलले भने, ‘अब विद्यार्थीलाई कृषि कालोपाटीमा होइन, माटोमा पढाउनुपर्छ।’

विद्यालयको यही सूत्रले तीन वर्षको अवधिमा प्राविधिक शिक्षामार्फत विद्यार्थी सफल भई आत्मनिर्भर र सिपमा पोख्त भएर यहाँको सन्देश देशभर फैलिएको उनको बुझाइ छ। 

तीन सय जना विद्यार्थी कृषकसँग

जनज्योति विद्यालयमा अध्ययन गरिरहेका तीन सय जना विद्यार्थी कृषकसँग प्रत्यक्ष जोडिएका छन्। ‘जे गर्छु, नैपालमै गर्छु’ लेखिएको टिसर्ट लगाएर बराहताल गाउँपालिका– ५ का तीन सय कृषकका कृषि अवस्था, बाली पहिचान, रोग, परम्परागत कृषि, समस्या र समाधानका उपायबारे जानकारी दिन तीन महिनासम्म विद्यार्थीहरू समुदायमा रहने छन्।

जसमा १८ महिने कृषि भेटेरिनरी, तीन वर्षे कृषि भेटेरिनरी, कक्षा ११ र १२ का तीन सय जना विद्यार्थीहरू ३० वटा समूहमा बाँडिएका छन्।

विद्यार्थीहरूलाई गाइड गर्नका लागि २० जना बराबर एक जना प्राविधिक शिक्षक रहेका छन्।

समुदायमा जाँदा विद्यार्थीहरूले कृषकलाई लौका, फर्सी, टमाटर, चिचिन्डा र करेला गरी पाँच प्रकारका तरकारीको बिउ दिएर सहकार्य गर्छन्। त्यही बिउलाई लगाएर नै कृषकका समस्या तथा चुनौतीहरूका बारेमा रिपोर्ट गर्नेछन्।

‘यो कार्यक्रमले प्राविधिक पाउँदैनौ, हाम्रा समस्या कसलाई सुनाउने? भन्ने जस्ता किसानका गुनासाको अन्त्य भएको छ,’ विद्यार्थीलाई गाइड गरिरहेका प्राविधिक शिक्षक डा. सरोज श्रेष्ठले भने, ‘कृषक र प्राविधिकहरूको सहकार्य भई उनीहरूका समस्याहरू फिल्डमा नै गएर पत्ता लगाउनाले यसको प्रभावकारिता बढेको छ।’

विद्यालयमा किताब मात्रै पढेर जाँच दिनुभन्दा किसानकै घर पुगेर प्रत्यक्ष प्रयोगात्मक गर्दा कृषक र विद्यार्थी दुवै पक्षलाई फाइदा हुने उनको भनाइ छ।

कृषकका समस्याहरूको पहिचान गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको तीन वर्षे कृषि भेटेरिनरी अध्ययन गर्दै आएकी कोपिला शाहीको अनुभव छ।

‘यसरी हामी प्रत्येक कृषकको घरमा नै गएर उनीहरूका कुरा सुनेर काम गर्दा विद्यालयमा किताब पढेभन्दा पनि धेरै ज्ञान मिलेको छ,’ उनले भनिन्, ‘परम्परागत कृषि, बालीको पहिचान र रोगका बारेमा थाहा पाई समस्या समाधान समेत गरेका छौँ।’

पहिला आफ्ना समस्या राख्न पनि कहाँ जाने होला भनेर अन्योल हुने गरेकोमा प्राविधिक पढ्ने विद्यार्थीहरू नै घरमा आई समस्या समाधान हुन थालेपछि सहज भएको बराहताल–५ का कृषक शेरबहादुर सलामीले बताए।

‘म परम्परागत कृषि गर्दै आएको थिएँ, पहिला–पहिला कृषिमा आएका समस्याहरू बताउन पनि कहाँ जाने होला भन्ने चिन्ता लाग्थ्यो,’ उनले भने, ‘अहिले कृषि प्राविधिकहरू घरमै आउँदा बाली कसरी लगाउने, यसको गोडमेल, औषधि–उपचार लगायतका कुरामा जानकारी भएको छ।’

हालसम्म जनज्योति विद्यालयबाट करिब ६ सय जना विद्यार्थीले विभिन्न विषय पढेर कुनै न कुनै व्यवसायमा संलग्न रहेको प्रधानाध्यापक सिग्देलले बताए।

पढ्दै, कमाउँदै !

दैलेखको महाबु गाउँपालिका–५ का १९ वर्षीय योगेश सिंह ठकुरी जनज्योति माध्यमिक विद्यालयबाट डिप्लोमा इन भेटेरिनरी पास गरेका युवा हुन्। उनले अहिले नेपालगन्जमा २२ बिघा जमिनमा एकीकृत कृषि फार्म सञ्चालन गरेका छन्। 

उनको फार्मले गत वर्ष ४० लाख रुपैयाँ बराबरको कारोबार गर्यो। फार्म सञ्चालनको झन्डै दुई वर्षमा योगेशले यो सिजनमा २५ लाख नाफा निकाल्ने गरी काम गरिरहेका छन्।

एसएलसी पास गरेपछि दैलेखबाट कृषि विज्ञान पढ्न योगेश चार वर्षअघि सुर्खेत आए। एक जना चिनेको दाइमार्फत उनी जनज्योति स्कुल पुगेका थिए। 

उनलाई कृषि विज्ञान पढ्न मन थियो। प्रवेश परीक्षा दिए तर पास भएनन्। भेटेरिनरी जेटिएमा भर्ना भए। कुल पढाइ सक्न चार लाख खर्च हुने विद्यालयले जानकारी गराएको थियो। उनले ६५ हजार रुपैयाँ पहिलो वर्षको लागि स्कुलमा तिरे पनि विद्यालयले त्यसै साल पढ्दै कमाउँदै भन्ने कार्यक्रम सञ्चालनमा ल्यायो।

विद्यार्थीहरूले आफ्नो योजना सहितको प्रस्ताव पेस गरे। विद्यालयले प्रतिव्यक्ति पाँच हजार रुपैयाँ पाउने भए। योगेशको समूहका पाँच जनाले २५ हजार पाए। त्यही पैसाबाट तेस्रो वर्षको अन्तिम परीक्षा सकेर फर्किँदा ९८ क्विन्टल बोइलर कुखुराको मासु, २ क्विन्टल माछा, ७ क्विन्टल हरियो तरकारी उक्त समूहले फलायो। 

त्यसबाट भएको आर्जनले खान, बस्न, पढाइको फी तिर्न र पकेट खर्चका लागि योगेशले एक पैसा पनि घरबाट ल्याउनु परेन। उनका साथीहरूको अवस्था पनि यस्तै थियो।

नेपालगन्ज मेडिकल कलेजले उपलब्ध गराएको उनको फार्ममा ३५ वटा बाख्रा, दुई बिघामा फैलिएको पोखरीमा माछा, झन्डै आठ बिघामा रिट्ठाको नर्सरी, ७ बिघामा धान, मकै गहुँ र ५ कठ्ठामा केरा र मेवा तथा ३ बिघामा हरियो तरकारी फलेका छन्। योगेशले खेतीपातीको सिजनमा स्थानीयलाई रोजगारी पनि दिने गरेका छन्।

यस्तै बराहतालकै १२ वर्षीय दीपेश मिजार पनि जनज्योति माविमा कक्षा ५ मा पढ्छन्। उनी कक्षाका प्रथम छात्र हुन्।

स्कुलका प्रधानाध्यापकलाई आग्रह गरेर दीपेशले गत फागुनमा १८ वटा कुखुरा किन्न सहयोग मागे। स्कुलले उनलाई कुखुराको चल्ला दियो। दीपेशले स्कुलमै १८ वटा चल्ला पाल्न सुरु गरे।

कोरोनाका कारण स्कुल लामो समय बन्द हुने अवस्था आयो। त्यही बिचमा उनले पालेका १८ मध्ये ७ वटा चल्ला स्कुलबाटै चोरी भए।

स्कुलमा चल्ला सुरक्षित नरहेपछि उनले घरमै ल्याएर ११ वटा लोकल कुखुराका चल्ला पाल्न थाले। १२ वर्षकै उमेरमा छोराले कुखुरा पाल्न रहर गरेपछि दीपेशलाई आमा सावित्राले बोइलर कुखुरा पनि किनिदिइन्।

तीन महिनामै दीपेशले खर्च कटाएर १२ हजार रुपैयाँ आम्दानी गरेको उनकी आमा बताउँछिन्।

छोराको रहरपछि घरमा अहिले चिकेन मिट सप खुलेको छ, आमा सावित्राले घर टोलभरि तयारी मासु बिक्री गर्छिन्।

उनी जस्तै कक्षा पाँचभन्दा माथि पढ्ने बालबालिकालाई विद्यालयले विभिन्न समूह बनाएर उनीहरूको चाहना अनुसारको कृषि उद्यममा लगानी गर्छ। सानै उमेरमा उद्यम सिकाउँछ। 

शेरबहादुर र दीपेश जस्तै सयौँ युवालाई जनज्योतिले व्यवसायी र आत्मनिर्भर बनाएको छ। 

चैत ३१, २०७७ मंगलबार ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।