बिजोग धनगढी बसपार्कको:  ५० बस क्षमतामा १५ सय, न शौचालय, न खानेपानी

बिजोग धनगढी बसपार्कको:  ५० बस क्षमतामा १५ सय, न शौचालय, न खानेपानी

५० बस अट्ने गरी बनाइएको बसपार्कमा अहिले सवारीसाधनको चाप थेगी नसक्नु छ। यात्रुको चाप उस्तै। जामले उस्तै हैरान बनाएको छ बस व्यवसायी र यात्रुलाई।

धनगढीमा सुदूरपश्चिम यातायातका मात्रै छ सय बस छन् भने कैलालीमै रहेका थप तीन वटा समितिका बस जोडेर १ हजार बढी बस सञ्चालनमा छन्।

अन्य जिल्लाबाट आएर ओहोर–दोहोर गर्ने गाडीको सङ्ख्या दैनिक १५ सयदेखि दुई हजार हाराहारीमा हुन्छ।

सुदूरपश्चिम यातायात व्यवसायी समिति कैलालीका प्रमुख देवीलाल जोशीले भने,‘यसको व्यवस्थापनका लागी कसैले पहल गरेका छैनन्,हामीले सरोकारवाला निकाय सँग छलफल थालेका छौँ।’

दुर्गन्ध फैलिँदै,सरोकारवालाहरू लाचार

धनगढी उपमहानगरपालिका र निर्माण कम्पनीको लापरबाहीका कारण बसपार्क निकै फोहोर छ। हजारौँ यात्रु आवत-जावत हुने बसपार्कमा दुर्गन्ध बढ्दै गएको छ।

बसपार्कको भित्रको सार्वजनिक शौचालय प्रयोगहीन अवस्थामा छ। यात्रुहरूको अत्यधिक चाप हुने धनगढी बसपार्कमा खानेपानीको समेत व्यवस्था गरिएको छैन।

‘धनगढीबाट काठमाडौँ जानु छ,अहिले टिकट काट्न आएको हुँ,एक घण्टा पछि बस हिँड्छ,’डोटीका तेज बमले भने‘तर यहाँ यस्तो दुर्गन्धमा कसरी बस्नु,खानेपानी र शौचालयको पनि व्यवस्था छैन।’

गुनासो यात्रुको मात्र हैन बस व्यवसायीहरू पनि व्यवस्थापन फितलो बन्दा बसपार्क अस्त–व्यस्त वनेको बताउँछन् ।

‘हामी पनि नियमित बसपार्क उपयोग गरेबापत ठेकेदारलाई शुल्क बुझाउँछौँ,’सवारी चालक कर्ण बहादुर भण्डारी भन्छन्‘बसपार्क व्यवस्थापन गर्न पनि भनेका छौँ तर ठेकेदारले नसुनेझैँ गर्छन्।’

धनगढी उपमहानगरपालिकाले बसपार्क वार्षिक ७५ लाख तिर्ने गरी एक वर्षको लागी रेखा निर्माण सेवालाई ठेक्कामा दिएको छ। नयाँ ठेक्का सुरु भएको २ महिना नबित्दै अस्तव्यस्त बनेको बसपार्क अहिले एक वर्ष पुरा हुँदा पनि उति हालतमा छ।

कम्पनीका प्रोप्राइटर जनक शाही बसपार्कको शौचालय, खानेपानी व्यवस्थापनको जिम्मा आफ्नो नभएको बताउँछन्।

‘मैले ठेक्कामा लिएर बसपार्क सञ्चालन गरिरहेको छु,’शाहीले भने‘मैले त मासिक रूपमा नगरपालिकालाई भाडा बुझाउँछु, बसपार्क व्यवस्थापन उप–महानगरपालिकाले गर्नुपर्छ।’

यता धनगढी उपमहानगरपालिका बसपार्कको समस्याबारे बेखवर झैँ छ। उप–महानगरपालिका प्रवक्ता सन्तोष मुडभरिले बसपार्कको  सबै जिम्मा ठेकेदार कम्पनीलाई नै दिएको दाबी गर्छन्।

‘हामीले सबै जिम्मा दिएर नै ठेक्का सम्झौता गरेका हौँ,व्यवस्थापन गर्न हामी निर्देशन दिन्छौँ,ठेकेदारले अटेरी गरे ठेक्का प्रक्रिया रुद्ध गरी हामी आफैँले व्यवस्थापन गर्छौँ’ उनले दाबी गरे।

नयाँ योजना डेढ दशकदेखि अलपत्र

बसपार्कलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन भन्दै धनगढीमा नयाँ बसपार्क बनाउने योजना ल्यायो। बारोडाँडीस्थित नेपाली सेनाको ब्यारेक पछाडि सेनाकै संरक्षणमा रहेको जग्गामा बसपार्क बनाउने योजना अघि सारिएको थियो।

तर, त्यहाँ बसपार्क बनाउने योजना जग्गासम्बन्धी विवादले रोकिएपछि नयाँ जग्गा खोज्ने काम अगाडि बढ्न सकेन। डेढ दशकसम्म पनि बसपार्क निर्माणका लागि सार्वजनिक जग्गा नपाउँदा बसपार्क निर्माणको काम अघि बढ्न नसकेको धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताए।

‘सेनाले सुरक्षाका दृष्टिकोणले राम्रो हुँदैन भनेर जग्गा दिएन,’ इन्जिनियर भट्टले भने ‘बनसँग पनि अनुमति माग्दा स्वीकृति नदिएपछि काम त्यसै रोकियो।’

सो जग्गा वन क्षेत्रमा पर्छ। पहिले सेनाले मौखिक रूपमा सहमति दिएपछि उपमहानगरपालिकाले ग्राभेल हालेर पार्किङ गर्न सुरु गर्न खोज्दा पछि सेनाले डोजर नै चल्न दिएन।

त्यसयता बसपार्कका लागि जग्गा खोज्ने काम स्थगित गरिएको भट्टले बताए। पायक पार्ने ठाउँमा सार्वजनिक जग्गा अभाव भएकै कारण बसपार्क निर्माणको काम अलपत्र अवस्थामा रहेको उनको भनाइ छ।

दिनप्रतिदिन धनगढीमा गाडीको चाप बढ्दै जाँदा पनि धनगढी उपमहानगरपालिकाले बसपार्क निर्माणका लागि तदारुकता देखाएको छैन। बसपार्क निमार्णको लागी जग्गा नपाइएको भन्दै उपमहानगरपालिकाले टार्ने गरेको छ।

यद्यपि मेयर नृप वडले भने नयाँ बसपार्क निर्माणका लागी प्रक्रिया अन्तिम चरणमा रहेको दाबी गर्छन्।

‘बसपार्कका लागि राजमार्ग नजिक र बजारभन्दा अलि टाढाको क्षेत्र आवश्यक हुन्छ,’मेयर वडले भने,‘त्यसका लागि पनि कम्तीमा पाँच बिघा जमिन चाहिन्छ,हामीले आवश्यक तयारी सबै गरिसकेका छौँ,अव छिट्टै नयाँ बसपार्क निर्माण प्रक्रिया सुरु हुन्छ।’

चैत ३०, २०७७ सोमबार ०७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।