विदेशबाट भित्रिँदै छ औलो 

विदेशबाट भित्रिँदै छ औलो 

काठमाडौं : आर्थिक वर्ष ०७३/७४ मा देशभर १ हजार १ सय २८ जनामा औलोको संक्रमण देखियो। तीमध्ये विदेशबाट फर्किएका ६ सय ३६ जना र स्थानीय स्तरमै रहेका ४ सय ९२ जना रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

आर्थिक वर्ष ०७४/७५ मा देशभर औलो संक्रमितको संख्या थियो १ हजार १ सय ८७। तीमध्ये विदेशबाट फर्किएका ६ सय ३० जना थिए भने स्थानीय स्तरमै रहेका ५ सय ५७ जना। 

आर्थिक वर्ष ०७५/७६ मा औलो संक्रमितको संख्या १ हजार ६५ थियो, जसमा विदेशबाट फर्किएकाको संख्या ६ सय २५ छ भने स्थानीय स्तरमै रहेका संक्रमितको संख्या ४ सय ४० छ। 

गत आर्थिक वर्षमा देशभर ६ सय १९ जनालाई औलो संक्रमण देखियो। तीमध्ये विदेशबाट फर्किनेको संख्या ५ सय १७ जना थियो भने स्थानीय स्तरमै रहेकाको संख्या १ सय २ जना। 

चालू आर्थिक वर्षमा २ सय २२ जनामा औलो संक्रमण देखिएकोमा १ सय ७६ विदेशबाट फर्किएका व्यक्ति छन्। ४६ जना मात्रै स्थानीय स्तरमा रहेको व्यक्ति हुन्। 

पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा देशभर विदेशबाट औलो भित्रिरहेको देखाउँछ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्यरोग शाखा प्रमुख डा. प्रकाशप्रसाद शाहले भारतबाट स्थलमार्ग हुँदै फर्किएका कोरोना भाइरस (कोभिड–१९) संक्रमित बसेको क्वारेन्टिनमा क्वारेन्टिनमा औलो (मलेरिया) देखिएको जानकारी दिए। 

डा. शाहले भने, ‘केही महिनाअघि कोरोना संक्रमित रहेको क्वारेन्टिनमा औलोको टेस्ट गर्दा ४३ जनाभन्दा बढीमा मलेरिया देखिएको थियो।’ 

भारतमा ज्याला–मजदुरी गरेर फर्किएका व्यक्ति र अफ्रिकन मुलुकमा शान्ति सुरक्षार्थ पुगेर फर्किएका नेपाली सुरक्षाकर्मीमा औलोको संक्रमण देखिने गरेको महाशाखाका शाखा प्रमुख डा. शाहले जानकारी दिए। 

सुदूरपश्चिम उच्च जोखिममा 

गत आर्थिक वर्षमा प्रदेशगत आधारमा सबैभन्दा बढी सुदूरपश्चिममा औलो संक्रमित देखिएका छन्। त्यहाँ ३ सय २७ जनामा औलो संक्रमण देखिएको छ। यसले सुदूरपश्चिम औलो संक्रमणको उच्च जोखिममा रहेको देखाउँछ। 

त्यसपछि कर्णालीमा ५२, लुम्बिनीमा ४३, प्रदेश २ मा ३५, गण्डकीमा २६, बाग्मतीमा २२ र प्रदेश १ मा १४ जनामा औलो देखिएको थियो। 

‘हेलचेक्रयाइँ नगरौं’ 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भारतबाट फर्किएका संक्रमित व्यक्तिमार्फत औलो भित्रिनसक्ने भएकाले हेलचेक्रयाइँ गर्न नहुने सुझाउँछन्। उनले भने, ‘नेपाल भित्रिनेलाई परीक्षण र रोग देखिहाले नियन्त्रणमा ध्यान दिनुपर्छ।’ 

महाशाखाका शाखा प्रमुख डा. शाह भने स्थलमार्ग हुँदै भारतबाट फर्कने व्यक्तिमा कोरोना परीक्षणसँगै औलोको जाँच गरिएको दाबी गर्छन्। उनले भने, ‘भारतबाट फर्किएकालाई ज्वरो देखिए औलो परीक्षण गर्छाैं।’ 

डा. शाहले औलो देखिएको ठाउँमा विषादी छर्किने बताए। कोरोना भाइरसका कारण औलोे नियन्त्रणमा चुनौती देखिए पनि परीक्षण तथा रोग नियन्त्रणको काम नरोकिएको उनको दाबी छ। 

तराई क्षेत्रमा मात्रै देखिने गरेको यो रोग पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा देखिएको चिकित्सक बताउँछन्। पहाड र हिमालमा औलो देखिनु चुनौती भएको डा. पुन बताउँछन्। 

जलवायु परिवर्तन, बढ्दो सहरीकरण, प्रदूषण, यातायातको सहज पहुँच जस्ता कारणले पहाडी तथा हिमाली जिल्लामा औलो संक्रमण देखिएको चिकित्सकको भनाइ छ। 

औलो संक्रमितको उपचार भइरहेकाले पछिल्लो समय यसको संक्रमण कम देखिए पनि जोखिम कायमै रहेको डा. पुन बताउँछन्। 

यस्ता छन् लक्षण 

औलोको मुख्य लक्षण ज्वरो रहेको चिकित्सक बताउँछन्। डा. पुनका अनुसार औलोको संक्रमण भएको अवस्थामा उच्च ज्वरो (१०३–१०४ फरेनहाइट) आउँछ। 

औलोका बिरामीमा ज्वरो आउनुबाहेक पसिना आउने, जाडो हुनेजस्ता लक्षण देखिने चिकित्सक बताउँछन्। डा. शाहले ज्वरो आउने अन्तराल पनि फरक हुने बताए। उनले भने,‘सामान्यतः दिन बिराएर ज्वरो आउँछ।’

बेलैमा उपचार नपाएको अवस्थामा कलेजो लगायत शरीरका अंगमा नकारात्मक असरगरी व्यक्तिको मृत्युसमेत हुने चिकित्सक बताउँछन्। त्यसैले बेलैमा रोगको पहिचानगरी औषधि–उपचार गर्न चिकित्सकको सुझाव छ। डा. पुनले भने, ‘यो रोग आफैं निको हुँदैन। उपचार आवश्यक हुन्छ।’

औलो रोग लागे निःशुल्क उपचार हुने भएकाले बेलैमा उपचार गर्न महाशाखाका शाखा प्रमुख डा. शाह सुझाउँछन्। 

चैत २७, २०७७ शुक्रबार ०६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।