‘लालपुर्जा छैन, सम्पत्ति भनेकै यही सारङ्गी’

‘लालपुर्जा छैन, सम्पत्ति भनेकै यही सारङ्गी’

सुर्खेत : ‘आमा यो रूपले के गर्यो, कर्मले भिखारी बनायो। ज्यान त मेरो कुर्चीमा बसने, कर्म रहिछ खरानी घसने।’

वीरेन्द्रनगर नगरपालिका– ३ का गोरे गन्धर्व सारंंगीको माध्यमबाट आफ्नो पीडा र व्यथा पोख्दै थिए। उमेरले ६५ वर्ष नाघेका उनको दैनिकी बजारमा यसरी नै सारङ्गी बजाएर गाउँदैमा बित्छ।

गोरे गन्धर्वको परिवार पाल्ने एक मात्र माध्यम भनेकै सारङ्गी हो। विगत ५३ वर्षदेखि उनले सारङ्गी बजाएरै आफ्नो जीविका चलाइरहेका छन्। उनका पुर्खाले पनि यसरी नै सारङ्गी रेटेर गाउँदै घर व्यवहार चलाउँथे।

उनी ४ वर्षको हुने बेला आमा बितिन्। आफ्ना बुबाको पछि–पछि लागेर झोला बोकी गाउँ जाने गारेले १२ वर्षको उमेरदेखि नै बुबाले बजाएको सुनेर आफैँ बजाउन थाले। 

बुबाको मृत्युपश्चात् घरको सबै जिम्मेवारी गोरेमाथि थुप्रियो। दिनभर गाउँमा सारङ्गी बजाउँदै गीत गाएर उठाएको मानो–मुठो ल्याएर घरमा सौतेनी आमा र भाइ–बहिनीलाई पाल्थे। 

‘सानै उमेरमा बुबाको पछिपछि झोला बोकेर जान्थेँ, बुबाले बजाएको देखेर मैले पनि १२ वर्षको उमेरदेखि सारङ्गी बजाउन सुरु गरेँ,’ गोरेले भने, ‘आमा पहिल्यै बित्नुभयो पछि बुबा पनि बितिहाल्नुभयो, घरमा सौतेनी आमा र भाइ–बहिनीलाई पालन–पोषण सबै गर्नुपर्ने जिम्मेवारी ममाथि आयो, अनि सारङ्गी बजाएरै घर–व्यवहार चलाएँ।’

त्यो बेला दिनभर गाउँ डुले पनि ८—१० पाथी धान, मकै, कोदो हुने गरेकोमा अहिले २–३ सय रुपैयाँ मात्र हुने गरेको गोरेले बताए।

पछिल्लो पुस्ताले यो पेसा गर्न लाज मान्नु र श्रम अनुसारको कमाइ हुन नसक्दा गन्धर्व जातिको मुख्य पेसा सारङ्गी लोप हुने अवस्थामा पुगेको उनी बताउँछन्।

‘पहिला हाम्रो पुर्खाले पनि सारङ्गी बजाएरै जीवन बितायो। हामी पनि यही बजाउँदा–बजाउँदै बुढो भइसक्यौँ। तर अहिलेका युवा पुस्ताहरू यो पेसा गर्न लाज मान्छन्,’ उनले भने, ‘अलि पैसा आउने र गीतमा बजाउने माथिका ठुलै हुन्छन्, गाउँमा बजाएर मानो–मुट्ठी कसले उठाउँछ भनेर मेरा छोराहरू त लेबर काम गर्छन्, यो काम गर्न रुचाउँदैनन्।’

पूर्वतिर केटाहरूले सारङ्गी बजाउँदै गाएर जीविका चलाए पनि पश्चिममा यसको सम्मान र नयाँ पुस्ताले रुचि नदेखाउँदा गन्धर्व जातिको यो पेसा लोप हुन थालेको गन्धर्व समुदायको भनाइ छ।

राष्ट्रिय कालाकार बन्ने लक्ष्य राखेका गन्धर्व पढालेखा र पहुँच नभएकै कारण पछि परेको दुखेसो गर्छन् उनी।

‘मेरो लक्ष्य त राष्ट्रिय कालाकार बन्ने थियो, के गर्नु पढालेखा परिएन, आफ्नो मान्छे पनि कोही भएन। अहिले यसरी गाउँ चहार्दै भिखारी जस्तो हिँड्नु परेको छ। हामीसँग सात पुस्तादेखि लालपुर्जा छैन, लालपुर्जा र सम्पत्ति भनेकै यही सारङ्गी हो।’

अलि पैसा आउने र केही गर्ने ठाउँमा माथिल्लो जातकाले सारङ्गी बजाउन थालेपछि आफूहरू ओझेलमा परेको उनले गुनासो गरे।

गोरेका तीन छोरी र दुई छोरा छन्। एक छोरीको बाहेक सबैको बिहे पनि भइसकेको छ। उनकी छोरीलाई बेला–बेला मुटु दुख्ने समस्या छ। श्रीमतीलाई पनि टाउकोको समस्या छ। उपचार खर्च जुटाउन पनि हम्मेहम्मे परेको गन्धर्वले बताए।

कोरोनाका कारण गाउँतिर घुम्न नपाएपछि गोरेको परिवारले थुप्रै समस्या भोग्नु प¥यो। साहुबाट उधारो खाएको चामलको पनि पैसा तिर्न सकेका छैनन् उनले। 

भोट माग्दा यो ‘जातिलाई यसो गर्छौँ, उसो गर्छौँ। बजाउन घरघरमा जाने होइन, उल्टै सुन्न आउने बनाउँछौँ’ भनेर नेताहरूले दिएको झुटो आश्वासन अहिले पनि झलझली सम्झिने गरेको बताउँछन् उनी। भन्छन्, ‘पहिला आश्वासन दिन्छन्, पछि वास्ता गर्दैनन्।’

चैत २१, २०७७ शनिबार ०७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।