बिबिएस पास गरेका मुरारी कालो धान खेतीमा रमाउँदै

बिबिएस पास गरेका मुरारी कालो धान खेतीमा रमाउँदै

सुर्खेत : वीरेन्द्रनगर–१०, खजुराका मुरारीजंग थापा (सुवास) बिबिएस उत्तीर्ण गरेका युवा हुन्। २०५८ सालमा एसएलसी पास गरेका उनले एक वर्षसम्म गैरसरकारी संस्थाको स्वास्थ्य र खानेपानी तथा कृषि परियोजनामा काम गर्दै अध्ययनलाई पनि निरन्तरता दिए।

बिबिएस पढ्नेहरूको रहर सामान्यतया बैङ्क तथा वित्तीय संस्थामा काम गर्ने रहर हुन्छ। तर अहिले उनी अर्गानिक कृषि पेसालाई अँगाल्दै कालो धान उत्पादन गरेर कृषि उद्यममा रमाइरहेका छन्।

नेपालमा बेरोजगार युवाहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेका बेला मुरारी भने ‘वीरेन्द्रनगर अर्गानिक कृषि फर्म’ मार्फत कृषि कर्म गरिरहेका छन्।

उनले वीरेन्द्रनगर– १०, भुवानपुरस्थित आफ्नो १० कठ्ठा र थप २५ कट्ठा भाडामा लिएर कालो धान लगाउँदै आएका छन्। 

चैत र असारमा गरी उनले दुई पटक कालो धान लगाउँदै आएका छन्। मङ्गलवार मात्रै मुरारीले १० कट्ठा जग्गामा कालो धान लगाएका छन्। चैत महिनाभरि रोपाइँ गर्छन् र असारमा त्यो धान काटेर फेरि रोप्छन्।

कृषिलाई बढी प्राथमिकता दिने प्रोजेक्टमा काम गरेका कारण पनि आफ्नै ठाउँबाट कृषिमा केही नमुना काम गरी अन्य कृषकलाई पनि प्रेरित गर्ने उद्देश्यले कालो धान उत्पादनमा लागेको उनले बताए। जग्गाको भाडा, बिउ खरिद, अर्गानिक मल खरिद र कामदारको ज्याला कटाएर वार्षिक ३ लाखसम्म आम्दानी हुने उनको भनाइ छ।

कर्णालीले वर्षेनी विषादीयुक्त चामल बाहिरबाट आयात गरिरहेको छ। उनले उत्पादन गर्ने कालो चामल भने अर्गानिक छ। प्रदेशभित्रै बहुउपयोगी कालो चामल उत्पादनले नागरिकको स्वास्थ्यमा फाइदासँगै प्रदेश सरकारले लिएको अर्गानिक प्रदेशको सपना पूरा हुने थापाको विश्वास छ।

‘हामी गरिब प्रदेशका नागरिक भनेर चिनिन्छौँ, बाहिरबाट महँगो मूल्यमा विषादीयुक्त चामल ल्याएर खान्छौँ,’ उनले भने, ‘यहाँ उत्पादन गरिएको अर्गानिक चिजलाई भने वास्ता गर्दैनौँ।’ बाहिरबाट आएका त्यस्ता उत्पादनले नागरिकको आर्थिक र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिरहेको उनले बताए।

चार वर्षदेखि कृषि फर्मबाट कालो चामल र धानको बिउ उत्पादन गरिरहेका उनले स्थानीय, प्रदेश र केन्द्र सरकार तथा कुनै सङ्घ–संस्थाबाट समेत अनुदान पाएका छैनन्।

‘मैले कर्णालीमै पहिलो पटक कालो चामल उत्पादन हुने धानको खेती गर्दै आएको छु, तर मलाई स्थानीय, प्रदेश र केन्द्र सरकारका कुनै पनि कार्यक्रमले प्रोत्साहन गर्न सकेको छैन,’ उनले भने, ‘यो धानको बिउ र चामललाई बजार प्रवर्द्धन तथा विस्तार गरे आधुनिक कृषिमा सहयोग पुग्नेछ।’

मुरारीले कालो मकैको पनि परीक्षण गरेर सफल भएपछि अब उत्पादन गर्न थालेका छन्। योसँगै अब उनले माछा पालन व्यवसायलाई पनि अगाडि बढाएका छन्।

कर्णाली प्रदेशका विभिन्न जिल्ला र काठमाडौँ लगायतका सहरहरूमा कालो धान, यसको चामल र बिउको माग हुँदै आएको छ। 

हरेक कृषकलाई कालो धान उत्पादनमा लाग्न प्रेरित गर्ने र कर्णालीलाई कालो चामलको क्षेत्र बनाउने उनको उद्देश्य छ।

‘तीन बिघा खेतमा मैले यो वर्ष कालो धान रोप्ने तयारी गरेको छु,’ युवा कृषक मुरारीजंग थापाले भने, ‘गत वर्ष मैले २८ कट्टा खेतमा यो धान रोपेको थिएँ। ४० क्विन्टल उत्पादन भएकोमा २० क्विन्टल चामल बिक्री भइसकेको छ। बाँकी २० क्विन्टल चामल पनि केही दिनमा नै बिक्री हुने छ। यसका लागि काठमाडौँ, नेपालगन्जबाट माग आइसकेको छ।’

उनले प्रतिक्विन्टल ४० हजारका दरले कालो चामल होलसेल मूल्यमा बिक्री गरिरहेको बताए। ‘यो चामल प्रतिकिलो पाँच सय रुपैयाँको दरमा खुला रूपमा नै बिक्री गर्दै आइरहेको छु,’ उनी भन्छन्, ‘सात लाख रुपैयाँ सुरुमा लगानी गरेको थिएँ। अहिले २० लाख पुर्याइसकेको छु।’ 

‘कालो धानलाई प्रदेशभरि विस्तार गर्न सहयोग गर्छौँ’

कर्णाली प्रदेश सरकारकी भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कालो धान पौष्टिक तत्त्वले भरिपूर्ण हुने र प्रदेशभर विस्तार गर्न सहयोग गर्ने बताइन्।

उनले कृषि क्षेत्रमा लाग्ने युवाले नयाँ प्रयोग गरेको बताउँदै कृषि क्षेत्रमा नै युवा लाग्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताइन्। ‘हामीले ठुला किसानका लागि व्याज तिर्ने कार्यक्रम ल्याइसकेका छौँ। साना किसानका लागि सहुलियतपूर्ण ऋण दिने योजना बनाइरहेका छौँ,’ उनले भनिन्।

‘कृषि क्षेत्रमा केही गरौँ भन्ने चाहना भएका युवाका लागि सरकारले आवश्यक सहयोग गर्न विभिन्न योजना ल्याएको छ,’ मन्त्री केसीले भनिन्, ‘अहिले प्रदेशभरि नै कृषि क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याइएको छ। कृषकलाई आवश्यक फाइदा लिन अनुरोध छ।’ 

कालो धानका फाइदा

कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहर भवन ललितपुरले कृषि डायरी २०७६ मा ११२ नम्बरमा कालो धानको पञ्जीकरण गरेको छ। जो धान तराई, भित्री मधेस, पहाड, उपत्यका र बेसीहरूमा उत्पादन गर्न सकिन्छ। 

कालो चामलमा एन्टिअक्सिड, फाइबर, आइरन, प्रोटिन, न्यून काब्रोहाइड लगायतका पौष्टिक तत्त्वहरू पाइन्छ। एक कठ्ठामा ३ किलोको दरले लगाउँदा एक क्विन्टलसम्म उत्पादन हुन्छ।

चैत २०, २०७७ शुक्रबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।