कर्णालीमा एमाले र माओवादी केन्द्रले बोलाए संसदीय दलको बैठक
सुर्खेत : नेकपा एमाले र माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलको बैठक बोलाएका छन्।
नेकपा एमालेले यही चैत २२ गते कर्णाली प्रदेश संसदीय दलको बैठक बोलाएको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।
‘प्रदेशमा पार्टीको एकल सरकार गठन गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हौं,’ उनले भने।
यसअघि यही चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति एमाले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसद्ले असन्तुष्टि जनाएका थिए।
संसदीय दलको आगामी बैठकमा आफूहरू सहभागी हुने खनाल–नेपाल समूहका सांसद सुशील थापाले बताए। ‘संसदीय दलको आगामी बैठकमा हामी पनि सहभागी हुन्छौं,’ उनले भने, ‘पार्टीको संसदीय दलको बैठकमा उपस्थित नहुने भन्ने हुँदैन।’
नेकपा माओवादी केन्द्रले यही चैत २१ गते प्रदेश संसदीय दलको बैठक बोलाएको संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन्।
बैठकमा सरकारलाई विश्वासको मत लिने सम्बन्धमा छलफल हुने बताइएको छ।
चैत १९, २०७७ बिहीबार १८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।