दूषित पानी बिक्री गर्ने सुर्खेतका दुई कम्पनीलाई जरिवाना
सुर्खेत : जिल्ला अदालत, सुर्खेतले लेउ, कीरा परेको दूषित पानी बिक्री गरेको भन्दै सुर्खेत वीरेन्द्रनगरका दुई पानी उद्योगलाई जरिवानाको फैसला गरेको छ।
प्रशोधित भन्दै दूषित पानी बिक्री गरेको पुष्टि भएपछि अदालतले देउती दर्शन वाटर एण्ड बेभरेज इन्डस्ट्रिज प्रालिलाई ५० हजार रूपैयाँ र मध्यपश्चिम वाटर एण्ड बेभरेज इन्डस्ट्रिज प्रालिलाई एक लाख रूपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो।
अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले देउती दर्शनका सञ्चालक बखत भण्डारी र मध्यपश्चिम वाटरका सञ्चालक कृष्ण आचार्यलाई जरिवाना गर्ने फैसला गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुर्खेतले आचार्यविरुद्ध दुई र भण्डारी विरुद्ध एक गरी अदालतमा दुषित खाद्य वस्तु (पानी) उत्पादन तथा बिक्री वितरणसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
कार्यालयले दुवै उद्योगले उत्पादनमा गरेको पानीको बोत्तल तथा जारमा लेउ, किरा भेटिएका प्रतिवेदनसहित खाद्य प्रविधिले गत फागुन २८ गते अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अदालतले चैत १ गते कसुर ठहर गरी सजाय निर्धारण अवधिसम्मको लागि एक÷एक लाख रूपैयाँ धरौटी लिने आदेश दिएको थियो। चैत ९ गते मुद्दालाई किनारा लगाइएको अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।
चैत १७, २०७७ मंगलबार २१:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।