कर्णालीमा आफ्नै पार्टीको सरकार बनाउन एमालेकाे दुवै समूहका सांसद् छलफलमा
सुर्खेत : कर्णाली प्रदेशमा आफ्नै पार्टीको सरकार बनाउन नेकपा एमालेको दुवै (पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल) समूहका सांसद् छलफलमा जुटेका छन्।
पार्टीलाई एक ढिक्का बनाउने भन्दै एमालेको दुवै समूहका सांसद् प्रदेशसभामा आफ्नै पार्टीको सरकार बनाउन आन्तरिक छलफलमा जुटेका हुन्।
कर्णाली प्रदेशमा अहिले माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकार छ।
एमालेको कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले एमालेको सरकार बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद् र मन्त्रीसँग छलफल भइरहेको जानकारी दिए।
‘कर्णाली प्रदेशसभाका सबै सांसद् र मन्त्रीज्यूसँग छलफल भइरहेको छ। दलको निर्णयलाई कार्यान्वयन गर्ने र एमालेको एकल सरकार बनाउने गरी अगाडि बढेका छौं,’ ओली पक्षधर नेता कँडेलले भने, ‘सरकारले नैतिकताका आधारमा राजीनामा दिए ठिकै छ, नभए प्रक्रियागत ढंगबाट नयाँ सरकार गठनतिर अगाडि बढ्छौं।’
यता खनाल–नेपाल समूहका नेताले भने पार्टीलाई एक ढिक्का बनाउन एमालेको सरकार गठन गर्नेबारे छलफल चलिरहेको बताउँछन्।
उक्त समूहका प्रदेशसभा सदस्य सुशील थापाले पार्टीको एकल सरकार बनाउन आन्तरिक छलफल भइरहेको बताए।
‘पहिलेको जस्तो परिस्थिति अब रहेन। अहिले गुट–उपगुट भन्दा पनि एमालेको एकल सरकार बनाउनुपर्ने आवश्यकता छ,’ प्रदेशसभा सदस्य थापाले भने।
खनाल–नेपाल समूहका अर्का सांसद् अम्मरबहादुर थापाले एमालेको एकल सरकार बनाउने विषयमा पार्टीका दुवै समूहबीच छलफल र वार्ता भइरहेको जानकारी दिए।
एमालेको कर्णाली प्रदेश संसदीय दलले गत चैत ४ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
उक्त निर्णयप्रति खनाल–नेपाल समूहका सांसद्ले असन्तुष्टि जनाएका थिए। उक्त निर्णय गुटगत बैठक गरेको भन्दै नेपाल समूहका सांसद्ले मुख्यमन्त्री शाहीलाई आफूहरूको समर्थन कायमै रहेको बताएका थिए।
सांसद् सुशील थापाले सरकारलाई दिएको समर्थन फिर्ताबारे एमाले संसदीय दलले गरेको निर्णयलाई सबैले समर्थन गर्ने बताए।
‘विभिन्न परिवेशमा जे–जस्ता घटना–परिघटना भए पनि अहिले हामी सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने पक्षमा छौं। अब मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनपर्छ,’ उनले भने, ‘उहाँ (मुख्यमन्त्री)ले दुई दिन भए पनि सरकारमा बस्न पाइन्छ भन्ने सत्ता मोह त्याग्नुपर्र्छ।’
उनले पार्टीको तर्फबाट सरकारमा रहेका तीनै जना मन्त्रीहरूले चाँडै राजीनामा दिने र तत्काल एमालेको एकल सरकार बनाउने गरी गृहकार्य भइरहेको बताए।
४० जना सदस्य भएको प्रदेशसभामा बहुमतका लागि २१ सांसद् आवश्यक पर्छ।
प्रदेशसभामा एमालेका सभामुखसहित २० जना सांसद् छन्, जसमा ओली समूहमा ११ र खनाल–नेपाल समूहमा ९ जना सांसद् छन्। यस्तै, नेकपा माओवादी केन्द्रका १३ सांसद् छन्। तीमध्ये धर्मराज रेग्मी नेकपा एमालेमा गएका छन्।
यसैगरी, प्रदेशसभामा कांग्रेसका ६ र राप्रपाको १ सिट छ।
याे अवस्थामा एमालेलाई सरकार बनाउन आवश्यक बहुमत पुग्छ।
माओवादी केन्द्रले सांसद् रेग्मीलाई कारबाही गरे पनि एमालेलाई सरकार बनाउन बहुमत पुग्ने देखिन्छ। यो अवस्थामा रेग्मीको पद गुमेर प्रदेशसभामा कूल सदस्य संख्या ३९ मात्रै हुनेछ। र, एमालेकाे बहुमत पुग्ने छ।
चैत १६, २०७७ सोमबार १९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।