७ जिल्लामा कोभिड अस्पताल बनाउने कर्णाली प्रदेश सरकारको निर्णय

७ जिल्लामा कोभिड अस्पताल बनाउने कर्णाली प्रदेश सरकारको निर्णय

सुर्खेत : कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोभिड अस्पताल र सबै नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुम पश्चिमको चौरजहारीमा सुविधा सम्पन्न आइसियुसहितको अस्पतालको व्यवस्था गर्ने निर्णय गरेको छ। 

भारतलगायत देशमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुनः बढ्दै गएपछि त्यसको असर नेपालमा पर्ने भएकाले कोरोना संक्रमण नियन्त्रणका लागि यस्तो निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिइन्।

यस्तै, बैठकले ‘कोभिड–१९’ संक्रमणसम्बन्धी जानकारी आदानप्रदान गर्न हटलाइन कल सेन्टरको व्यवस्था गर्ने निर्णय गरेको उनले बताइन्। उक्त कल सेन्टरको व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने छ। 

बैठकले सार्वजनिक यातायातमा यात्रुलाई मास्क प्रयोग अनिवार्य गर्न लगाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत बस व्यवसायीहरूलाई अनुरोध गर्ने, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालना सम्बन्धी व्यापक प्रचारप्रसार गर्ने र प्रवेश नाकामा ‘कोभिड–१९’ को लक्षण देखिएका व्यक्तिलाई अनिवार्य होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको मन्त्रीले केसीले जानकारी दिइन् । 

उनका अनुसार कर्णाली प्रदेशका जनतालाई पुग्ने खोप उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने, त्यसो हुन नसके प्रदेश सरकारले खोपका लागि पहल गर्ने, स्वास्थ्यसम्बन्धी कार्यको लागि खटिएको साविकको जनशक्ति परिचालन, प्रदेश सरकारको नयाँ भवन सञ्चालन गर्न शय्यासहित आन्तरिक व्यवस्थापन र बजेटको लागतअनुमान सामाजिक विकास मन्त्रालयले तयार पारी पेश गर्ने निर्णय गरिएको छ।

खासगरी ‘कोभिड–१९’ सम्बन्धी सुरक्षा मापदण्ड पालना नियन्त्रणका सम्बन्धमा सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य सेवा निर्देशनालय र सुरक्षा निकायले शीघ्र बैठक बसी आवश्यक निर्णय लिने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिइन्। 

यसैगरी, बैठकले भारत लगायतका विभिन्न देशबाट फर्किने नागरिकको स्पष्ट विवरण राख्ने निर्णय पनि गरेको छ। यसका लागि प्रदेश प्रवेश गर्ने नाकामा भारतबाट आउने नागरिकको फोन नम्बर र ठेगानासहित स्पष्ट विवरण राख्ने व्यवस्था मिलाउन प्रदेश प्रहरी कार्यालयलाई जिम्मा दिइएको छ। 

‘रोजगारीका लागि भारत गएका नागरिक नेपाल फर्कंदै छन्,’ प्रवक्ता केसीले भनिन्, ‘घर फर्कने नागरिकको मोबाइल नम्बर, स्पष्ट ठेगानाको अभिलेख राखी उपलब्ध गराउने व्यवस्थाका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतलाई समन्वयात्मक निर्देशन गरिएको छ।’

चैत १५, २०७७ आइतबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।