कोरोना संक्रमितको उपचारले १८ दिनसम्म थलिएका डाक्टर 

कोरोना संक्रमितको उपचारले १८ दिनसम्म थलिएका डाक्टर 
तस्बिरहरू : कृष्पा श्रेष्ठ।

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा देशभरका स्वास्थ्यकर्मी–चिकित्सक खटिएका छन्। तीनैमध्ये एक हुन्, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन ४७ वर्षीय डा. ध्रुव गैरे। 

कोरोना महामारी सुरु भएयता उनले थुप्रै बिरामीको उपचार गरे। तीमध्ये धेरै निको पनि भए। 

महामारी सुरु भएयता दिनरात नभनी संक्रमितको उपचारमा खटिएका उनलाई गत साउन २२ गते कोरोना संक्रमण भयो। 

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वीर अस्पताल भर्ना गरियो। तर, त्यहाँ उनको उपचार हुन सकेन। कारण– त्यहाँ आइसियु कक्ष खाली थिएनन्। उनको स्वास्थ्य अवस्था जटिल भएकाले आइसियुमा भर्ना गर्नुपर्ने अवस्था थियो। 

वीरमा दुई दिन उपचारपछि उनलाई त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगियो। त्यहाँ आइसियुमा राखेर उनको उपचार थालियो। 

उपचारका क्रममा उनले न कसैलाई भेट्न पाए न त कुरा गर्न नै। 

त्यति बेला कोरोना संक्रमण चरममा थियो। प्रत्येक दिन एक–दुई जना कोरोना संक्रमितको मृत्यु भएको त उनले नै देखेका थिए। 

त्यसैले आफू पनि धेरै समय बाँच्दैन भन्ने लागेको थियो उनलाई। ‘अब मरिने भइयो। आफन्तले पनि देख्न नपाउने भए। मलाई कहाँ लगेर गाड्ने हुन्,’ कोरोना संक्रमणपछि उपचारका क्रममा मनमा लागेका कुरा उनले सम्झिए। 

त्यसो त उनले मृत्युको सत्यलाई पनि बुझेका थिए। मृत्युलाई स्वीकार गर्नुको विकल्प छैन भन्ने पनि उनलाई थाहा थियो। 

कोरोना संक्रमणले थलिएका उनलाई टिचिङको आइसियुमा १८ दिनसम्म राखेर उपचार गरियो। त्यसपछि उनी निको भए। र, उनलाई अक्सिजनसहित डिस्चार्ज गरियाे। 

डिस्चार्ज भएर घर फर्किएपछि पनि दुई महिनासम्म उनले अक्सिजन लिनुपर्यो। कोरोनाका कारण अहिले पनि उनको फोक्सोमा समस्या छ। 

उनले भने, ‘फोक्सोको समस्याका कारण औषधि खाइरहेको छु। उपचारको क्रममै छु।’ 

त्यसअघि आफू कहिल्यै अस्पताल भर्ना नभएको उनी सुनाउँछन्। 

‘३० सेकेण्ड ढिलो भए बच्चाको ज्यान जान्थ्यो’ 

डा.  ध्रुव गंगालाल अस्पतालमा काम गर्दाको एउटा क्षण सम्झिन्छन्– 

करिव ७ वर्षको बालकको मुटुको प्वालको शल्यक्रिया गरेको करिव एक हप्तापछि जनरल वार्डमा सारिएको थियो। 

वार्डमा जाँदा त बालक निलो भइसकेका थिए। श्वास नै फेर्न सकेका थिएनन्। बालककी आमा अत्तालिँदै थिइन्। बालकको त्यो अवस्था देखेपछि उनलाई हतारहतार आइसियुमा लगेर राखें। अक्सिजन दिएर उपचार थालें। 

‘वार्डमा ढिला गरेको भए बालक बाँच्ने सम्भावना थिएन,’ उनले त्यो क्षण सम्झिए, ‘त्याे बेला बालकलाई ३० सेकेण्डमा भेन्टिलेटरमा पुर्याएँ।’ 

उपचारपछि बालकले पुनःजीवन पाए। 

त्यसको केही दिनमा बालक हिँड्दै फलोअपका लागि घरबाट आएका थिए।

‘सायद त्यो दिन म वार्डमा नभएको भए बच्चाको मृत्यु हुन्थ्यो होला,’ उनले सम्झिए, ‘पछि बच्चाकी आमा छोरा बाँचेकाले मप्रति साह्रै कृतज्ञ भइन्।’

‘बिरामीलाई जहाजको टिकट काटेर पठाएँ’

वीर अस्पतालमा अधिकांश बिरामी आर्थिक अवस्था कमजोर भएका आउने गरेकाे उनी बताउँछन्। ‘रोग डोकाभरी हुन्छ। पैसा खल्तीमा हुँदैन,’ अस्पतालमा उपचार गर्न आउने बिरामीबारे डा. ध्रुव भन्छन्। 

उनले एमडी अध्ययन गर्ने बेलाकाे एक घटना सम्झिए– 

दसैंको बेला थियो, जुम्लाबाट करिव ४८ वर्षीय पुरुष उपचारका लागि वीर अस्पताल पुगे। तर, उनीसँग पैसा थिएन। 

ती पुरुषमा जटिल किसिमकै रोग थियो। ती पुरुषलाई के रोग लागेको हो भन्नेचाहिँ डा. ध्रुवले बिर्सिएछन्। 

छारे रोग पनि थियो। 

ती बिरामीका आफन्त अस्पताल आउनै छाडेका थिए। 

डा. ध्रुवले आफ्नै निगरानीमा ती पुरुषको उपचार गरे। ती बिरामीको उपचारका लागि  साथीभाइसँग पैसा मागे, औषधि कम्पनीसँग औषधी मागे डा. ध्रुवले। र, उपचारमा पाइनेजति छुट पनि गराए। 

उनले ती बिरामीको उपचार गर्दाको क्षण सम्झिए, ‘ती बिरामीको आफन्त नभएकाले दिनभरी कुरेरसमेत बसेको छु।’ 

करिब २१ दिनको उपचारपछि ती पुरुष निको भए। त्यसपछि डा. ध्रुवले ती पुरुषको डिस्चार्जको तयारी गरे। 

ती पुरुषले आफूलाई हवाइजहाजको टिकट काटेर घर पठाइदिन डा. ध्रुवसँग आग्रह गरे। 

त्यसपछि आफ्नै पैसाबाट ती बिरामीलाई काठमाडौंदेखि नेपालगन्जसम्म बसको टिकट र नेपालगन्जबाट डोल्पासम्म हजाइजहाजको टिकट काटेर पठाएको डा. ध्रुव सम्झिन्छन्। 

अध्ययन र जागिर

बागलुङको गल्कोटमा जन्मिएका डा. ध्रुव सानैदेखि पढाइमा अब्बल थिए। कक्षामा सधैं पहिलो र दोस्रो स्थानमा उत्तीर्ण हुन्थे। 

बागलुङको हटियास्थित गलकोट माविबाट २०४७ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे उनले। एसएलसीपछि उनी काठमाडौं आएर पाटन क्याम्पसमा आइएससी भर्ना भए। 

सरकारी विद्यालयमा नेपाली माध्यममा पढेकाले सुरुमा आइएससी पढ्न गाह्रो भयो उनलाई। तर, उनले हिम्मत हारेनन्। मेहनत गरे। अन्ततः आइएससी प्रथम श्रेणीमा उत्तीर्ण भए उनी। त्यति मात्रै होइन, क्याम्पस सेकेण्ड नै भए। 

त्यसपछि उनी एमबिबिएसका अध्ययन लागि नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा नाम निकाले। त्यहाँ ३ महिना पढे। तर, कलेज नै खारेज भयो। 

कलेज खारेज भएपछि कसरी एमबिबिएस पढ्ने भन्ने उनमा चिन्ता थियो। त्यही बेलै बंगलादेशको चिटगाउँस्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा

उनले एमबिबिएस अध्ययनका लागि परीक्षा दिए। र, नाम निकाले पनि। 

त्यसपछि उनी पाँच वर्षीय एमबिबिएस अध्ययनका लागि बंगलादेश गए। त्यो बेला बंगलादेशमा बेलाबेला हड्ताल हुने गरेको उनी सुनाउँछन्। ‘तीन–चार महिनासम्म स्ट्राइक हुन्थ्यो। कलेजमा घाँसै उम्रन्थ्यो,’ उनले सुनाए। 

बंगलादेशमा भाषा र खानपानका कारण सुरुमा समस्या भएको उनले बताए। ‘भाषा नबुझ्ने समस्या त छँदैथ्यो। खाना पनि मिल्दैनथ्यो, माछा खानुपथ्र्याे,’ उनले सुनाए। 

तर, त्यहाँको अध्ययनको वातावरण राम्रो रहेको उनले सुनाए। ‘प्रत्येक दिन परीक्षा हुन्थ्यो,’ उनले सुनाए।

बंगलादेशबाट सन् २००३ मा एमबिबिएस अध्ययन पूरा गरेर नेपाल फर्किए उनी। त्यसपछि उनले करिव साढे एक वर्ष गंगालाल अस्पतालमा करारमा काम गरे।त्यहाँ डा. भगवान कोइरालासँग कार्डियाक सर्जरीमा नै काम गरे उनले। 

त्यसपछि उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा एमडी अध्ययनका लागि परीक्षा दिए। 

बीपी कोइराला प्रतिष्ठानमा उनको नाम एक नम्बरमै निस्कियो। 

त्रिवि शिक्षण अस्पतालको मेरिट लिस्टमा पनि उनको नाम थियो। तर, आफूले रोजेको विषय नभएको भन्दै उनले पढेनन्।  

त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी अध्ययनका लागि परीक्षा दिए। र, आफूले चाहेकै विषय ‘इन्टरनल मेडिसिन’मा एक नम्बरमै नाम निकाले। 

यो बेलासम्म उनको विवाह पनि भइसकेको थियो।

चिराफारमा धेरै चासो नभएकाले पनि आफूले मेडिसिन छानेको उनी सुनाउँछन्। ‘मेडिसिन डाक्टरी पेशामा साहित्यजस्तो हो। डेफ्थ छ,’ उनले भने, ‘मेडिसिन पढेपछि शरीरको सबै अंग बुझिन्छ। शरीरको सबै भाग बुझिन्छ। मेडिसिनले संसार बुझ्छ।’ 

उनी सन् २०१० मा एमडी उत्तीर्ण भए। एमडीपछि सन् २०११ मा उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा स्थायी मेडिकल टिचर (ट्युटर)का रुपमा सरकारी जागिरे भए। अहिले उनी वीर अस्पतालमा नै कार्यारत छन्। 

चैत १४, २०७७ शनिबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।