जेलमा रहेका रेशम चौधरीको संयोजकत्वमा सरकारसँग वार्ता गर्न टोली
धनगढी : कैलालीको टिकापुर घटनाका बन्दीहरूको मुद्दा राजनीतिक रूपमा समाधानका लागि सरकारसँग वार्ता गर्न जेलमा रहेका रेशम चौधरीको संयोजकत्वमा वार्ता टोली गठन भएको छ।
भूमिगत रहेका थरुहट नेता लक्ष्मण थारुसहित बन्दीका परिवारले आज शुक्रवार पत्रकार सम्मेलन गरेर चौधरीलाई जेलबाट निकालेर वार्ता सुरु गर्न सरकारसँग माग गरे।
उनीहरूले वार्ताका लागि चौधरीकै संयोजकत्वमा छ सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिए। वार्ता टोली सदस्यमा लक्ष्मण थारु, रामप्रसाद चौधरी, चुनीराम चौधरी, बिना चौधरी र यमुना चौधरी छन्। उनीहरू सबै अदालतबाट टीकापुर घटनामा दोषी करार ठहर गरिएका हुन्।
टीकापुर घटना थारुहरूको विद्रोह रहेको र त्यसको राजनीतिक रूपमा समाधान हुनुपर्ने थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष समेत रहेका लक्ष्मण थारुले बताए। ‘सरकार थारुसँग वार्ता गर्न इच्छुक देखिएकोले वार्ता टोली गठन गरेका छौँ,’ मोर्चाका संयोजक लक्ष्मण थारुले भने, ‘वार्ता जेलभित्र होइन, संयोजक रेशम चौधरीलाई बाहिर ल्याएर सरकार वार्ता गर्न तयार हुनुपर्यो।’
उनले वार्ता टीकापुर घटनाका झुटा मुद्दा खारेजी र जेलमा रहेकाको रिहाइका विषयमा मात्रै गर्न तयार भएको बताए।
वार्ता टोली गठनसहित मोर्चाले पत्रकार सम्मेलनमार्फत ४ बुँदे निर्णय समेत सार्वजनिक गरेको छ। मोर्चाका संयोजक थारुले चैत्र २० गतेभित्र टीकापुर घटना सम्बन्धी मुद्दाको अपिल सर्वोच्च अदालतमा दायर गर्ने बताए। त्यस्तै थरुहट÷थारुवान आन्दोलनले उठान गरेको मुद्दा र टीकापुर मुद्दालाई सम्बोधनका लागि सङ्घर्षरत सबै पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ।
१ महिनाभित्रै आफूहरूको माग सम्बोधन नभए मोर्चाले सबैसँग समन्वय गर्दै सरकार विरुद्ध सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएको छ। टीकापुर घटनामा रेशम चौधरीसहित ७ जनाले जेल सजाय भोगिरहेका छन्। लक्ष्मण थारुसहित १८ जनालाई उच्च अदालतको फैसलाले दोषी करार ठहर गरेको छ।
चैत १३, २०७७ शुक्रबार १९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।