शशांकले शेखरका लागि खोले सभापति उम्मेदवारको बाटो !
इटहरी : इटहरीमा आज (बिहीबार) नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइराला एउटै मञ्चमा देखिए।
लामो समयको प्रयासपछि उनीहरू सुजाता नेतृत्वको जिपी फाउन्डेसनको खेलकुद विभाग, प्रदेश १ समितिले आयोजना गरेको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा सँगै उपस्थित भए।
कार्यक्रमको प्रमुख अतिथि डा. शशांकले कोइराला परिवारबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुने बताए।
करिब दुई मिनेट मात्र बोलेका उनले आफू त्यागको लागि तयार रहेकोसमेत बताए।
यसले शेखरलाई सभापतिको उम्मेदवार बन्न बाटो खुलेको कतिपयको बुझाइ छ।
यसअघि उनले आफू मात्र शेरबहादुर देउवालाई हराउन सक्ने बताउँदै आएका थिए।
संस्थापन इतर पक्षबाटै महामन्त्रीको भूमिका निर्वाह गर्न नसकेको आरोप खेप्दै आएका शशांक कोइराला परिवारको साख जोगाउन शेखरलाई समर्थन गर्ने पक्षमा आउन सक्ने कतिपयको तर्क छ।
कार्यक्रममा केन्द्रीय सदस्य डा. शेखरले गिरिजाप्रसाद कोइरालाले भनेजस्तै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने बाचा गरे। अहिले सरकारविरुद्ध र पार्टी सुदृढीकरणमा कसरी अगाडि बढ्ने भन्नेमा गिरिजाप्रसादको मान्यताको खाँचो रहेको उनले उल्लेख गरे।
शशांक र सुजातातर्फ फर्कंदै उनले भने, ‘हामी पनि सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्छौं।’
१४ औं महाधिवेशनमा सभापतिको तयारीमा देश दौडाहा सकेका उनी जसरी पनि उम्मेदवार हुने दाउमा देखिन्छन्।
शशांकले सहमति जनाए शेखरलाई सभापतिको उम्मेदवार बन्न सहज हुने कतिपयको बुझाइ छ।
कांग्रेसकी केन्द्रीय सदस्य सुजाताले गिरिजाप्रसादको जस्तै नेतृत्व नेपाली कांग्रेसले खोजेको भन्दै आफूहरू (शशांक, शेखर र सुजाता) बीच सहमति, सहकार्य र एकताको खाँचो रहेको औंल्याइन्।
कार्यकर्तामाझ एकताको सन्देश दिन उनी बारम्बार प्रयासरत छिन्।
यसअघि २०७५ मंसिर २ मा जिपी फाउन्डेसन प्रदेश १ को आयोजनामा विराटनगरमा तीनै जनाले एउटै माला लगाएका थिए।
निवास अगाडि नै रहेको फाउन्डेसनको भवन उद्घाटनका क्रममा शशांकले पार्टी र जनताको लागि आफू त्याग गर्न पनि तयार रहेको बताएका थिए।
शशांकले त्यति बेला पनि आफू त्याग र सहमतिको पक्षधर रहेको बताउँदै सभापतिमा नउठ्ने संकेत गरेका थिए।
गत मंसिर २९ गते निवासमा पत्रकार सम्मेलन गर्दै महामन्त्री डा. शशांकले आफू कोइराला परिवारसँग मिलेर जाने वाचा गरेका थिए।
०००
महाधिवेशनको मिति नजिकिएसँगै नेताहरूको देश दौडाहा सुरु भएको छ।
गत मंगलबार मात्र सभापति शेरबहादुर देउवा, डा. मिनेन्द्र रिजाल तथा ज्ञानेन्द्रबहादुर कार्की धरानमा आयोजित कार्यक्रममा सहभागी भए।
भोजपुरबाट सुनसरीमा निर्वाचन क्षेत्र परिवर्तन गरेका कार्की राजनीतिक भेटघाटमा बारम्बार सुनसरी धाउने गर्छन्। सुनसरीबाटै प्रदेश १ भरीका नेता–कार्यकर्तासँगको भेटघाटलाई उनले प्राथमिकता दिइरहेका छन्।
चैत १२, २०७७ बिहीबार २१:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।