मुख्यमन्त्री शाहीको निर्देशन– सरकार ढल्छ भनेर काममा ढिलाइ नगर्नुस्, बजेट कार्यान्वयनमा लाग्नुस्
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार ढल्छ भनेर काममा ढिलाइ नगर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बिहीबार) आयोजना गरिएको दोस्रो चौमासिक समीक्षा गोष्ठीमा शाहीले यस्तो निर्देशन दिएका हुन्।
‘सरकारको विषयलाई लिएर तपाईंहरू काममा ढिलाइ नगर्नुस्। अब बजेट कार्यान्वयनमा जोड दिनुहोस्,’ मुख्यमन्त्री शाहीले भने, ‘हामीकहाँ बजेट कार्यान्वयनमा समस्या छ। समस्या परेपछि क्याबिनेटको बैठक बसेर समाधान गरौंला।’
मुख्यमन्त्री शाहीले बाहिर सरकार फेरिने हल्ला चल्ने र त्यसैका आधारमा कर्मचारीले काममा ढिलाइ गर्ने चलनको अन्त्य गर्नुपर्ने बताए।
‘सरकार ढल्दैन। तपाईंहरू काम गर्नुहोस्। हामी अहिले पनि बहुमतमा छौं। त्यसैले बाहिर कसले के भन्छ भन्नेमा भन्दा पनि आफ्नो मन्त्रालयको वित्तीय प्रगति देखाउनुहोस् र जनताले महसुस गर्ने गरी काम अघि बढाउनुहोस्,’ मुख्यमन्त्री शाहीले भने।
चैत १२, २०७७ बिहीबार २०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।