एमयुको विवादित प्रवेश परीक्षाको नतिजा रद्द, निर्देशक र उपप्राध्यापकलाई कारबाही
सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु)अन्तर्गत कानुन संकायको प्रवेश परीक्षाको नतिजा रद्द गरिएको छ।
परीक्षाको नतिजा विवादित बनेपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले बुधबार परीक्षाको नतिजा नै रद्द गरेको हो।
परीक्षामा छनोट नभएका विद्यार्थीले उपप्राध्यापक सुजन पन्तले परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको भन्दै घटनाको छानबिनका लागि उपकुलपतिको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा निवेदन दिएका थिए। विद्यार्थीले निवेदनसँगै उपप्राध्यापक पन्तले आफू नजिकका केही विद्यार्थीलाई फेसबुक म्यासेन्जरमा पठाएको प्रश्नपत्रको स्क्रिनसट पनि संलग्न गरेका थिए।
उपप्राध्यापकले नजिकका विद्यार्थीलाई फेसबुकको म्यासेन्जरमा प्रश्नपत्रको स्क्रिनसट पठाएको प्रमाण फेला परेपछि उपकुलपतिको कार्यालय र अख्तियारमा निवेदन दिएको परीक्षामा सहभागी रश्मी शाहीले बताइन्।
प्रश्नपत्र चुहावट भएको भन्दै छनोट नभएका विद्यार्थीले परीक्षा नतिजा रद्द गर्नसमेत माग गरेका थिए।
विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले यही फागुन १७ गतेदेखि १९ गतेसम्म स्नातक तहको प्रवेश परीक्षा लिएको थियो।
४५ जनाको कोटा रहेको उक्त परीक्षामा १ सय ९० जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये १ सय ५० जना विद्यार्थी पास भएका थिए। तीमध्येबाट बढी नम्बर ४५ जनालाई छनोट गरिएको थियो।
निर्देशक र उपप्राध्यापकलाई कारबाही
विश्वविद्यालयको कार्यकारी परिषद्ले कानुन संकायतर्फको ‘स्कुल अफ ल क्याम्पसका’ निर्देशक र कानुन संकायको करार सेवामा कार्यरत एक जना उपप्राध्यापकलाई कारबाही गरेको विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार ल क्याम्पसका निर्देशक अर्जुनबहादुर ऐडीलाई जिम्मेवारीबाट हटाइएको छ।
कानुन संकायका उपप्राध्यापक सुजन पन्तलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। उपप्राध्यापक पन्तलाई प्रश्नपत्र चुहावट गरेको आरोपमा निलम्बन गरिएको हो।
विश्वविद्यालयले निर्देशक ऐडीको ठाउँमा उपप्राध्यापक उपेन्द्र बिकलाई नियुक्त गरेको छ।
‘कारबाही दुई प्रकारको हुन्छ– कडा र सामान्य। यो सामान्य कारबाही हो,’ उपकुलपति सिंहले भने, ‘उहाँहरूलाई सुध्रने मौका दिइएकाले यो कारबाही गरिएको हो।’
उपकुलपति सिंहले उपप्राध्यापक पन्तको करार सम्झौता खारेज गर्न सकिने प्रावधान भए पनि तीन महिनाका लागि मात्रै निलम्बन गरेर एक पटक सच्चिने मौका दिएको बताए।
घटनाबारे छानबिन गर्न गठित समितिले प्रवेश परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा मुछिएको आरोप लागेका चार जनामध्ये दुई जनाको संलग्नता नदेखिएको निष्कर्ष निकालेको छ।
१० दिनभित्रै पुनः परीक्षा
उपकुलपति सिंहले १० दिनभित्र मानविकी संकायका डिन, लोक सेवाका प्रतिनिधिलगायत अन्य सरोकारवालाको समन्वयमा प्रश्नपत्र र परीक्षा विधि अनुसार पुनः परीक्षा सञ्चालन गरिने बताए।
विद्यार्थीले दिएको निवेदनका आधारमा विश्वविद्यालयले व्यवस्थापन शाखाका प्रमुख डा. आनन्द सुवेदीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनेको थियो।
‘परीक्षा नतिजा रद्द गर्ने निर्णय मान्दैनौं’
प्रवेश परीक्षामा पास भएका विद्यार्थीले भने परीक्षा नतिजा रद्द गर्ने कार्यकारी परिषद्को निर्णय नमान्ने बताएका छन्।
ती विद्यार्थी प्रवेश परीक्षाको नतिजा रद्द खारेजीको माग गर्दै बुधबार रातभर उपकुलपतिको कार्यालयअगाडि धर्नामा बसेका थिए।
चैत १२, २०७७ बिहीबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।