वीर–ट्रमा अनियमिता प्रकरण : छानिबिन समिति नै अन्योलमा

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितताबारे छानबिन गर्न बनेको समिति नै रनभुल्लमा परेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १३ गते समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न आदेश (कार्यादेश) गरेको भए पनि ४ हप्ता बितिसक्दा समेत न गहिरो अध्ययन भएको छ न त प्रतिवेदन नै पेस भएको छ।
नजिकबाट छानबिन समितिको काम नियालिरहेको विश्वस्त स्रोतका अनुसार मन्त्रालयमा एक पटक छलफल हुने बाहेक समितिको बैठक पनि बसेको छैन। स्रोतले उकेरासँग भन्यो, ‘राम्रोसँग बैठक पनि बसेको छैन। समितिका सदस्यले आ-आफ्नै ढंगल रिपोर्ट लेखिरहेका छन्।’
तर, अर्को स्रोतका अनुसार धेरै विषयको अध्ययन गर्नुपर्ने भएकाले पनि प्रतिवेदन बुझाउन ढिला भएको हो।
फाइल नै राम्रोसँग नपल्टाई रिपोर्ट तयार गरेर मन्त्रालयमा पेस गर्ने तयारी भइरहेको स्रोत बताउँछ।
छानबिन समितिमा वीर अस्पताल र ट्रमा सेन्टरकै १–१ जना कर्मचारी भएकाले उनीहरुलाई आफ्नै विभागीय प्रमुखको बारेमा निष्पक्ष छानबिन गरेर प्रतिवेदन बुझाउनेमा शंका छ। स्रोतले भन्यो, ‘आफ्नै हाकिमका फाइल कसरी पल्टाउने। अनि छानबिनको के आशा गर्न सकिन्छ।’
तर, समितिका सदस्यले कसैबाट प्रभावित भएर सत्यतथ्य छानबिनमा बाधा पुर्याएको देखिए पुनः अर्को समिति गठन गरेर छानबिन गर्ने मन्त्रालयका प्रशासन शाखा प्रमुख (सहसचिव) दामोदर रेग्मीले बताए। उनले भने, ‘कोही व्यक्ति विशेषले प्रभावित पारे फेरि छानबिन गर्छौं।’
स्रोतका अनुसार मन्त्रालयले जिम्मेवारी दिएकाले बाध्यताका कारण जसोतसो प्रतिवेदन तयार पारेर बुझाउने तयारीमा छ, समिति। सामान्य रुपमा फाइल हेरेर लटरपटर गरी केही दिनमा नै प्रतिवेदन बुझाउने तयारी भएको छ। मन्त्रालयका प्रशासन शाखा प्रमुख रेग्मीले छानबिनको प्रतिवेदन चाँडै आउने आशा गरिएको बताए।
मन्त्रालयबाट गठिन छानबिन समितिको संयोजकमा मन्त्रालयकी प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशी रहे पनि समितिको समन्वय नै राम्रोसँग नभएको स्रोत बताउँछ।
समितिको सदस्यमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव दीपक घिमिरे छन्। मन्त्रालयकै शाखा अधिकृत दीपक रिजाल र राष्ट्रिय ट्रमा सेन्टरकी शाखा अधिकृत जुना खड्का खत्री गरी ४ सदस्यीय समिति गठन भएको थियो।
तर, छानबिन समितिको सदस्यमा राखिएकी खड्का (खत्री) ट्रमाको खरिद एकाईको प्रमुखका रुपमा समेत रहेकाले उनले सत्यतथ्य छानबिन कसरी गर्लिन् भन्ने प्रश्न कर्मचारीहरुले उठाएका छन्।
वीर अस्पताल स्रोतका अनुसार ट्रमाका निमित्त निर्देशक (सुपरिटेन्डेन्ट) डा सन्तोष पौडेल नै खड्का (खत्री) लाई खरिद प्रमुखको जिम्मेवारी दिएका हुन्। सामान खरिदको लेनदेनमा उनको महत्वपूर्ण भूमिका हुन्छ।
खरिद एकाई प्रमुखलाई किन छानबिन समितिमा राख्नुभएको भन्ने जिज्ञासामा मन्त्रालयका प्रशासन शाखा प्रमुख रेग्मीले भने, ‘छानबिन सहजीकरणका लागि सदस्यमा राखिएको हो। छानबिन प्रभावित पार्न हैन।’
मन्त्रालयमा खरिद एकाई प्रमुख नै छानबिन सदस्य रहेको विषयमा पनि चर्चा भएको थियो। यो विषयमा आफू पनि जानकार रहेको रेग्मीले बताए। तर उनले छानबिनको सहजताका लागि खड्कालाई सदस्यमा राखिएको दावी गरे।
मन्त्रालय स्रोतका अनुसार स्वयं खड्काले पनि आफू समितिमा बस्न अनिच्छुक रहेको बताएकी थिइन्। स्रोतले खड्काको भनाइलाई उद्धृत गर्दै भन्यो, ‘म नै खरिद प्रमुख छु। मलाई छानबिन समितिमा नराख्दा हुन्थ्यो।’
छानबिन समिति आफैंलाई छानबिनको प्रगतिप्रति चित्त बुझेको नपाइएको छानबिन समितिलाई नजिकबाट नियालेको स्रोतले बताएको छ। स्रोतले भन्यो, ‘वास्तवमा भन्ने हो भने भएको चाहीँ केही छैन।’ समितिका सदस्यहरु एक अर्काले फाइलको क्रस चेक पनि गरेका छैनन्। सरसर्ती आफ्नै ढंगले बुँदा टिपोट गरिरहेको स्रोतले बतायो।
वीर अस्पताल र ट्रमा सेन्टरमा अनियमितता भएको भन्दै कर्मचारीले उजुरी दिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो।
चैत १२, २०७७ बिहीबार ११:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।