होस नै उड्ने कर्णाली राजमार्ग : दुई वर्षमा ४४ दुर्घटना, १८ जनाको मृत्यु  

होस नै उड्ने कर्णाली राजमार्ग : दुई वर्षमा ४४ दुर्घटना, १८ जनाको मृत्यु  

सुर्खेत : सुर्खेतबाट दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुग्ने कर्णाली राजमार्गमा जोखिम बढ्दै गएको छ। विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण गरिएको यो राजमार्गमा वर्षेनी दुर्घटना बढ्दै गइरहेका छन्।

साँघुरो र पहाडी भेगमा सडक खण्ड परेका कारण पनि यात्रुहरूले सास्ती भोग्दै आएका छन्। दुर्घटनाका कारण सयौँ यात्रु घाइते र कैयौँले ज्यान समेत गुमाउनु परेको छ।

कर्णाली प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार कर्णाली राजमार्गमा दुई वर्षमा विभिन्न दुर्घटनाबाट १८ जनाको मृत्यु भइसकेको छ।

आर्थिक वर्ष २०७६/०७७ मा २ वटा ट्रक र टिप्पर, ६ वटा बस, ६ वटा जिप र कार, ४ वटा ट्याक्टर, २ वटा अटो तथा ७ वटा मोटरसाइकल दुर्घटना भएका छन्।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १६ वटा सवारी साधन दुर्घटनामा परेका छन्। जसमा ४ वटा ट्रक, १ बस, ७ वटा जिप र कार, २ ट्याक्टर, १ अटो र १  मोटरसाइकल गरी १६ वटा सवारी साधन दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालयका डिएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए। २ आर्थिक वर्षमा मात्र ४४ वटा सवारी दुर्घटनामा परेका हुन्।

वर्षेनी उक्त राजमार्गमा दुर्घटनाको सङ्ख्या बढ्दो भए पनि सम्बन्धित निकायको भने ध्यान जान सकेको छैन।

२०६३ चैत ३० बाट सञ्चालनमा आएको कर्णाली राजमार्गको लम्बाई २ सय ३२ किलोमिटर रहेको छ। 

पहाडको साँघुरो राजमार्ग भएकाले यहाँ यात्रा गर्ने यात्रुहरू सधैँ डरैडरमा रहन्छन्। कर्णाली राजमार्गमा यात्रा गर्दा घर पुग्छु कि पुग्दिनँ भन्ने त्रास भइरहने यात्रु वीरबहादुर चौधरीले बताए। 

‘पहिले कर्णाली राजमार्ग नाम सुन्दा कस्तो होला भन्ने लाग्थ्यो,’ चौधरीले भने, ‘यो पाली कोहलपुरबाट रारा जाने क्रममा प्रत्यक्ष आफैँले यात्रा गर्दा मेरो होस नै उड्यो।’

पछिल्लो समय सडकको अवस्थामा केही परिवर्तन आए पनि सडकको साँघुरो अवस्था र मोडहरूमा ट्राफिक चिह्न नहुँदा दुर्घटनाको जोखिम बढेको दैलेखको ठाटीकाँध गाउँपालिकाका नरेन्द्र कठायतले बताए। 

हिउँदमा गाडी चलाउन अलि सहज भए पनि वर्षायाममा धेरै जोखिम मोल्नुपर्ने तीन वर्षदेखि कर्णाली राजमार्गमा गाडी चलाइरहेका चालक शिव थापाले गुनासो गरे।

 

चैत १२, २०७७ बिहीबार ०७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।