प्रदेश १ का मुख्यमन्त्री सुरक्षित, कांग्रेस भन्छ- प्रदेश संरचना छ कि छैन जस्तो भइसक्यो

प्रदेश १ का मुख्यमन्त्री सुरक्षित, कांग्रेस भन्छ- प्रदेश संरचना छ कि छैन जस्तो भइसक्यो

इटहरी : एमालेका सांसदहरुले अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद सुरक्षित भएको छ। बुधबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा खनाल–माधव नेपाल पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिन सहमति जनाएको हो।

गत पुस १२ गते राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। नेपाल पक्षका सांसद भीम अचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेको एमालेले राईलाई नै मुख्यमन्त्री मानेर जाने निर्णय गरेको हो।

माधव नेपाल पक्षका तुलसी न्यौपाने र लिलाबल्लभ अधिकारी लगायत सांसदको सहभागितामा बसेको बैठकमा एमाले एक भएर अगाडि बढ्ने भएको छ। बैठकपछि निर्णय सुनाउँदै मुख्यमन्त्री राईले अविश्वासको प्रस्ताव फिर्ता हुने भएको बताए। माओवादीबाट भर्खरै एमाले प्रवेश गरेका सांसद टंक आङ्बुहाङको समेत बैठकमा उपस्थिति थियो।

बैठकको निर्णय बमोजिम ७ दिनभित्र मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा भएको हस्ताक्षर फिर्ता नलिए विधान बमोजिम कारबाही गर्ने तयारी रहेको छ। दुई पटक सूचना टाँस गरी अनिश्चित बनेको प्रदेश सभाको बैठक भने अब नियमित हुने राईले जानकारी दिए।

मुख्यमन्त्री विरुद्ध तत्कालीन नेकपाका ६७ मध्ये ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्ताव फागुन ९ को प्रदेश सभा बैठकमा टेबल भएको थियो।

सर्वोच्च अदालतले नेकपा विभाजन भई एमाले र माओवादी अलगअलग भएको फैसला सुनाएपछि तत्कालीन एमालेका सांसदले भने मुख्यमन्त्रीलाई सघाउने भएका हुन्। प्रदेश एकमा एमालेका ५१ प्रदेश सभा सदस्य छन्। बुधबारको बैठकमा ३२ सांसदको सहभागिता रहेको थियो।

उता नेपाली कांग्रेसले भने प्रदेश संरचनामा प्रश्न उठ्न थालेको बताएको छ। सरकारको स्वार्थमा प्रदेशसभा चलाउँदा समस्या सिर्जना भएको नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए। प्रदेश सरकारले गरेको भ्रष्टाचार र अनियमितताको बारेमा प्रश्न गर्ने ठाउँ नभएको उनको भनाइ छ। प्रदेश सांसदलाई दिने भनेको सांसद विकास कोषको बजेट समेत उपलब्ध नगराएको उनले बताए।

‘प्रदेश संरचना छ कि छैन जस्तो भइसक्यो। यसैगरी सरकारको स्वार्थमा संसद् चल्न थाल्यो भने के गर्न चाहियो प्रदेश सभा?,’ उनले भने, ‘सरकारको इशारामा संसद र सभामुख चल्नु भएन भन्ने हाम्रो मान्यता हो। अब चाँडै संसद् सुरु होस भन्ने कुरा हो।’

चैत ११, २०७७ बुधबार १८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।