सर्लाहीका साहित्यकार–कलाकारलाई बरहथवा नगरपालिकाले गर्याे सम्मान
काठमाडौं : सर्लाहीको बरहथवा नगरपालिकाले जिल्लाका साहित्यकार, कलाकार, पत्रकार र खेलाडीलाई सम्मान गरेको छ।
सर्लाहीमा जन्मिएर जिल्लालाई विभिन्न क्षेत्रबाट चिनाएको भन्दै नगरपालिकाले साहित्यकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, चलचित्र निर्माता पवन मैनाली, चलचित्र निर्देशक प्रदीप भट्टराई, गायकहरू शिव परियार, कमल खत्री, कर्णराज गिरी, यसकुमार, संगीतकार टीका बम्जन, रंगकर्मी विजय बराल, कलाकार शिवशंकर रिजाल, कविता नेपालीलाई सम्मान गरेको हो।
यस्तै, राष्ट्रिय खेलाडी लेखनाथ मैनाली, रीता कार्की मैनाली, गंगा कुशवाह, पत्रकार दिवाकर मैनाली, सञ्चारकर्मी नरेश भट्टराई, प्रदीप कार्की, अनलाइन टिभी पत्रकार संघका सचिव सरोज गिरी लगायतलाई नगरपालिकाले सम्मान गरेको छ। उनीहरूलाई ‘सर्लाही स्वर्णीम सम्मान २०७७’ प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
सम्मानित व्यक्तिहरूलाई नगरपालिकाले गाढामा राखेर नगर परिक्रमासमेत गराएको छ।
नगरपालिकाका प्रमुख देवानन्द महतोले सर्लाहीमा जन्मिएर विविध क्षेत्रमा स्थापित स्रष्टा, कलाकार, पत्रकार, खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए।
‘उहाँहरूले सर्लाही जिल्लालाई अझै प्रसिद्ध बनाइदिनुभएको छ। आगामी दिनमा उहाँहरू आफू जन्मेको ठाउँको विकासका लागि योगदान गर्नु हुने छ भन्ने आशा गरेको छु,’ उनले भने।
कार्यक्रममा गायक शिव परियार, कमल खत्री, कर्णराज गिरी, शिवशंकर रिजाल, टीका बम्जनले गीत गाएका थिए। उनको प्रस्तुतिमा दर्शकले साथ दिएका थिए।
चैत ११, २०७७ बुधबार १६:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।