पाँचखालमा बेलायती विज्ञ टोलीबाट जिओफिजिकल सर्भे गरिँदै

पाँचखालमा बेलायती विज्ञ टोलीबाट जिओफिजिकल सर्भे गरिँदै

काठमाडौं : काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल क्षेत्रमा पुरातात्विक सम्पदा स्थलबारे जिओफिजिकल (भू–भौतिक सर्वेक्षण) सर्भे गरिँदै छ।

चैत १२ गते बिहीबारबाट पाँचखाल क्षेत्रमा जिओफिजिकल सर्भे र ड्रोनमार्फत फोटो लिन लागिएको पुरातत्व विभागले जनाएको छ।

विभागका अनुसार बेलायतको दुरहाम विश्वविद्यालयको विज्ञ टोलीसँगको सहकार्यमा सर्भे गर्न लागिएको हो।

पाँचखालमा उत्खननका क्रममा लिच्छिविकालीन र मध्यकालीन इतिहासका महत्वपूृर्ण प्रमाणहरु भेटिएकाले थप तथ्य पत्ता लगााउन सर्भे गर्न लागिएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए।

विभागले पाँचखाल नगरपालिका–७, श्रीरामपाटी, माल्टारमा २०७६ जेठमा उत्खनन गरेको थियो। उत्खननका क्रममा पुरानो दरबारको भग्नावशेष र माटाका पाइपलाइन फेला पारेको थियो। उत्खननपछि विभागले लिच्छिविकालीन र मध्यकालीन इतिहासको प्रमाण फेला परेको प्रतिवेदन तयार गरेको थियो।

उत्खननका क्रममा स्थानीय प्रस्तर प्रयोग गरी १ मिटर ५० सेन्टिमिटरसम्मको आधार बनाई ६० सेन्टिमिटरको सुर मिलेको गाह्रो लगाइएको, २२ सेन्टिमिटर चौँडा लिच्छविकालीन इँटा, माटाको डुँड बनाई पोलेको इँटा प्रयोग गरेर बनाइएको प्राचीन पाइपलाइन, सिक्का, भाँडाकुँडाका अवशेष पत्ता लगाएको थियो।

ऐतिहासिक दस्तावेजले विसं १४६२ मा पलाञ्चोक उपत्यकामा शक्तिसिँहराम बद्धनले राज्य सञ्चालन गरेको इतिहासकार दिनेशराज पन्त बताँउछन्। शक्तिसिँहरामले पलाञ्चोकलाई शक्तिशाली र स्वतन्त्र राज्यको रुपमा स्थापित गरेको इतिहास छ।

प्रतिवेदनमा उत्खननबाट प्राप्त सम्पदाका सम्बन्धमा कार्बन डेटिङ र जमिनमुनिको सम्पदा रहे–नरहेको पत्ता लगााउन जिओफिजिकल सर्भे आवश्यक रहेको औँल्याइएको थियो।

महानिर्देशक गौतमका अनुसार सर्भेका लागि ३ जनाको बेलायती टोली नेपालमै छ। टोलीले जनकपुर, सिम्रौनगढ, विराटनगर लगायतका स्थानमा सर्भे सम्पन्न गरिसकेको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्र्तगत विभाग र बेलायती विज्ञको टोलीले जमिनमुनि सम्पदाको सम्भावना रहे–नरहेकोबारे सर्भे गर्न लागिएको हो।  

के हो जिओफिजिकल सर्भे?
जिओफिजिकल सर्भे भूगोलको अवस्था नबिगारी जमिनको सतहबाट नै जमिनमुनिको अवस्था पत्ता लगाउने विधि हो।

सर्भेको नेतृत्व गरिरहेका पुरातत्व अधिकृत विष्णु पाठक मानव विकास क्रमसँगै जमिनको सतहमा रहेका वस्तुहरुबारे उत्खनन् नगरी उपकरणको माध्यमबाट पत्ता लगाउने विधि नै जिओफिजिकल सर्भे भएको बताँउछन्।

शरीरमा एक्स–रे र एमआरआई गरेजस्तै यसले जमिनमुनिको अध्ययन रेकर्ड गर्ने र फोटोग्राफी प्रदान गर्छ। यसले जमिनको सतहबाट ३ मिटरसम्मको अवस्थाको जानकारी दिने उनले जानकारी दिए।

नेपालमा छैन साधन र विज्ञता
विभागका अनुसार जिओफिजिकल सर्भेका लागि नेपालमा यसबारेको विज्ञता र उपकरण छैन। यसबारे विज्ञता र साधन विभागसँग नहुँदा पुरातात्विक सम्पदा उत्खननबाट महत्वपूर्ण प्रमाण फेला पर्दा विदेशी विज्ञको भर पर्नुपरेको छ।

महानिर्देशक गौतम कुनै प्रयोजनमा नेपाल आएका विज्ञलाई आग्रह गरेर व्यक्तिगत रुपमा सर्भेको काम गरिँदै आएको बताँउछन्। ‘हामीसँग आफ्नै विज्ञता र स्रोत–साधन छैनन्,’ उनी भन्छन्, ‘कुनै प्रयोजनमा नेपाल आएका विज्ञलाई आग्रह गरेर व्यक्तिगत रुपमा सर्भे गराउने गरेका छौँ।’

चैत ११, २०७७ बुधबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।