युगान्डाकी गायिकाले ‘फूलबुट्टे सारी’ गाएपछि...
गत कात्तिकमा गीतको ‘मेल भर्सन’ पुनः रेकर्ड गरियो। गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बन्यो। मेला तथा महोत्सवमा घन्किन थाल्यो यो गीत।
राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको उक्त गीत भाइरल बनेपछि यसको ‘फिमेल’, ‘चाइल्ड’ र ‘लिजेन्ड’ भर्सन निकालियो। ती भर्सनलाई पनि दर्शक तथा स्रोताले रुचाए।
देवीथाान म्युजिक युट्युब च्यानलमा अपलोड गरिएको उक्त गीतको ‘मेल भर्सन’को भिडियोमा आज (मंगलबार)सम्म २ करोड १३ लाखभन्दा बढी भ्युज आइसकेको छ। यस्तै, ‘फिमेल भर्सन’को भिडियो आजसम्म ४ करोड १७ लाखभन्दा बढी पटक हेरिएको छ।
यही गीत पाँच दिनयता पुनः भाइरल भइरहेको छ। कारण– युगान्डाकी गायिका वियोन्से फ्यामेसीले गाउनु।
वियोन्सेले गत शुक्रबार ‘डिका इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत यो गीतको ‘कभर’ भिडियो सार्वजनिक गरेकी हुन्। त्यसको पाँच दिनमै भिडियोमा पाँच लाखभन्दा बढी भ्युज आइसकेको छ।
गीतका संगीतकार राजनराज शिवाकोटीले वियोन्सेले कपिराइज सम्झौताबिनै गीत गाएको बताएका छन्। ‘यसको कपिराइट र रोयल्टीबारे उहाँसँग छलफल गर्ने छु,’ उनले भने।
संगीतकार शिवाकोटीले वियोन्सेले मिठो तरिकाले गीत गाएको प्रतिक्रिया दिए।
वियोत्सेलाई भेट्ने मदनकृष्णको चाहना
यो गीतको ‘लिजेन्ट भर्सन’का गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले वियोत्सेलाई भेट्ने चाहना राखेका छन्।
उनले सामाजिक सञ्जालमा गीतको भिडियो सेयर गर्दै वियात्सेलाई भेट्ने चाहना राखेका हुन्। ‘उनको स्वरमा गीत म्याच गरेको छ। नेपाली गीत यति प्रस्ट गाउनु हुने विदेशीलाई एक पटक भेट्ने चाहना छ,’ उनले भने।
यसले नेपाली गीत–संगीतको बजार अन्तर्राष्ट्रियकरण भएको उनको भनाइ छ।
चैत १०, २०७७ मंगलबार १८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।