लयमा फर्कंदै फिल्म क्षेत्र
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण २०७६ चैतमा ठप्प भएको फिल्म क्षेत्र विस्तारै लयमा फर्कंदै छ।
सरकारले फिल्म छायांकन र फिल्म हल सञ्चालनको अनुमति दिएसँगै फिल्म क्षेत्र लयमा फर्कन थालेको हो।
सरकारले गत माघ १ गते स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्म हल सञ्चालन गर्ने अनुमति दिएको थियो। त्यसअघि नै सरकारले फिल्म छायांकनको अनुमति दिइसकेको थियो।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का फिल्म क्षेत्रका गतिविधि बढ्दै गएकाले फिल्म क्षेत्र लयमा फर्कन थालेको बताउँछन्।
‘फिल्म क्षेत्र विस्तारै चलायमान हुँदै छ। फिल्म छायांकन धमाधम भइरहेको छ। केही फिल्म रिलिजको तयारीमा पनि छन्,’ उनले भने,
‘लकडाउन अवधिको तुलनामा अहिले फिल्म गतिविधि बढेको छ।’
अहिले करिब एक दर्जन फिल्म छायांकन भइरहेका छन्, जसमा ‘ए साथी सुनन’, ‘गोर्खा वारियर २’, ‘ए मेरो हजुर ४’ लगायत छन्।
केही फिल्म रिलिज भएका छन् त केही रिलिजको तयारीमा छन्। लकडाउनयता रिलिज भएका फिल्म हुन्, ‘एउटा यस्तो प्रेम कहानी’ र ‘गोर्खे’।
तर, यी दुई फिल्म दर्शकले रुचाएनन्। हलमा फिल्म हेर्न फाट्टफुट्ट मात्रै दर्शक देखिए।
यस्तै, केही फिल्म रिलिजको तयारीमा छन्। ‘कृष्णलीला’, ‘प्रेमगीत ३’, ‘चपली हाइट ३’ ‘शिरफूल’लगायत फिल्म दर्शकमाझ आउँदैछन्। तीमध्ये ‘कृष्णलीला’ले प्रदर्शन मितिसमेत तोकिसकेको छ। उक्त फिल्म चैत २७ गते प्रदर्शन हुँदैछ।
‘प्रेमगीत ३’ निर्माण पक्षले दुई महिनाअघि चैत अन्तिम साता प्रदर्शन गर्ने बताए पनि मिति घोषणा भने गरेको छैन।
बाँकी दुई फिल्म पनि प्रदर्शनका लागि तयारी अवस्थामा छन्। यी फिल्म अघिल्लो वर्ष लकडाउनका कारण प्रदर्शन हुन सकेका थिएनन्।
फिल्म हलमा पनि फाट्टफुट्ट दर्शक देखिन थालेका छन्। नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान निर्माताले फिल्म रिलिज गर्न डराइरहेकाले फिल्म हलमा दर्शक कम आएको दाबी गर्छन्।
‘वैशाखबाट फिल्म रिलिज गर्ने क्रम बढ्छ। त्यसपछि फिल्म हलमा दर्शक आउँछन् भन्नेमा विश्वस्त छौं,’ उनले भने।
चलचित्र कलाकार संघका अध्यक्ष खड्का अहिले प्रदर्शनमा रहेका फिल्मको कन्टेन्ट राम्रो नभएकाले दर्शकले नरुचाएको उनको दाबी छ।
चलचित्र निर्माता संघका द्वितीय उपाध्यक्ष तथा निर्माता गोविन्द शाही ढिलोमा दुई महिनापछि फिल्म क्षेत्र पुरानै लयमा फर्किसक्ने दाबी गर्छन्। ‘कोरोना खोप पनि आइसकेकाले दर्शक फिल्म हेर्न आउँछन् भन्नेमा आशावादी छौं,’ उनले भने।
यता चलचित्र संघका अध्यक्ष प्रधान फिल्म क्षेत्र चलायमान हुन एक महिना जति लाग्ने बताउँछन्।
कलाकारलाई चटारो
फिल्म छायांकन सुरु भएसँगै कलाकारलाई कामको चटारो बढेको छ। त्यसयता व्यस्त छिन् अभिनेत्री वर्षा शिवाकोटी। लकडाउन खुकुलो भएयता उनले ‘परदेशी २’ मा अभिनय गरिसकेकी छन् भने ‘ए साथी सुनन’ मा अभिनय गरिरहेकी छन्।
अभिनेता प्रदीप खड्का पनि फिल्म ‘प्रकाश’मा व्यस्त छन्। उक्त फिल्मपछि उनी ‘हुतुतु’ मा अभिनय गर्ने बताइएको छ।
लकडाउन खुकुलो भएपछि व्यस्त भएका अर्का अभिनेता हुन्, अनमोल केसी। उनी अहिले फिल्म ‘ए मेरो हजुर ४’ मा अभिनय गरिरहेका छन्। उक्त फिल्मलगत्तै ‘पारस’ मा अभिनय गर्ने छन् उनी।
उनीहरू मात्र होइनन्, अभिनेत्रीहरू केकी अधिकारी, पूजा शर्मा, स्वस्तिमा खड्का, छुल्ठिम गुरुङ, नीता ढुंगाना, अभिनेताहरू आकाश श्रेष्ठ, पुष्प खड्का, प्रमोद अग्रहरीलगायत कलाकारहरू फिल्ममा व्यस्त छन्।
अभिनेत्री अदिती बुढाथोकी पनि फिल्ममा फर्कंदै छिन्। उनले फिल्म ‘कृ’ र ‘बाबरी’ निर्माण गर्दै छिन्। उक्त फिल्मको छायांकन यही चैत २० गतेबाट हुँदैछ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका हातमा तीनवटा चलचित्र छन्। मिलन चाम्ससँग उनले अनटाइटल चलचित्रमा अनुबन्धित भइसकेकी छन्।
अभिनेता विपिन कार्की पनि एक वर्षपछि चलचित्रमा फर्किने तयारीमा छन्। उनी चलचित्र ‘प्रसाद २’ को छायांकनको तयारीमा छन्।
चैत १०, २०७७ मंगलबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।