कोरोना शुल्क भन्दै कलेजले उठायो १५ हजार, विद्यार्थी आन्दोलनमा

कोरोना शुल्क भन्दै कलेजले उठायो १५ हजार, विद्यार्थी आन्दोलनमा

सुर्खेत : कोरोना सङ्क्रमणको बहानामा निजी कलेजले मनोमानी रूपमा शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। वीरेन्द्रनगर—१० मा रहेको सुर्खेत एजुकेसन डेभलपमेन्ट एकेडेमी प्राली (सेडा) ले मनोमानी शुल्क असुलेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन्।

आन्दोलित विद्यार्थीहरूले सोमबार दिउँसो कलेज परिसरमै टायर बालेर प्रदर्शन गरेका थिए।

कलेज प्रशासनले विद्यार्थीसँग अतिरिक्त क्रियाकलाप र कोरोनाको नाममा चर्को शुल्क उठाएको एच ए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रेम रेग्मीले बताए।

‘अतिरिक्त क्रियाकलापको नाममा कलेजले वार्षिक रूपमा एउटा विद्यार्थीबाट नियमित शुल्क बाहेक २२ हजार रुपैयाँ उठाउँदै आएको छ, तर लाइब्रेरीमा सबै पुराना किताब छ, ल्याबमा केमिकल छैन,’ रेग्मीले भने‘अतिरिक्त क्रियाकलाप कस्तो हुन्छ, हामीले आजसम्म देख्न पाएका छैनौँ । कुनै माग राखेर प्रशासनमा जाँदा प्र्याकटिकल नम्बर काटिन्छ, यो कस्तो शिक्षा ?’

पछिल्लो समय कलेजले कोरोना शुल्कका नाममा प्रत्येक विद्यार्थीबाट १५ हजार रुपैयाँ उठाए पनि म्याद सकिएको स्यानिटाइजर कक्षा कोठामा राखिएको एच ए पहिलो वर्षमा अध्ययनरत विद्यार्थी जयन्ती शाहीले बताइन्।

‘कलेजले पहिलेदेखि नै अतिरिक्त शुल्कका नाममा मनोमानी रूपमा पैसा उठाउँदै आएको थियो,’ उनले भनिन्‘हुँदा–हुँदा अहिले त कोरोना शुल्क भनेर १५ हजार असुलेको छ, कक्षा कोठामा स्यानिटाइजर छैन, हात धुने राम्रो साबुन पानीको समेत व्यवस्था छैन, महिला विद्यार्थीका लागि प्याड छैन।’

कलेज प्रशासनलाई विद्यार्थी र अभिभावकले तोकिएभन्दा बढी शुल्क नलिन बारम्बार आग्रह गर्दा समेत नमानेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरूले बताए ।

चैत ९, २०७७ सोमबार २०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।