बोल्दा ढङ्ग नपुराउँदा आलोचित भयो ‘दोहोरी च्याम्पियन’

बोल्दा ढङ्ग नपुराउँदा आलोचित भयो ‘दोहोरी च्याम्पियन’

‘दोहोरी च्याम्पियन’मा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको शनिवार फिजिकल अडिसन प्रसारण भएको  थियो। कार्यक्रममा लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका गीतकार रमेश बिजी र गायक तथा गीतकार चन्द्र शर्मा निर्णायक छन्।

निर्णायक चन्द्र शर्माले दोहोरी गायिका कल्पना दाहालमाथि गरेको टिप्पणीमाथि दर्शकहरूले आलोचना गरिरहेका छन्। 

रमेश प्रसाईँसँग इन्द्रेणी कार्यक्रममा दोहोरी गाएर चर्चामा आएकी कल्पना दाहालप्रति लक्षित गर्दै निर्णायक  शर्माले ‘हामीले अरू कुनै टिभीतिर देखेको कल्पना बैनी हो तपाई’ भन्दै ‘तपाई अरू–अरू दोहोरी, एक दुई चोटि कता कता भाइरल–साइरल भएको बैनी हो?’ भनेका थिए।

निर्णायकले कल्पनालाई  ‘होच्याएर’ बोलेको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भयो। युट्युबका दर्शक शर्मामाथि खनिएका छन्।

युट्युबमा क्रेजी ब्वाइजले लेखेका छन्,‘कल्पना दाहाल र प्रदीप रोकालाई अलि बढी भने जस्तो लाग्यो जजहरूले।’

त्यस्तै राम बहादुर सिंहले लेखेका छन्‘ अलि हैन अति भनेको हो । आफूलाई कल्पनाजीको ठाउँमा उभ्याएर हेरौँ । के फिल भयो होला । एक दुई गीतले भाइरल भएको बैनी भन्दा । म भए फर्केर जान्थेन होला सेलेक्ट भैलाले पनि।’

प्रतिक्रिया दिने अधिकांशले कल्पनालाई समर्थन गरेका छन्।

अर्का निर्णायक प्रजापतिले एक प्रतियोगीले लगाएको लुगाको आलोचना गरेका थिए। प्रतियोगी सविता परियार र निशान्त विकको प्रस्तुतिमा कुनै खोट नलगाई निशान्तले लगाएको सुरुवालमा खोट लगाए। उनले सुरुवाल छोटो छ अर्को पाली लामो लगाएर आउनु भन्दै बाहिर पठाएका थिए।

नेपाल टेलिभिजनमा प्रसारण भइरहेको सोलाइ नेपाली लोकदोहोरी क्षेत्रकै सबैभन्दा ठुलो प्रतियोगिता दाबी गरिएको छ। प्रथम हुनेले २० लाख, दोस्रोले १० लाख,र  तेस्रोले ३ लाख पाउने आयोजकले बताएका छन्।

‘दोहोरी च्याम्पियन’ च्याम्पियन सञ्चालक गायक बद्री पङ्गेनी र गायिका प्रीति आले छन्। 

 

चैत ८, २०७७ आइतबार २१:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।