चतरा जलविद्युत केन्द्र : तीन गुना घट्यो उत्पादन
यो आयोजनामा प्रतियुनिट १.६ मेघावाट (१६२७ किलोवाट) अर्थात् ३.२ मेघावाट विद्युत उत्पादन क्षमताका दुई वटा युनिट जडान गरिएको छ। पानीको बहावमा एकरुपता नहुनु र विद्युत गृह मर्मतमा ढिलाइको असर उत्पादनमा परेको हो।
नेपाल र भारत सरकारबीच सन् १९५४ मा भएको कोशी सम्झौता बमोजिम मोरङ र सुनसरीका ६८ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा उपलव्ध गराइने उल्लेख गरियो। ३ वर्ष योजना परीक्षणको रुपमा सञ्चालन गरी भारत सरकारले सन् १९७२ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
कोशी नदीको पूर्वी किनारामा अवस्थित चतरामा साइट इन्टेक बनाई ५३ किलोमिटर लामो चतरा मुल नहर तथा विभिन्न ३६ वटा माइनरहरुको निर्माण गरिएको छ। ४५.३ क्युमेक्स क्षमता रहेको मुल नहरमा हाल ६० क्युमेक्स पानी बहने गरेको सुनसरी–मोरङ सिंचाइ आयोजनाले जनाएको छ।
चीनको ह्वाङ्होपछि विश्वकै धेरै बालुवा बोक्ने नदीको रुपमा रहेको सप्तकोशीमा सिंचाइको आयोजना निकै चुनौतीपूर्ण मानिएको थियो। नदीको बालुवा उर्वर जमिनमा पुग्ने खतराका बीच आयोजना सुचारु भएको थियो। पछि बालुवा छानेर मात्र सिंचाइ गर्ने योजना अनुसार च्यानल निर्माण गरिएको हो।
बालुवा निकाल्ने मेसिन (डे«जर) चलाउनको लागि नियमित बिजुली चाहिने भएपछि च्यानलमै विद्युतगृह स्थापना भएको हो। सिंचाइ आयोजनाद्वारा उत्पादित बिजुली डे«जरको लागि मात्र उपयोग गर्ने रणनीति भए पनि धरानको तीनकुनेस्थित ३३ केभी प्रसारण लाइनमा जोडिएको थियो।
सुरुमा सिंचाइ आयोजनाले नै सञ्चालन गर्दै आएको हाइड्रोपावर २०५२ सालमा विद्युत प्राधिकरणको नाममा हस्तान्तरण भएको हो। त्यसयता प्राधिकरणले नै त्यसको मर्मत–सम्भारको काम गरिरहेको छ।
प्राधिकरणले उच्च प्राथमिकतामा राखेर काम गरे पनि सिंचाइ आयोजनाको दोस्रो प्राथमिकतामा पर्ने भएकोले विद्युत उत्पादनमा समस्या देखिएको हो। आयोजनाका सूचना अधिकारी कुमार घिमिरेका अनुसार बिजुलीभन्दा पनि सिंचाइ पहिलो प्राथमिकता हुने गरेको छ।
विद्युत प्राधिकरणसँगको सम्झौतामै बर्खाको समयमा बढी चलाउने र हिउँदको समयमा कम चलाउने उल्लेख गरिएको उनको भनाइ छ। कतिपय अवस्थामा बढी बालुवा प्रवाह हुन थाल्यो भने केही दिनको लागि नहर नै बन्द गरिने घिमिरेले बताए।
चतरा जलविद्युत केन्द्रका ओभरसियर हरिसुन्दर माझीका अनुसार सम्झौता भएको भए पनि खास के उल्लेख गरिएको भन्ने प्रष्ट भन्न सकिने अवस्था छैन। तत्कालीन विद्रोही माओवादीले कार्यालयका कागजात जफत गरी जलाइदिएकोले कुनै प्रमाण नभएको उनको भनाइ छ।
त्थापि, विद्युत गृहबाट क्षमताभन्दा कम नै बिजुली उत्पादन भइरहेको उनी स्वीकार्छन्। एउटा युनिटको क्षमता १६२७ किलोवाट भए पनि हाल ५ सय किलोवाट मात्र उत्पादन हुने गरेको उनले बताए। एक नम्बर युनिटको गर्भनर बिग्रिएको ६ वर्ष भइसकेकोले दुई नम्बर युनिटबाट मात्र विद्युत उत्पादन हुने गरेको माझी बताउँछन्।
गभर्नर लगायत अन्य उपकरण खरिदको लागि टेन्डर आह्वान गर्न लागिएको उनले बताए। ‘जर्मन कम्पनी एन्ड्रिज हाइड्रोले नै उत्पादन गरेको उपरकरण प्रयोग गर्नुपर्ने अवस्था छ। समयमा सामग्री नआउने र पहिलाको मोडल परिस्कृत भएर आउँदा सेट गर्न समस्या हुन्छ,’ उनले भने, ‘अहिले पनि एक नम्बर युनिटका पार्ट्सहरु दुई नम्बर युनिटमा प्रयोग गरिएको छ।’
दुवै युनिट एकै पटक चलाउन पानीको बहाव र मेसिनको अवस्थाले साथ नदिएको माझीको तर्क छ।
चैत ८, २०७७ आइतबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।