मुसोम र उद्योग वाणिज्य महासंघबीच सम्झौता
सुर्खेत : आर्थिक स्रोतको खोजीलगायत विषयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशबीच सम्झौता भएको छ।
आर्थिक स्रोतको खोजी, कर्णाली प्रदेशमा रहेका उद्यमी तथा जनशक्तिलाई परिचालन गर्न र व्यावसायीसँग व्यावसायिक सम्भाव्यताको पहिचान गर्न शनिबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशबीच १७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिपत्रमा कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाही र स्कुल अफ म्यानेजमेन्ट (मुसोम)का निर्देशक डा. सुशीलकुमार शाहीले हस्ताक्षर गरेका हुन्।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले यो सम्झौताले कर्णालीमा भएका जनशक्तिलाई सिक्ने, बिक्ने र टिक्नेमा सहयोग पुर्याउने अपेक्षा गरे।
उपकुलपति सिंहले ज्ञान, सीप र क्षमताको सहकार्य हुन सके मात्र देश समृद्ध हुने बताए।
यस्तै, उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष शाहीले यो समझदारीलाई लागु गरी यहाँको जनशक्तिलाई आत्मनिर्भर र स्वरोजगार हुनेमा सहयोग पुग्ने बताए।
कर्णाली प्रदेशमा रहेका सम्भाव्यता उत्पादनको पहिचान गर्न र त्यसको व्यवस्थित गर्न, बजारीकरण गर्न सहयोग पुग्ने समझदारी पत्रमा जनाइएको छ।
समझदारी पत्रमा मुसोम तथा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले कर्णालीमा रहेका व्यावसायीहरूको क्षमता अभिवृद्धि गर्न र यहाँ आयात–निर्यात हुने वस्तुको अभिलेखीकरण गर्ने उल्लेख छ।
चैत ८, २०७७ आइतबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।