‘अर्को अर्थ नलागेमा’ नाटक समीक्षा : कथा सशक्त, प्रस्तुति फितलो
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रास कायम रहँदा काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा भने साँझ ५ बजेबाट ‘अर्को अर्थ नलागेमा’ नाटक हेर्न आउनेको भीडभाड सुरु हुन्छ।
भाषाविद् शरच्चन्द्र वस्तीको वस्तीको लेखनमा आधारित र वरिष्ठ रंगकर्मी सुनिल पोखरेलको संयोजन भएका कारण दर्शक चाप राम्रो छ नाटकघरमा।
तर, प्रस्तुति दरिलो नहुँदा नाटकले दर्शकलाई निरास बनाएको छ। तथापि, हास्यचेतको नाटक भएकाले दर्शकले हास्न पाएका छन्।
हास्यचेतले भरिपूर्ण सशक्त कथाको गाम्भीर्यतालाई कलाकार, निर्देशकले बुझ्न नसक्दा नाटकले आफ्नो वजलाई बचाउन सकेको छैन। व्यंग्यात्मक शैलीमा गम्भीर विषय उठाएको नाटकलाई कमसल प्रस्तुतिमा गाम्भीर्यता मार्नुभन्दा अक्षरकै रूपमा रहन दिएको भए नाटकको इज्जत बढ्ने थियो।
करिब १० आलेखको समायोजनमा बनेको नाटकको लाज बचाउन सक्रिय यदि कुनै तत्व छ भने त्यो हो लाइभ म्युजिक।
लाइभ म्युजिकका कलाकारको प्रस्तुति र उपयोग तारिफयोग्य छ। सुमधुर र अर्थपूर्ण संगीतको प्रयोग नाटकको सबैभन्दा सबल पक्ष हो।
कोरोनाका कारण बन्द भएको रंगमञ्च सञ्चालनमा आएपछि धेरै कलाकार सहित पहिलो पटक मञ्चन गरिएको हो यो नाटक। १० जना रंगकर्मीको सामूहिक निर्देशन रहेको नाटक निर्देशकीय दृष्टिकोण प्रष्ट नहुँदा गिजोलिन पुगेकाे छ।
कखगघ देशको कथा भनिएको नाटकले वर्तमान सरकारको चरित्रलाई प्रस्तुत गरेको छ। नाटकले वर्तमान सरकार र कर्मचारीतन्त्रमाथि कसिलो व्यंग्य हानेको छ।
श्यामलाल भण्डारी जस्ता अनेकौं नेपाली आफूलाई जीवित तुल्याउन कागजी प्रमाण खोज्दै हिँड्दा केही समयअघि प्रदर्शन भएको भारतीय चलचित्र ‘कागज’को झझल्को भने नाटक हेर्दा आउँछ। त्यस्तै, नाटकले कोरोनाकालमा मान्छेसँग मान्छे डराउनु पर्ने अवस्थालाई सटिक तवरले चित्रण गरेको छ।
कखगघ देशका महाराजले वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीको मुहार दर्शकको आँखाअघि ल्याइरहन्छ। नेताहरूको सोचाइ र सपना स्वार्थकेन्द्रित हुँदा कसरी राज्यतन्त्र बिथोलिन्छ र जनताले सास्ती पाउँछन्? नाटकले बुझाएको छ।
महाराजको सुरुवाल हराउनु, त्यसपछि भारदारहरूको सुरुवाल पनि हराउनु, महाराज अर्कोले दिएको कट्टुमा रम्नु र बेसुरे बाँसुरीले नेपालको वर्तमान राजनीतिलाई दर्शाइरहन्छ।
अनलाइन पत्रकारको प्रवृत्तिदेखि विकासको नाममा भइरहेको भ्युटावरको खेलसम्म, वौद्धिकको चरित्रदेखि महिला अस्तित्वका कुरासम्म, राज्यदेखि कर्मचारीतन्त्रसम्म, गरिव जनताको नियतीदेखि कोरोनाको असरसम्मका विषयवस्तु नाटकले उठाएको छ।
महाराजको शासन र कोरोनाको प्रभावमा नाटक बढी केन्द्रित छ। शासकलाई आसेपासेले कसरी भ्रममा राख्छन् भन्ने बुझाउन नाटक सक्षम छ। राष्ट्रियताको नांगो नाचले शासकलाई कसरी अन्धो बनाउन ‘अर्को अर्थ नलागेमा’ले भन्छ। साथै नाटकले कोरोनाकालमा जनजीवनमा भएको त्रासको उत्कर्षलाई प्रस्तुत गर्न सफल छ।
‘अर्को अर्थ नलागेमा’ वर्तमान नेपालको ऐना हो भन्दा फरक पर्दैन।
नेपालको नियति दर्शाएको नाटकमा धेरै कलाकारको संलग्नता छ। तर, उनीहरू मञ्चमा उभिँदा नाटक गर्नकै लागि मात्र उभिएका जस्ता मात्र देखिन्छन्। त्यसैले त, स्पष्ट भाव सञ्चार गर्न कलाकार सक्षम देखिँदैनन्। यसको कारण हो– निर्देशन। निर्देशकले पात्र छनोटलाई ध्यानमा राख्न सकेको भए नाटक नाटकजस्तो हुन सक्थ्यो। पात्र छनोटमा चुक्नु नाटकको अर्कोे कमजोर पक्ष हो।
पात्र छनोट कमजोर हुनु भनेको कथालाई निर्देशकले गहिराइमा नबुझ्नु हो। निर्देशकीय दृष्टि प्रष्ट नहुँदा राम्रो कथामाथि अन्याय भएको भान नाटक हेर्दा भइरहन्छ।
मण्डला थिएटरमा भइरहेको नाटकमा मण्डला थिएटरको गन्ध छुटोस् पनि कसरी। द्विअर्थी संवादको वर्चस्व रहने त्यस थिएटरका नाटकहरूजस्तै बेअर्थी रूपमा जनबोलीमा प्रयोग गरिने अश्लील शब्दको प्रयोग गर्नु हास्यचेतले भरिपूर्ण नाटकमाथि भद्धा मजाकसिवाय केही होइन। यो निर्देशकीय भुल हो।
हास्यप्रधान नाटकमा हसाउनकै लागि अश्लीलताको सहारा लिनुपर्छ भने त्यसलाई राम्रो मान्न सकिँदैन। पात्र छनोटमा ध्यान नदिने र जबरजस्ती हसाउन त्यस्ता अश्लीलता झल्काउने शब्दको प्रयोग गर्नुको अर्थ नाटकमा कतै भेटिँदैन।
व्यंग्यात्मक नाटकमा बिम्बहरूको प्रयोग स्वभाविक नै हो। आलेखहरू व्यंग्यात्मक र सबल नभएको भए ‘अर्को अर्थ नलागेमा’ सधैं नेपाली रंगमञ्चमा अर्को अर्थ लाग्ने नाटक बन्नेमा दुई मत नहोला।
‘अर्को अर्थ नलागेमा’ हेरी सकेपछि निर्देशकको काम के हो भन्ने प्रश्न दर्शकको मनमा स्वभाविक उठ्न सक्छ।
नाटकमा कथा छ। वस्तीको लेखाईको सौन्दर्य पनि छ। तर, निर्देशन पक्ष फितलो छ। नाटकमा धेरै कलाकार राख्नुको अर्थ पनि देखिँदैन।
आफ्ना विद्यार्थीको मन राख्न वरिष्ठ रंगकर्मी पोखरेलले मञ्चमा धेरै पात्र उभ्याएको हो कि भन्ने भान नाटक हेर्दा लागिरहन्छ।
‘अर्को अर्थ नलागेमा’लाई ओली सरकारको प्रतिबिम्ब, नेपाली समाजको अनुहार र वर्तमान समयको नियति भन्न सकिन्छ।
नाटकमा प्रयोग भएका प्रतिनिधि पात्रहरू हाम्रा आँखा अघिल्तिर नै छन्। समग्रमा नाटक प्रहसन जस्तो भए पनि पटकथा र संवादले रोमाञ्चकता भने ल्याउँछ।
डेढ घण्टा लामो नाटकमा मितव्ययी मञ्च व्यवस्थापन देख्न सकिन्छ भने नाटकमा प्रयोग भएका सामग्री (प्रोपटी)हरूको तालमेलले कथालाई न्याय गर्न खोजेको छ।
सामान्य प्रकाश व्यवस्थापन रहेको नाटकमा भेषभूषामा मितव्ययिता देख्न सकिन्छ। ध्वनिको प्रयोग सबल छ।
कथाहरूबीच अन्तरसम्बन्ध स्थापित नगराई, गीत–संगीतको प्रयोगले दर्शकलाई बाँध्दै नयाँ स्वादले नाटक पस्कन खोज्नु नाटकको राम्रो प्रयास मान्न सकिन्छ।
‘ज्ञ’ थिएटरका विद्यार्थीहरूको अभिनय रहेको यस नाटकलाई ‘ज्ञ’कै नवीनचन्द्र अर्याल, सुरज तमू, चन्द्र नेपाली, राज न्यौपाने, जयराम ढकाल, अकिल बजगाईं, आर्जेश रेग्मी, सञ्जीप योगी, निशांश पोखरेल र निता राईले निर्देशन गरेका छन्।
३९ भन्दा बढी कलाकारले अभिनय गरेको नाटक मञ्चन आज सकिँदैछ।
चैत ७, २०७७ शनिबार १८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।