सुन्दरता निखार्ने डाक्टर
काठमाडौं : प्लास्टिक तथा कस्मेटिक सर्जन डा. जसवन शाक्य शुष्मा कोइराला मेमोरियल अस्पतालमा कार्यरत थिए। करिव २२ वर्षकी युवतीलाई उनका बाबुआमाले उपचारका लागि ल्याए।
उनले आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएकी रहिछिन्। अस्पताल ल्याउँदा उनको शरीरको ४० प्रतिशत भाग जलिसकेको थियो।
अस्पतालको आइसियुमा राखेर उपचार सुरु भयो। आर्थिक अभाव भएपछि उनका बाबुआमाले ‘उपचार गर्ने पैसा छैन। मर्न खोजेकी हो। मर्नै दिनु’ भनेछन्।
बाबुआमाले मर्न दिनु भनेकै आधारमा चिकित्सकले आइसियुबाट निकाल्ने सम्भावना थिएन। उनी सहितको टिम युवतीलाई वचाउन कस्सिए। तर, तेस्रो दिन उनको शरीरले धानेन। उनी साससहित फर्किन सकिनन्।
उनले आफ्नो चिकित्सकीय यात्रामा भोगेको अर्को घटना पनि सुनाए।
चार वर्षअघि ताप्लेजुङका ६० वर्षीय कृष्णप्रसाद भट्टराई डा. जसवनकहाँ आइपुगे। उनको गालामा पलाएको ट्युमर बढेर कम्मरसम्म लत्रिएको थियो। ट्युमरको तौल झण्डै ११ किलो।
उनी झस्किए।
ट्युमरको भारीले कृष्णप्रसाद हिँडडुलसमेत गर्न नसक्ने भएका थिए। उनी हिँड्दा ट्युमर झोलामा हाल्थे अनि थाप्लोमा झोलाको नाम्लो बनाएर बोक्थे।
मजदुरी गरेर खाने कृष्णप्रसादको ज्यानलाई ट्युमर धान्नै कठिन भइरहेको थियो।
ट्युमरको ठाउँठाउँमा घाउ हुँदा झिंगा भन्किन्थे। मानिसहरू कृष्णप्रसादको छेउ पर्न समेत हिचकिचाउँथे।
ओहो ! कस्तो पीडा।
उनलाई कृष्णप्रसादलाई ट्युमरको भारीबाट मुक्त गर्न मन लाग्यो। उनीसँग उपचार धान्ने खर्च थिएन। जसवनले नै शल्यक्रियाको बन्दोबस्त गरे।
उनी टिमसहित जुटे सल्यक्रियामा। करिव ९ घण्टाको अप्रेसनपछि कृष्णप्रसाद ट्युमरको भारीबाट मुक्त भए। उनी खुसी हुँदै घर फर्किए।
‘उनी धेरै खुसी भए। जीवन नै नयाँ पाए सरह भयो उनलाई,’ डा. जसवनले कृष्णप्रसादको हाँसो सम्झँदै भने।
उनले अहिलेसम्म पनि त्यति ठूलो ट्युमरको अप्रेसन गरेका छैनन्। ‘न्यूरोफाइब्रोमाटोसिस’ जस्तो जन्मजातै हुने समस्या रहेछ यो। उनको शरीरभरि अन्य साना ट्युमरहरू पनि थिए।
गाली पनि गर्छन्
प्लास्टिक सर्जन डा. जसवनले शल्यक्रियामार्फत ज्यान बचाएकाहरूको संख्या टन्नै छ। विभिन्न दुर्घटनामा परेर सुन्दरता गुमाएकाहरूको जीवन लयमा फर्काएकाहरूको संख्या पनि बाक्लै छ।
‘सामान्यतः सर्जरी दुई किसिमका हुन्छन्, एउटा, रिकन्स्ट्रक्टिभ सर्जरी। अर्को कस्मेटिक सर्जरी,’ उनले खुलाए, ‘रिकन्स्ट्रक्टिभ सर्जरी उपचारका लागि गरिन्छ। कस्मेटिक्स सर्जरी सुन्दरताका लागि गरिन्छ।’
उनी दुवै प्रकारको उपचार पद्धतिमा सक्रिय छन्। उनी ज्यान जोखिममा परेकाहरूको ज्यान जोगाउन पनि खटिन्छन्। आफ्ना शरीरका भागहरू मन नपरेर बदल्न चाहनेहरूको शरीरको आकार–प्रकार पनि बदलिदिन्छन्।
कस्मेटिक सर्जरी गरेकामध्ये सबैबाट उनले स्याबासी भने पाएका रहेनछन्। कतिपय कस्मेटिक्स सर्जरी गर्नेहरूले गाली पनि गरेका रहेछन्।
‘९ वर्षपहिले एकजना महिलाको अनुहारको दागको शल्यक्रिया गरेको थिए। पछि त ती महिला दागै गएको छैन भनेर झगडा गर्न आइन्,’ उनले भने, ‘तर, शल्यक्रिया गर्नुपूर्व र शल्यक्रिया गरिसकेपछिको दागको फोटो देखाएपछि शान्त भइन्।’
भाषा नजान्दा फसाद
जसवनले ललितपुरकै खुमलटारस्थित अरनिको माविबाट २०४७ सालमा फस्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरे। त्यसपछि आइएस्सी पढे। आइएस्सीपछि उनी एमबिबिएस अध्ययनका लागि रसिया पुगे।
डाक्टर पढ्ने इच्छा थिएन। त्यो बेला रसियामा पढ्न जानेको लहर चलेको थियो। उनका साथी रूपेशले जसवनलाई डाक्टर पढ्न जाउँ भनेछन्। साथी पनि जाने भए पनि उनलाई पनि जोश चढ्यो। घरमा सल्लाह गरेर रूपेश र उनी एमबिबिएस पढ्न रसिया हान्निए।
रसिया त पुगे। तर, सुरुमा भाषाले दुःख दियो। बजार जाँदा पनि कापी र डटपेन बोकेर जान्थे रे।
‘बजारमा सामान किन्न जाँदा कति भयो भनेर सोध्न पनि नआउने। पसलेले कपीमा अंक लेखेर दिन्थे, त्यही अनुसार पैसा तिर्थे,’ उनले भने।
एकातिर जान बस चढ्यो अन्तै पुग्थे रे। बडो सकस भएपछि भाषातिर ध्यान दिए र चार महिना लटरपटर बोल्ने बुझ्ने भए।
एक वर्ष भाषाको अध्ययनै गरे। ६ वर्ष एमबिबिएस अध्ययनमा गयो।
दुई टुक्रा भएको हात जस्ताको त्यस्तै
सन् १९९९ मा रुसको मस्कोस्थित ‘रसियन स्टेट मेडिकल युनिभर्सिटी’बाट एमबिबिएस उत्तीर्ण भएपछि उनी नेपाल फर्किए।
कान्ति बाल अस्पतालमा एक वर्ष मेडिकल अधिकृतको रूपमा काम गरे। उनले अध्ययन रसियन भाषामा गरेका थिए। त्यसको प्रभाव नेपालमा काम गर्दा पर्यो।
‘औषधिको जेनेरिक र ट्रेड नाममा समस्या भयो,’ उनले सुनाए, ‘ट्रेड नाम थाहा नपाउँदा गाह्रो हुन्थ्यो।’
करिव ३ महिना नेपाल मेडिकल कलेजमा काम गरे अनि चितवनको कुरिनघाटको मनकामना पोलिक्लिनिक गएर एक वर्ष काम गरेपछि समस्या सुल्झदै गयो।
उनका साथी डा. विनोद कर्ण शुष्मा कोइराला मेमोरियल अस्पतालमा काम गर्थे। एक दिन जसवन साथीलाई भेट्न अस्पताल पुगे। साथीले त्यहीं काम मिलाइदिए। त्यहाँ उनले करिव ३ महिना काम गर्दा सर्जरी विषयमा थप अध्ययन गर्नुपर्ने रहेछ भन्ने लाग्यो।
उनी किर्गिस्तान गएर ‘किर्गिज रसियन स्लाभिक युनिभर्सिटी’ पुगेर ‘मास्टर्स इन सर्जरी (सर्जरीमा एमएस)मा भर्ना भए।
सर्जरी विषयमा मन जानुको कारणचाहिँ कान्ति अस्पतालमा गरेको कामको प्रभाव रहेछ।
उनले त्यहाँ बच्चाको सर्जरी विभागमा काम गरेका थिए। कान्तिमा पेडियट्रिक सर्जरीमा काम गर्दा सर्जरीमा थप अध्ययन गर्ने योजना बनेको उनले खुलाए।
किर्गिस्तानमा मास्टर्स पढ्दा उनी ह्याण्ड सर्जरी विभागमा परे। धेरैजसो फ्याक्ट्रीमा हात काटिएका बिरामी आउने।
एकजना युवा मेसिनले काटेर दुई टुक्रा बनाएको हातको उपचार गर्न अस्पताल आउँदा टुक्रिएको हात त के जोडिएला र भन्ने लागेको रहेछ उनलाई। तर, उनका गुरुले करिव ९ घण्टाको शल्यक्रिया गरेर ती पुरुषको हात जोडिदिए। त्यो शल्यक्रियामा उनी सहयोगी थिए।
‘छिनेकै हात जोड्न सहयोगी बनेको थिएँ। त्यो देखेर नेपालमा पनि यस्ता समस्या भएका धेरै हुन्छन् भनेर सिक्न ऊर्जा मिल्यो,’ उनले उकेरासँग भने, ‘त्यहाँ औंला जल्ने, पोल्ने कारणले औंला बांगिएका धेरै बिरामी अस्पतालमा आउँथे।’
मास्टर्स पढ्दाका उनका गुरु (मेन्टर) प्लास्टिक सर्जन नै थिए। उनीबाट धेरै व्यावहारिक ज्ञान पाएको उनले बताए।
०००
डा. जसवन सन् २००८ मा मास्टर्स इन सर्जरीको ३ वर्षीय अध्ययन पूरा गरेर नेपाल फर्किए।
सन् २००८ देखि १२ वर्ष शुष्मा कोइराला मेमोरियल अस्पतालमै काम गरे उनले। सन् २००९ देखि २०१९ सम्म १० वर्ष ‘मेडिकल डाइरेक्टर’ रहे उनी।
सुरुमा त्यहाँ आगोले, पोलेर औंला जोडिएको केस धेरै आउँथे। मास्टर्समा किर्गिस्तानमा पढ्दा सिकेको सीप नेपालमा राम्रैसँग प्रयोग गरे।
‘पढ्दा पनि आगोले पोलेर औंला जोडिएको, बांगिएको केसको शल्यक्रियामा नै मेरो प्राथमिकता थियो,’ उनले भने, ‘नेपाल फर्किएपछि यस्ता केसको उपचार गर्न सहज भयो।’
उनले त्यो अस्पतालमा ५० भन्दा बढी जर्मन प्लास्टिक सर्जनसँग काम गर्ने मौका पाए। त्यसले उनको अनुभव थप खारियो।
थाइल्याण्ड र कोरियाको सिकाइ
उनलाई प्लास्टिक सर्जरीमा मन बस्दै गयो। किर्गिस्थानको पढाइले मात्र चित्त बुझेन। उनले सन् २०११ मा दक्षिण कोरियामा फेलोसिप पाए ३ महिने प्लास्टिक सर्जरीको।
कोरियामा सिकेको ३ वर्षपछि थाइल्याण्डको बैंककमा गएर एक वर्ष प्लास्टिक सर्जरी गर्न सिके।
यी दुई अध्ययन र सिकाइले उनलाई प्लास्टिक सर्जनका रूपमा थप निखारता मिल्यो। उनी बैंककबाट फर्किएपछि कस्मेटिक्स सर्जरीमा लागे।
अहिले उनी निजी क्लिनिक खोलेर बसेका छन्। प्रायः उनका ग्राहक समस्यामा परेकाभन्दा शौखिन बढी छन्। आँखा, नाक, स्तन, पेटको आकार घटाउन खटिन्छन् उनी अहिले।
उनको अनुभवमा अहिले नेपालमा आफ्ना शरीरका अंगको आकार–प्रकार चित्त नबुझेर बदल्न चाहनेको संख्या बढिरहेको छ। उनको क्लिनिकमा सबै वर्गका मानिस आउने गरेको उनले सुनाए।
‘अधिकांश अनुहारको सुुन्दरता बढाउन आउँछन्,’ उनले भने, ‘आँखाको मुन्द्री मिलाउन चाहने, नाकको आकार बदल्न चाहने, गाला मिलाउन चाहनेहरू अलि बढी छन् नेपालमा।’
चैत ७, २०७७ शनिबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।