ठगहरूको रजगज, बिचल्लीमा पीडित

ठगहरूको रजगज, बिचल्लीमा  पीडित

इटहरी : थाइल्यान्ड गएर लाखौँ कमाउने योजनामा घरबाट निस्किएका मीनबहादुर थापा अहिले इटहरी बजारमा भौँतारिरहेका छन्। भोजपुरबाट विदेश जानका लागि इटहरी आएका थापा अहिले बिचल्लीमा छन्।

महिनामा एक लाख कमाइ गर्ने र छोराछोरीलाई राम्रो बोर्डिङमा पढाउने सपना बुनेका उनी अहिले घर फर्किने खर्च नभएर साथीको शरणमा बसेका छन्।  

‘ऋण गरेर ल्याएको पैसा डुबाएर घर फर्कन पनि मन छैन,’ उनले भने, ‘कुनै सिप नभए पनि हुन्छ, सुपर मार्केटमा जागिर दिन्छु भनेर पैसा माग्यो, अहिले बिचल्ली बनाइदियो।’

२ लाख ७० हजार बुझाएका थापा साथीको लहलहैमा फसेको बताउँछन्। 

थापा जस्तै साथीकै भर परेका इटहरीका बलराम चौधरीको पनि २ लाख ७० हजार नै फसेको छ। विदेशमा एकै पटक धेरै कमाइ हुने सुनेर रोयल पान्डा एजुकेसन कन्सल्टेन्सी गएको उनी बताउँछन्। मासिक १ लाखसम्म कमाइ हुने सुनेका चौधरी सुरुमा निकै हौसिएका थिए। ठगिएको थाहा पाएपछि भने भोक–निद्रा हराएको सुनाउँछन् उनी।

थाइल्यान्डको प्रलोभन देखाएर ३७ जना युवाबाट १ करोड बढी रकम सङ्कलन गरी इटहरीका कन्सल्टेन्सी सञ्चालकहरू फरार भएका छन्। युएई हुँदै थाइल्यान्ड पुर्याइदिने भन्दै ६ महिनादेखि रकम सङ्कलन गरिरहेका उनीहरू १० दिनदेखि बेपत्ता भएका हुन्। 

इटहरीको नेसनल गल्लीमा रहेको रोयल पान्डा एजुकेसन कन्सल्टेन्सी चलाउँदै आएका दीपक ढुङ्गेल र उनका सहयोगी विशाल आचार्य हाल सम्पर्कविहीन अवस्थामा छन्।

प्रतिव्यक्ति २ लाख ५० हजारदेखि २ लाख ८० हजारसम्म लिएका उनीहरूले युएईको लागि यहीँ मार्च ६ तारिकको टिकट समेत काटिदिएका थिए। युएई जान विमानस्थल पुगेका युवाहरू टिकट क्यान्सिल भएको बुझेपछि झस्किए। त्यसपछि ढुङ्गेल र आचार्य दुवैलाई सम्पर्क गर्दा फोन अफ भएपछि आफूहरू ठगिएको उनीहरूले थाहा पाए। 

ठगहरू विरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिन पुगेका पीडितलाई प्रहरीले उजुरी दर्ता नै नगरी फर्काइदिएको छ। वैदेशिक रोजगार सम्बन्धी विषय भएकोले श्रम कार्यालय जानु भनेर सल्लाह दिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले बताए। पीडित युवाहरूले श्रम तथा रोजगार कार्यालय प्रदेश १ मा उजुरी दिएका छन्। 

विदेश पठाउने मात्र हैन, देशमै रोजगारी दिने र ब्याज दिने भन्दै ठग्नेहरू पनि मौलाइरहेका छन्।

२०७६ भदौमा मोरङको बेलबारीका सुनचाँदी व्यवसायी घनश्याम श्रेष्ठले स्थानीयको १५ करोड लिएर फरार भए। ओम कृष्ण सुनचाँदी पसल सञ्चालन गर्ने उनी श्रीमती सहित बेपत्ता भए। स्थानीय पीडितले प्रहरी समक्ष उजुरी दिएपछि बल्ल उनी सम्पर्कमा आए। 

बैङ्कमा भन्दा बढी ब्याज आउने लोभमा ११ लाख ७० हजार रुपैयाँ दिएका उर्लाबारीका आशिष् भुजेलले अहिलेसम्म एक रुपैयाँ पनि फिर्ता पाएका छैनन्। ‘बैङ्कमा राख्दा धेरै प्रक्रिया पुर्याउनुपर्ने भन्दै चिने जानेको भनेर दिएको हुँ।’ उनले भने, ‘बैङ्कले थोरै ब्याज दिने रैछ। बरु सुन पसलमा राख्दा सयकडा २४ का दरले दिने भएपछि यतै दिएको हुँ।’

ब्याजकै लोभमा कृष्णा भण्डारीले पनि ८ लाख २० हजार रुपैयाँ दिएकी थिइन्। बैङ्कको भन्दा कता हो कता धेरै ब्याज आउने भएपछि हौसिएर पैसा दिएकी उनले अहिलेसम्म एक रुपैयाँ पाउन सकेकी छैनन्। भुजेल र भण्डारी जस्तै १ सय ६० जना स्थानीयको पैसा लिएका श्रेष्ठले जायजेथा बेचेर भुक्तानी गर्ने बाचा गरेको दुई वर्ष पूरा हुन लाग्यो। तर अहिलेसम्म एक जनाको पनि पैसा भुक्तानी गरेका छैनन्। 

१६ करोडभन्दा बढी पैसा ठगेको आरोपमा इटहरीका सिंहदेवी ज्वेलर्स र सिंहदेवी मनी ट्रान्सफरका सञ्चालक दीपक गजमेर पुर्पक्षको लागि थुनामा छन्। बढी ब्याज दिने भन्दै स्थानीयसँग पैसा उठाउँदै आएका उनी २०७५ साउनमा पक्राउ परेका हुन्।

गजमेरका छिमेकी जितेन्द्र पोखरेलले पनि ब्याज बढी आउने भएपछि ५८ लाख जम्मा गरेका थिए। पैसा जम्मा गरेको लामो समयसम्म पनि ब्याज नदिएपछि सशङ्कित भएका पोखरेलले अरूसँग पनि कुरा गर्न थाले ।

वरपर नै धेरैको एउटै समस्या भएपछि २६७ जना स्थानीयले गजमेर विरुद्ध उजुरी दिएका थिए। दैनिक बचत गर्दा सहकारीको भन्दा धेरै ब्याज दिने भन्दै उनले पैसा उठाउँदै आएका थिए। 

वैदेशिक रोजगारी र ब्याजको नाममा पूर्वी तराईमा ठगी धन्दा निकै मौलाएको प्रहरीले जनाएको छ। प्रदेश १ प्रहरी कार्यालयका अनुसार आव २०७६/७७ मा सबैभन्दा बढी झापामा ३५ वटा ठगीका निवेदन परेका थिए।

त्यसपछि सुनसरीमा २३ र मोरङमा १९ वटा ठगीका निवेदन परे। सबैभन्दा कम ओखलढुङ्गा, सोलुखुम्बु र धनकुटामा १/१ वटा मात्र निवेदन परेका छन्। गत आवमा प्रदेश १ मा १२० वटा ठगीका घटना भएका थिए। 

चालु आवको फागुन मसान्तसम्ममा सबैभन्दा बढी मोरङमा ३७ वटा घटना घटेका छन्। प्रदेश १ भरि हालसम्म ७९ वटा घटना भएको प्रहरी कार्यालयले जानकारी दिएको छ। 

चैत ७, २०७७ शनिबार १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।