नयाँ सरकारबारे बोली बदल्दै काँग्रेस नेता, जसपामा विवाद, माओवादी केन्द्र निर्णयहीन

नयाँ सरकारबारे बोली बदल्दै काँग्रेस नेता, जसपामा विवाद, माओवादी केन्द्र निर्णयहीन

काठमाडौँ : नयाँ सरकार गठनबारे अन्योल बढ्दै गइरहेको बेला सरकारको नेतृत्व गर्ने दाबी गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा नेतापिच्छे फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्। हिजो सरकारमा जानु हुन्न भन्ने लाइनमा देखिएका नेताहरू अब सरकारको नेतृत्व गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। हिजो अब सरकारको नेतृत्व गर्नुपर्ने दाबी गर्नेहरू हतार गर्न नहुने बताउन थालेका छन्।

काँग्रेसको नेतृत्वमा सरकार गठनको विपक्षमा देखिएका काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले बिहीबार विराटनगरमा एक साताभित्रै ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव आउने घोषणा गरेका थिए। शुक्रवार चितवन पुगेका उनले नयाँ सरकार गठनको समय नै तोकेर २ हप्ताभित्रमा काँग्रेसको नेतृत्वमा सरकार गठन हुने घोषणा नै गरिदिए। नेता गगन थापा समेत अब सरकारको नेतृत्व आफ्नै पार्टीले गर्नुपर्ने पक्षमा उभिएका छन्।

शुक्रवार प्रतिनिधि सभामा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले समेत ‘सर्वोच्च अदालतले सरकारको निर्णय असंवैधानिक भएको फैसला गरेकाले नैतिकताका आधारमा सरकारले मार्ग प्रशस्त गर्नुपर्छ कि पर्दैन भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्। यी सबै अभिव्यक्तिले काङ्ग्रेसभित्र नयाँ सरकार गठनको गृहकार्य तीव्र रूपमा अगाडि बढेको देखिन्छ।

तर संसद् विघटनदेखि पुनर्स्थापनासम्म पनि काँग्रेसका नेताबिच प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा एकै मत बन्न सकेको थिएन। नेतापिच्छे फरक फरक धारणा आइरहेका थिए। 

सर्वोच्चको आदेशमा एमाले र माओवादी केन्द्र ब्युँतिए पछिको अवस्थामा पनि काँग्रेसका नेताहरू एकै मतमा उभिन सकेको भने देखिएन। नयाँ सरकार गठनबारे नेतापिच्छे फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्। 

शुक्रवार चितवनमा काँग्रेस महामन्त्रीले २ सातामा नयाँ सरकार गठन हुने घोषणा गर्दा उता सप्तरीमा रहेका काँग्रेस नेता प्रकाशशरण महतले भने कुनै सम्झौता गरेर काँग्रेस सरकारमा नजाने घोषणा गरे। 

शुक्रवार सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा उनले ओली सरकारको विकल्प खोज्नुपर्ने बेला भइसकेको तर काँग्रेस एक्लैले केही गर्न नसक्ने बताउँदै बताए।

उनले भने‘ ‘काँग्रेसको ६१ जना सांसद मात्रै छन् । यसमा मधेसवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ। तर हरेक सम्झौता काँग्रेसले नै गर्नुपर्छ भने काँग्रेस सरकारमा जाँदैन।’

उनले वैकल्पिक सरकार निर्माण गरौँ भनेर माओवादी र मधेस केन्द्रित दल आउँछन् भने नेतृत्व लिन काँग्रेस तयार भएको बताए ।

बाधक जसपाको माग

शुक्रवार काँग्रेसका नेता गगन थापाले जनता समाजवादी पार्टीलाई सरकार निर्माणका सवालमा छिटो निर्णय गर्न आग्रह गरे । पोखराको एक कार्यक्रममा बोल्दै उनले भने ‘कसलाई समर्थन गर्ने हो वा आफै अघि सर्ने हो, जे गरे पनि छिटो निर्णय गर्नुहोस्। जति अलमल हुन्छ देशले त्यति नै धेरै क्षति व्यहोर्छ, मुलुकमा अस्थिरता तर्फ जान्छ।’

तर सरकार गठनबारे निर्णय गर्न शुक्रवार बसेको जनता समाजवादी पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि काँग्रेस र माओवादी केन्द्रसँग मिलेर संयुक्त सरकार बनाउने भन्ने विषयमा मत नमिलेपछि बैठकै स्थगित भयो। जसपाले टिकापुर हत्याकाण्डमा जन्मकैद पाएका आफ्ना सांसद रेसम चौधरीको रिहाइ, संविधान संशोधन र मधेस आन्दोलनका मागको सम्बोधनलाई सरकारलाई समर्थन या नयाँ सरकार गठनको सर्तको रूपमा अगाडि सारिरहेको छ।

सो विषयमा प्रधानमन्त्री ओलीसँग पटक–पटक जसपाको नेताहरूको छलफल भइसकेको छ। माओवादी केन्द्र र काँग्रेससँग पनि जसपाका नेताहरूले छलफल गरिसकेका छन्। तर जसपा भित्र महन्थ ठाकुर र उपेन्द्र यादवबिच मत नमिल्दा निर्णय भने हुन सकेको छैन।

महन्थ र उनको समूहका नेताहरू ओली माग पुरा गर्न राजी भएकाले उनको सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा देखिएका छन् भने यादव र बाबुराम भट्टराई समूह संसद् विघटन गर्ने ओलीको कदम विरुद्ध पार्टी आन्दोलनमा गएकाले उनलाई समर्थन गर्न नसकिने पक्षमा छन्। तर कुरा मिल्न सकेको छैन। जसपाको यही विवादले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गर्न सकेको छैन भने काँग्रेसले नयाँ सरकार गठनका लागि अपनाउनु पर्ने संसदीय प्रक्रिया सुरु गर्न सकेको छैन।

अन्योलमा माओवादी केन्द्र

माओवादी केन्द्रका नेताहरूको अभिव्यक्तिले देखाउँछ उनीहरू ओली नेतृत्वको सरकार बदल्न कति आतुर छन् भन्ने। तर उनीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गर्न सकेका छैनन्। उनीहरूले समर्थन फिर्ता नलिएसम्म सरकार बहुमतमै रहन्छ।

काँग्रेस र जसपासँग नयाँ सरकार गठनबारे सहमति हुन नसक्दा माओवादी केन्द्र निर्णयमा पुग्न नसकेको प्रस्टै देखिन्छ। भावी सरकारको स्वरूप अनि कसको कति भागिदारी भन्नेमा छलफल समेत हुन नसकेकाले काँग्रेसले समेत नयाँ सरकार गठनका लागि अपनाउनु पर्ने संसदीय प्रक्रिया सुरु गर्न सकेको छैन।

तर काँग्रेस महामन्त्री शशाङ्कले एक साताभित्र अविश्वास प्रस्ताव जाने दाबी गरिसकेका छन्। २ हप्तामा नयाँ सरकार बन्ने घोषणा गरिसकेकाले आन्तरिक रूपमा सहमति बनिसकेको सङ्केत देखिएको छ।

 

चैत ६, २०७७ शुक्रबार २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।