कर्णालीमा बढ्दै आत्महत्या,कारण घरेलु हिंसा 

कर्णालीमा बढ्दै आत्महत्या,कारण घरेलु हिंसा 

सुर्खेत : फागुन २४ गते दैलेखको आठबिस नगरपालिका–३ निमायलकी ३५ वर्षीय सुकी बडुवाल श्रीमानको हिंसा सहन नसकेपछि चार सन्तानसहित कर्णाली नदीमा हेलिइन्।

उनको शव भेटिएपछि जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरिएको थियो। जसमा उनको पेटमा चार महिनाको भ्रूण रहेको खुलेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार गर्भपतनको विषयमा विषयमा  श्रीमानसँग उनको विवाद भइरहेको थियो। आत्महत्याको कारण श्रीमान्ले दिइरहने यातना र विवाद रहेको हुनसक्ने प्रहरीको आशङ्का छ। उनको श्रीमान् प्रहरी हिरासतमा छन्।

यस्तै सल्यानको कपुरकोट गाउँपालिकाकी २१ वर्षीय कल्पना केसीले पनि गत साउनमा आत्महत्या गरिन्। केसीको आत्महत्याको कारण पनि श्रीमानबाट भइरहेको हिंसा देखियो।

दैलेखकी रञ्जना दसौंदीले पनि परिवारको हिंसा सहन नसकेर आत्महत्या गरिन् ।

बालविवाह गरेकी उनका श्रीमान् विदेश गएको मौकामा घरका परिवारले कुटपिट गर्ने गरेपछि उनले आत्महत्या गरेको देखिएको थियो।

सल्यानमा धेरै आत्महत्या

कर्णाली प्रदेशभर तीन वर्षमा ७ सय ६८ जनाले आत्महत्या गरेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार  आर्थिक वर्ष २०७७ -०७८ को माघ मसान्तसम्म कर्णालीका २ सय ३२ जनाले आत्महत्या गरेका छन्।

तथ्याङ्क अनुसार यो बिचमा सल्यानमा ४९,रुकुममा २२ जना, जुम्लामा १३, हुम्ला दुई, मुगु तीन, कालिकोट ९ जना गरी २ सय ७० जनाले आत्महत्या गरेका छन् । 

१० वटै जिल्लाको जिल्लागत तथ्याङ्कअनुसार ९६ जना महिला र १ सय ४५ जना पुरुषले आत्महत्या गरेको देखिन्छ। १४ जना बालक र १५ बालिकाले समेत आत्महत्या गरेका छन्।

यस्तै आर्थिक वर्ष २०७६-०७७ मा ३ सय १८ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १०० जना महिला र १८० पुरुष  रहेका छन् । जसमध्ये २१ बालक र  १७ बालिकाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै २०७५-०७६ मा २ सय ८८ जनाले आत्महत्या गरेका छन् । यसमा १ सय २० जना महिला र १ सय ३० जना पुरुष छन् भने १५ जना बालक र २३ जना बालिका छन् ।

कर्णाली प्रदेशमै सबैभन्दा धेरै आत्महत्या गर्ने जिल्लामा सल्यान पर्छ। सल्यानमा ६४ जनाले आत्महत्या गरेका छन्। सबैभन्दा कम हुम्लामा दुई जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अर्जुन चन्दले जानकारी दिए । 

आत्महत्याको प्रमुख कारण हिंसा

प्रहरी तथ्याङ्क अनुसार कर्णालीमा बढ्दो आत्महत्याको कारण घर परिवार, श्रीमानको र समाजबाट हुने शारीरिक तथा मानसिक हिंसा देखिन्छ। ‘आत्महत्याको प्रमुख कारण घरेलु हिंसा, बालविवाह, बेरोजगार र गोपनीयता भङ्ग भएको देखिन्छ,’एसएसपी चन्दले भने।

प्रविधिको दुरुपयोगबाट बढ्ने मानसिक तनाव, अशिक्षा र लागु औषध पनि आत्महत्याको कारण देखिएको  सामाजिक सेवा केन्द्र नेपालका संस्थापक अध्यक्ष हिरा सिंह थापाले बताए । 

आत्महत्या रोकथामका लागि हिंसालाई कम गर्न र मनोबल वृद्धि हुने, जीवन उपयोगी सिपहरू, मनोसामाजिक ज्ञान र जनचेतनामा जोड् दिनुपर्ने बालिका बचाउ अभियानकी अभियन्ता सजना सुनारले बताइन् ।

चैत ६, २०७७ शुक्रबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।