ओलीविरुद्ध उत्रन खनाल-नेपाल भेलाको आव्हान 

ओलीविरुद्ध उत्रन खनाल-नेपाल भेलाको आव्हान 

काठमाडौँ : आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निरङ्कुशता विरुद्ध उत्रन खनाल-नेपाल समूहले एमालेका नेता कार्यकर्ताहरूलाई आव्हान गरेको छ। ओलीले पार्टीलाई विधान, विधि, पद्धति अनुरूप अगाडि बढ्न नदिएको भन्दै ओलीको निरंकुशताविरुद्ध उत्रन खनाल-नेपाल समूहले आव्हान गरेको हो। 

खनाल-नेपाल समूहले बोलाएको भेलाले ओलीको गुटबन्दीबाट भएका र हुनसक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकुलका कुनै पनि काम कारबाहीका विरुद्ध दृढताका साथ अग्रसर हुन सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूलाई भनेको छ। 

प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले गरेको फैसलाको भेलाले स्वागत गरेको छ। तर, नेकपाको नाम सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाप्रति भेलाले असहमति प्रकट गरेको छ। 

नेकपाको दर्ता खारेज गर्ने सर्वोच्चको फागुन २३ गतेको परमादेश संविधान प्रदत्त राजनीतिक दलको एकीकृत हुन पाउने अधिकार एवं जनताको सार्वभौम अधिकारमाथि समेत प्रहार भएको भेलाले निष्कर्ष निकालेको छ।

भेलाले स्वतन्त्र न्यायपालिका र कानुनी शासनको अवलम्बनमा जोड दिँदै अदालत तथा निर्वाचन आयोग लगायतका राज्यका सबै निकाहरूलाई संविधान, कानुन र सुशासनका मान्यताअनुरूप अघि बढ्न आग्रह पनि गरेको छ। 

एमाले खनाल-नेपाल समूहले राष्ट्रिय देखि स्थानीय तहसम्म भेला गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले २०७५ जेठ २ गतेकै संरचनामा रहेको भन्दै उसले स्थानीय तहसम्म जनसङ्गठनहरूको भेला गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए। 

राष्ट्रिय कार्यकर्ता भेलाको १७ बुँदे निष्कर्ष सार्वजनिक गर्ने कार्यक्रममा भट्टराईले अध्यक्ष ओलीले चैत ७ गते बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा नजाने बताए।

भेलाले २०७५ जेठ २ गते कायम रहेका कमिटीहरूलाई सक्रिय बनाउने निष्कर्ष निकालेको छ। जेठ २ गतेपछि बनेका कुनै पनि संरचना स्वीकार नगर्ने भन्दै भेलाले पार्टीको नवौँ महाधिवेशनले पारित गरेको जबज र समाजवादलाई पुष्टि गरेको सचिव भट्टराईले दाबी गरे।

जबजलाई कार्यान्वयन गर्न देशभर अभियान सञ्चालन गर्ने निर्णय भेलाले गरेको छ। ‘जनसङ्गठनका राष्ट्रिय देखि जिल्ला तहमा प्रशिक्षण, भेलाहरू हुनेछन्,’ भट्टराईले भने, ‘भेला प्रशिक्षण २०७५ जेठ २ गतेको कमिटीलाई आधार बनाएर हुनेछ।’

एमाले फुटाउन देशी विदेशी षडयन्त्र भएको भन्दै आफ्ना नेता कार्यकर्तालाई धम्क्याउने तर्साउने कार्यको भेलाले निन्दा गरेको छ। सचिव भट्टराईले आफूहरूको तर्फबाट पार्टी फुटाउने काम नहुने बताए। 

चैत ५, २०७७ बिहीबार १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।