बालुवाटार बैठकबारे माधव नेपालको प्रतिक्रिया : नजाऊँ किन आएन भन्छन्, जाऊँ भित्तामा ठोकिन्छ

काठमाडौँ : नेकपा एमाले नेपाल-खनाल समूहले फागुन २८ गते अध्यक्ष केपी ओलीले गरेका निर्णय नमान्ने बताएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्ष सुनाउँदै वरिष्ठ नेता माधव नेपालले फागुन २८ को निर्णय नमान्ने बताएका हुन्।
पार्टीलाई २०७५ जेठ ३ अगाडिकै संरचनामा फर्काउनु पर्ने मुख्य बटम लाइन भएको नेता नेपालले बताए। ‘हामीले सुनेका छौँ, ओली अध्यक्ष र महासचिव पोखरेल छन् रे,’ नेता नेपालले भने, ‘तर हामीले सोध्दा हैन भन्छन्।’
उनले ओलीलाई धुलो चटाउने धम्की पनि दिएका छन्। ‘ केपी ओलीको अचानोमा हाम्रो घाँटी पर्न सक्छ, तर ओलीलाई धुलो चटाउँछौ उनले भने,‘तर हामीले उनलाई हटाउन खोजेका छैनौँ, पार्टी निर्माण गर्ने अभियानमा छौँ।’
उनले कम्युनिस्ट बचाउने अन्तरसंर्घषमा रहेको सुनाउँदै ओलीको गुलियो शब्दजालमा नफस्न नेता कार्यकर्तालाई सुझाए। ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई हटाउन नसक्ने भन्दै कारबाही भए अन्तिम समयसम्म लड्ने नेपालले बताए।
वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जुट्न कार्यकर्तालाई आव्हान समेत गरे। ओलीलाई झुटो बोल्ने नेताको संज्ञा दिँदै राष्ट्रिय कार्यकर्ता भेलामा नेता नेपालले झुटो बोल्नेलाई जित्न दिन नहुने बताए।
प्रधानमन्त्री एवं अध्यक्ष ओलीले कार्यकर्तालाई भ्रममा पार्ने र आपसमा लडाउन भिडाउन लागेका भन्दै त्यस विरुद्ध मानसिक रूपमा तयार रहनु पर्ने नेपालको भनाई छ। ‘बालुवाटारको संसदीय दलको बैठकमा जाने नजाने द्विविधा भयो,’ नेता नेपालले भने,‘नजाऊँ किन आएन भन्छन्, जाऊँ भित्तामा ठोकिन्छ।’
उनले केपी प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए। यसका लागि जनवर्गिय सङ्गठनलाई जनतामा पुर्याउनु पर्ने नेपालको भनाई छ।
उनले आफूहरू कोहीसँग नडराउने बेग्लै धातुले बनेका कम्युनिस्ट भएको बताउँदै ओलीसँग नडराउने बताए। ‘ओलीलाई हाम्रो कमजोरीले जितायौ,’ उनले भने,‘बमदेवले त भन्नुभयो, कस्तो मान्छेलाई जिताइएछ।’
उनले आफू कहिल्यै मन फुकाएर बालुवाटार नगएको बताए। उनले बिहान बेलुकै लुरुलुरु बालुवाटार जान्न भनेर पुष्पकमल दाहाललाई भनेको सुनाए।
खनाल-नेपालको राष्ट्रिय कार्यकर्ता भेलाले फागुन २८ गते अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा गरेका निर्णय फिर्ता लिनु पर्ने माग गरेको छ।
चैत ५, २०७७ बिहीबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।