सहुलियत कर्जामा आकर्षण : व्यावसायिक कृषि र महिला उद्यमशीलताका लागि ६५ हजारले लिए ऋण 

सहुलियत कर्जामा आकर्षण : व्यावसायिक कृषि र महिला उद्यमशीलताका लागि ६५ हजारले लिए ऋण 

काठमाडौँ : सहुलियतपूर्ण कर्जामा युवाहरूको आकर्षण बढ्दै गएको छ। पछिल्लो समय बैङ्कहरूबाट भएको कर्जा प्रवाहको अवस्था उत्साहजनक देखिन्छ। 

देशमै उद्यमशीलता विकास गरी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने उद्देश्यले २०७५ सालदेखि सुरु गरिएको सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत फागुनसम्ममा ६८ हजार २ सय ६ युवा लाभान्वित भएका छन्। २०७७ फागुनसम्म विभिन्न बैङ्कहरूले १ खर्ब १२ अर्ब २ करोड ८४ लाख सहुलियतपूर्ण कर्जा प्रवाह गरिसकेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ।

आर्थिक वर्ष २०७५-०७६ र २०७६-०७७ मा भने सहुलियतपूर्ण कर्जा प्रवाहको अवस्था दयनीय थियो। उल्लेख्य सङ्ख्यामा कर्जा प्रवाह हुन नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेटमै कडाइ गरेको हो। वाणिज्य बैङ्कका प्रत्येक शाखाले १० तथा विकास बैङ्कका प्रत्येक शाखाले ५ वटा सहुलियत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था बजेटमा गरिएको छ। 

आगामी असारसम्म सबै बैङ्क तथा वित्तीय संस्थाले तोकिएको सङ्ख्या पुरा गर्नुपर्नेछ। यो व्यवस्थापछि भने कर्जा प्रवाह प्रभावकारी बन्दै गएको राष्ट्र बैङ्कले जनाएको छ।

कर्जा प्रवाहको अवस्था निकै सकारात्मक रहेको राष्ट्र बैङ्कका सह–प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेल बताउँछन्। 

‘हामीले मौद्रिक नीति मार्फत नै प्रस्टसँग क वर्ग तथा ख वर्गका बैङ्कले कति सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भनेर नम्बर नै तोक्यौँ त्यसले गर्दा कर्जा प्रवाह सहज हुँदै गएको छ। त्यस्तो समस्या केही छैन,’ उनले भने। बरु कर्जाका लागि आवेदन दिने युवाहरू विश्वासिलो योजनासहित प्रस्तुत नहुँदा समस्या देखिएको उनको भनाई छ। बैङ्कहरूबाट सहुलियतपूर्ण कर्जा प्राप्त गर्नका लागि स्पष्ट र विश्वासिलो ‘प्रोजेक्ट प्लान’ पेस गर्नुपर्ने सूचना अधिकारी पोखरेल बताउँछन्।

कुन शीर्षकमा कति ऋण पाइन्छ ?

सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत विभिन्न १० किसिमका कर्जा पाइन्छ। सहुलियत कर्जाका लागि ब्याज अनुदान एकीकृत कार्यविधि २०७५ (तेस्रो संशोधन) मा व्यवस्था भएअनुसार व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म पाइन्छ। 

शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म पाइन्छ। विदेशबाट फर्किएका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म पाउने व्यवस्था छ । महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म पाइन्छ। 

त्यस्तै दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म पाइन्छ। उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म पाइने व्यवस्था छ। 

भूकम्प पीडितहरूको निजी आवास कर्जा ३ लाख रुपैयाँसम्म पाइन्छ। कपडा उद्योग सञ्चालनका लागि ५ करोड रुपैयाँसम्म पाइन्छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिका लागि २ लाखसम्म कर्जा दिने व्यवस्था छ। युवा वर्ग स्वरोजगार कर्जा ५ लाख रुपैयाँसम्म दिने व्यवस्था कार्यविधिमा छ। 

३ महिनामा १२ अर्ब कर्जा प्रवाह 

२०७५ देखि २०७७ मङ्सिर सम्म ६० हजार ८ सय ७९ जनालाई १ खर्ब ३६ करोड ५१ लाख सहुलियतपूर्ण कर्जा प्रवाह भएको थियो। त्यसयता फागुनसम्म ३ महिनाको अवधिमा ११२ अर्ब २ करोड ८४ लाख सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। 

३ महिनाको अवधिमा करिब १२ अर्ब कर्जा प्रवाह भएको छ। ३ महिनाको अवधिमा कर्जा प्रवाहको अवस्था हेर्दा उत्साहजनक देखिएको राष्ट्र बैङ्कले जनाएको छ। 

व्यावसायिक कृषि र पशुपन्छी पालनमा सबैभन्दा बढी कर्जा

विभिन्न शीर्षकका कर्जा मध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षक अन्तर्गत सबैभन्दा बढीले कर्जा लिएका छन्। फागुनसम्म यो कर्जा योजना अन्तर्गत ३५ हजार ८ सय १३ जना लाभान्वित भएका छन्। 

यो शीर्षकअन्तर्गत विभिन्न बैङ्कहरूमार्फत ८२ अर्ब १८ करोड ४१ लख कर्जा प्रवाह भएको छ। व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्दा १० लाख रुपैयाँसम्म एकाघर परिवारका सदस्यको व्यक्तिगत जमानीका आधारमा र त्यसभन्दा बढी व्यावसायिक परियोजना धितोमा कर्जा प्रवाह गर्न सक्नेछन्। यस्तो कर्जा प्रवाह गर्दा परियोजनाको सम्भाव्यतालाई मुख्य आधारको रूपमा लिइन्छ।

महिला उद्यमशीलता कर्जा लिने पनि बढे

महिलाहरूमा उद्यमशीलता विकास गर्ने उद्देश्यले अघि सारिएको यो योजना अन्तर्गत १५ लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था गरिएको छ। यो कर्जा गत मङ्सिर सम्म २५ हजार २ सय ९८ जनाले ऋण लिएका थिए। महिला उद्यमशीलता कर्जा शीर्षकअन्तर्गत मङ्सिर सम्म २१ अर्ब ७८ करोड १८ लाख कर्जा प्रवाह भएको थियो। 

फागुनसम्म भने ३० हजार ४ सय ६५ जनाले लिएका छन्। राष्ट्र बैंकका अनुसार फागुनसम्म २७ अर्ब ५ करोड ९६ लाख कर्जा प्रवाह भएको छ। यो शीर्षक अन्तर्गत ३ महिना अवधिमा करिब ६ अर्ब कर्जा प्रवाह भएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ। 

अन्य कुन–कुन शीर्षक अन्तर्गत कति कर्जा प्रवाह भयो ? 

शिक्षित युवा स्वरोजगार कर्जा शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण पाउने यो शीर्षक अन्तर्गत हालसम्म ११९ जना लाभान्वित भएका छन्। 

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार फागुनसम्म ५ करोड ४९ लाख रुपैयाँ शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत प्रवाह भएको छ। विदेशमा आर्जन गरेको सीप स्वदेशमा उपयोग गर्नका लागि सरकारले विदेशबाट फर्किएका युवा परियोजना कर्जा ल्याएको छ। 

विदेशबाट फर्किएका युवा परियोजना कर्जा अन्तर्गत १० लाखसम्म ऋण प्रवाह गर्ने व्यवस्था छ। यो कर्जा फागुनसम्म ५९६ जनाले प्राप्त गरेका छन्। विदेशबाट फर्किएका ठुलो सङ्ख्यामा युवाहरू यो कर्जाप्रति आकर्षित भए पनि थोरै सङ्ख्यामा मात्रै कर्जा प्रवाह भएको देखिन्छ। यो शीर्षकअन्तर्गत ४४ करोड ९१ लाख रुपैयाँ लगानी भएको राष्ट्र बैङ्कले जनाएको छ।

दलित समुदायको परम्परागत पेसालाई व्यावसायिक बनाउने उद्देश्यले अघि सारिएको दलित समुदाय व्यवसाय विकास कर्जा लिनेको सङ्ख्या ६ सय ८३ पुगेको छ। यो शीर्षक अन्तर्गत ४० करोड ६९ लाख कर्जा प्रवाह भएको छ। 

उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा फागुनसम्म ८८ जनाले लिएका छन्। यसमा ३ करोड ३३ लाख रुपैयाँ यो शीर्षकअन्तर्गत कर्जा प्रवाह भएको छ। 

भूकम्प पीडितहरूले निजी आवास निमार्णका लागि भूकम्प पीडित आवास कर्जा प्रवाह गरिँदै आएको छ। यस्तो कर्जा फागुनसम्म २ सय ३८ जनाले लिएका छन्। ५ करोड ५८ लाख रुपैयाँ भूकम्प पीडितका लागि आवास कर्जा अन्तर्गत लगानी भइसकेको राष्ट्र बैङ्कले जनाएको छ।

कपडा उद्योग सञ्चालनका लागि कर्जा अन्तर्गत २०३ जना लाभान्वित भएका छन् । विभिन्न बैङ्कहरूले १ अर्ब ७८ करोड ४४ लाख कपडा उद्योग सञ्चालनका लागि ऋण प्रवाह गरेका छन्। प्राविधिक शिक्षा तथा व्यवसायी तालिम शीर्षक अन्तर्गत २ लाख कर्जा पाउने व्यवस्था छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट तालिम लिन यो कर्जा उपलब्ध गराइन्छ । यो कर्जा १ जनाले मात्रै प्राप्त गरेका छन्। १ जनालाई २ लाख ऋण प्रवाह गरिएको छ। 

युवा वर्ग स्वरोजगार कर्जा ५ लाखसम्म पाउने व्यवस्था छ । तर हालसम्म यो कर्जा एक जनाले पनि लिएको देखिँदैन। युवाहरूका लागि अन्य शीर्षकअन्तर्गतका कर्जा नै प्रभावकारी भएकाले युवा वर्ग स्वरोजगार कर्जा लिनेको सङ्ख्या शून्य देखिएको राष्ट्र बैङ्कका सह प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेल बताउँछन्। 

‘सबैभन्दा बढी कर्जा कृषिमै प्रवाह भएको छ। अरू शीर्षक अन्तर्गतका कर्जाहरू नै युवाहरूका लागि आकर्षित भएका कारण युवा स्वरोजगार कर्जा प्रवाह भएको देखिँदैन,’ उनले भने। 

व्यवसायी कृषि अन्य शीर्षकमा धेरै रकम पाइने हुँदा पनि युवा स्वरोजगार शीर्षकमा आकर्षण नदेखिएको हुन सक्ने अनुमान राष्ट्र बैङ्कको छ।

चैत ५, २०७७ बिहीबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।