खनाल-नेपाल भेलामा ओली सरकार विघटन गर्नुपर्ने सुझाव
काठमाडौँ : नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल समूहको कार्यकर्ता भेलामा सहभागीले केपी ओली नेतृत्वको सरकार विघटन गर्नुपर्ने सुझाव दिएका छन्।
‘एकीकृत कम्युनिस्ट आन्दोलनको प्रमुख बाधक ओलीको सरकार भएकाले यसको विघटन अनिवार्य छ,’ लुम्बिनी प्रदेशको तर्फबाट दिइएको सुझावमा भनिएको छ, ‘यसका लागि आवश्यक पहल गर्नुपर्छ र वामपन्थी कै नेतृत्वमा सरकार निर्माणमा लागि पहल गर्नुपर्छ।’
लुम्बिनी प्रदेशले खनाल-नेपाल पक्ष अध्यक्ष भएको कमिटीमा स्थापित हुने र ओली अध्यक्ष भएको कमिटीमा अर्को कमिटी बनाएर जाने सुझाव दिएको छ। उसले यसलाई समानान्तर कमिटी नभन्ने सुझाव भेलामा प्रस्तुत गरेको छ।
पार्टीमा देखिएको विभाजन र विखण्डन ओलीकै कारणले हो भन्ने कुराको फेहरिस्त तयार गरेर कार्यकर्ताका बिचमा पुर्याउनु पर्ने सुझाव पनि लुम्बिनी प्रदेश कमिटीले दिएको छ।
उसले एमाले र जबज निर्माणमा खनाल-नेपाल पक्षका नेताहरूको भूमिका नै प्रमुख थियो भन्ने सच्चाई कार्यकर्ता बिच स्थापित गर्ने र नाम समेत उल्लेख गरी प्रकाशन गर्न सुझाव दिएको छ।
लुम्बिनी प्रदेशले जबजमाथि ओली पक्षबाट आक्रमण र गलत अभ्यास भएको विषयमा कार्यकर्ता पङ्क्तिमा जानकारी गराउन भनेको छ।
चैत ५, २०७७ बिहीबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।